
सुमधुर स्वरमा हाम्रो कानसम्म आइपुग्ने गीतमा धेरैको मिहिनेत रहेको हुन्छ । गीतकार, संगीतकार, संगीत संयोजक, मिक्सिङ/माष्टरिङलगायत धेरैको मिहिनेतबाट एउटा राम्रो गीत तयार हुन्छ । एउटा राम्रो गीतका लागि गायक जति महत्वपूर्ण रहन्छ यसको पर्दापछाडि रहेका व्यक्तित्वहरूको पनि उत्तिकै महत्व रहेको हुन्छ । गीतकारले गीत लेख्छ, संगीतकारले लय बनाउँछ र त्यो लयलाई पूर्णरूपमा मूर्त रूप दिएर गाउन योग्य ट्र्याक बनाउने अभिभारा संगीत संयोजक अर्थात् एरेञ्जरको हुन्छ । हामीले संगीतलाई एउटा घरको नक्सा बनाउने इञ्जिनियर मान्यौँ भने एरेञ्जरलाई कालीगढ मान्न सक्छौँ । संगीतकारले बनाएको नक्साभित्र बसेर त्यसलाई पूर्ण संरचना बनाउने काम एरेञ्जरले गर्छ । यस्तै लामो समयदेखि एरेञ्ज क्षेत्रमा रहेर उत्कृष्ट सिर्जना पस्किरहेको नाम हो रिदम कँडेल । तीन दशकभन्दा अगाडि चितवनको भरतपुर-७ मा बुबा भानुभक्त र आमा राधा कँडेलको जेष्ठ सुपुत्रका रूपमा जन्मिनुभएका रिदम सानैदेखि गीतसंगीत भनेपछि हुरुक्कै हुनुहुन्थ्यो । हाईस्कुलसम्मको अध्ययन सिद्धार्थ वनस्थली, काठमाडौंमा गर्नुभएका रिदमले विद्यालयका रचनात्मक कार्यक्रममा समेत भाग लिनुहुन्थ्यो । कक्षा नौमा पढ्दै गर्दा संगीत गुरु तिलकसिंह पेलासँग संगीतको औपचारिक कक्षा थालनी गर्नुभएका कँडेलले एसएलसीपश्चात् संगीत विषयमै ललितकला क्याम्पसबाट प्रवीणता प्रमाण तह पास गर्नुभयो । विसं २०६४ सालमा रेडियो नेपालले आयोजना गरेको ‘राष्ट्रव्यापी आधुनिक गीत प्रतियोगिता’मा गायकका रूपमा भाग लिनुभएका कँडेलले २०६४ मै ‘राग प्रतियोगिता’मा भाग लिएर तृतीय स्थान हात पार्नुभएको थियो । सन् २००९ मा भारतीय राजदूतावासबाट ‘इण्डियन काउन्सिल फर कल्चरल रिलेशन (आइसिसिआर)’ बाट संगीतमा ब्याचलर डिग्रीका लागि स्कलरसिप प्राप्त गर्नुभएका रिदम सो विषय पढ्न कलकत्ताको ‘रविन्द्र भारती विश्वविद्यालय पुग्नुभयो र त्यहीँबाट स्नातकोत्तर पनि पास गर्नुभयो । गायकका रूपमा पनि आफूलाई अघि बढाइरहनुभएका रिदम एरेञ्जमै रमाइरहनुभएको छ । २५० भन्दा बढी गीतमा एरेञ्ज गर्नुभएका उहाँका ‘के लत बस्यो मलाई’, ‘तिम्रो घरको वरिपरि’, ‘काँडा हो माया’, ‘पिडा भए नि’, ‘यस्तो माया दिन सकुँ तिमीलाई’, ‘तिमी रूँदा’ लगायत थुप्रै गीत लोकप्रिय छन् । सैद्धान्तिक रूपमा जे भनिए तापनि आफ्ना लागि संगीत दिलको झंकार बताउनुहुने रिदम कँडेलसँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको संवादको संक्षिप्त अंशः-
यहाँको संगीततर्फको लगाव कसरी हुन गयो ?
म सानो छँदा संयुक्त परिवारमा बस्थेँ, जुन परिवारमा हजुरबुबा, हजुरआमा, ठूलोबुबा, सानोबुबा, फुपूहरू हुनुहुन्थ्यो । बुबा, ठूलोबुबा र काका सबैजना गीतसंगीतमा रम्न चाहनुहुन्थ्यो । ठूलोबुबा र काकाले गाउनका लागि प्रोत्साहन दिनुहुन्थ्यो र बुबाले हार्मोनियम, गितारजस्ता सामग्रीहरू किन्ने व्यवस्था मिलाइदिनुहुन्थ्यो । हामी हजुरबुबालाई ‘बा’ भनेर सम्बोधन गथ्र्यौं । ‘बा’ पनि रमाइलो पाराको हुनुहुन्थ्यो । उहाँले भजन गाउने ठाउँमा मलाई पनि लिएर जानुहुन्थ्यो । साँच्चै भन्दा पारिवारिक माहोलले नै मलाई संगीततर्फ आकर्षित गर्यो ।
खासमा यहाँ यो क्षेत्रमा गायक बन्ने सोचका साथ आउनुभएको थियो होइन ?
ममात्र हैन हरेक संगीतकर्मीहरू पहिला गायक बन्ने अभिलाषा राखेर नै यो क्षेत्रमा आएका हुन्छन् । त्यसको अपवाद म कसरी हुन सक्थेँ र ? गायक बन्ने धूनमा आफ्नै संगीतमा केही गीत पनि गाएँ । अहिले पनि वर्षमा तीन/चारवटा गीत गाउने गरेको छु ।
सुरुमा गायकका रूपमा पनि आफूलाई अघि बढाउनुभएका रिदम कँडेल यतिबेला एरेञ्जमा रमाइरहनुभएको छ । २५० भन्दा बढी गीतमा एरेञ्ज गर्नुभएका उहाँका ‘के लत बस्यो मलाई’, ‘तिम्रो घरको वरिपरि’, ‘काँडा हो माया’, ‘पिडा भए नि’, ‘यस्तो माया दिन सकुँ तिमीलाई’, ‘तिमी रूँदा’लगायत थुप्रै गीत लोकप्रिय छन् । उहाँले केही चलचित्रका गीतमा पनि एरेञ्ज, संगीत र स्वर दिनुभएको छ । सन् २००९ मा भारतीय राजदूतावासबाट ‘इण्डियन काउन्सिल फर कल्चरल रिलेशन (आइसिसिआर)’ बाट संगीतमा ब्याचलर डिग्रीका लागि स्कलरसिप प्राप्त गर्नुभएका रिदम सो विषय पढ्न कलकत्ताको ‘रविन्द्र भारती विश्वविद्यालय पुग्नुभयो र त्यहीँबाट स्नातकोत्तर पनि पास गर्नुभएको छ ।
यहाँको सांगीतिक व्यावसायिक यात्रा कहिलेबाट सुरु भयो ?
फाट्टफुट्टरूपमा आफैंले कम्पोज गरेका गीतमा एरेञ्ज गरेको भए तापनि सन् २०१७ सालमा रवि अधिकारीको शब्द, टंक बुढाथोकीको संगीत र शिव परियारको स्वरमा रहेको ‘आँशुको अर्थ’ बोलको गीतमा एरेञ्ज गरेपछि मेरो व्यावसायिक यात्रा सुरु भएको हो । यो गीत बजारमा आइसकेपछि नेपाली संगीत बजारमा मेरो खोजी हुन थाल्यो र दिनानुदिन व्यस्तता बढ्न थाल्यो ।
एरेञ्जतर्फ कसरी आकर्षित हुनुभयो ?
मैले स्नातकोत्तर पढ्दा नै एरेञ्ज सिकेको थिएँ । आफ्नै गीत बोकेर विभिन्न एरेञ्जरकोमा जाँदा उहाँहरूको कामले मेरो त्यति ध्यान खिच्न सकेन र आफैं गर्न थालेँ । त्यही बीचमा मैले ‘ब्रुक्ली कलेज अफ म्युजिक’, अमेरिकामा पनि अनलाइन कक्षा पढ्दै थिएँ त्यसपछि त झन् म्युजिक एरेञ्जतर्फ आकर्षित भएँ । परिस्थिति यस्तो बनिदियो कि मेरो एरेञ्ज सबैले मन पराउन थाले र माग बढ्न थाल्यो ।
अहिले तपाईं गायक कि एरेञ्जर ?
रहरले त म गायक नै हुँ तर पेशाले भने संगीत एरेञ्जर नै भन्नुपर्छ ।
छोटो समयमै यहाँले नेपाली सांगीतिक दुनियाँमा कुशल एरेञ्जरको चिनारी बनाउन सफल हुनुभएको छ, कस्तो लाग्छ फर्केर हेर्दा ?
सरसर्ती जोड्दा छोटो समय लाग्छ तर मैले अध्ययन गरेको समय जोड्ने हो भने त लामो समय हो नि हैन र ? स्नातक तह र स्नातकोत्तर तह अध्ययन गर्दा नै लगभग सात वर्ष त बित्यो नि । विगतलाई फर्केर हेर्दा मेरो विगत त्यति कहालीलाग्दो छैन । जुन विषय पढ्ने रहर थियो त्यो वातावरण परिवारबाट मिल्यो । अभावमा खासै गुज्रन परेन । साधनस्रोत परिवारले जुटाइदियो, प्रवल इच्छाशक्ति मसँग छँदै थियो । मेरो अध्ययनले नै मलाई एक किसिमको ‘वेल मेनपावर’ का रूपमा तयार गरिसकेको थियो, त्यहीँमाथि कामले निखारिने मौका दियो । एकै पटक फिल्डमा देख्नेहरूलाई यो त भर्खर आएर पनि स्थापित भइहाल्यो भन्ने लाग्नु स्वाभाविक हो ।
अहिलेसम्म कति जति गीतमा एरेञ्ज गर्नुभएको छ र केही गीतको बोल लिनुपर्दा ?
हालसम्म अन्दाजी २५० जति गीतमा एरेञ्ज गरेको छु । जस्तै ‘के लत बस्यो मलाई’, ‘तिम्रो घरको वरिपरि’, ‘काँडा हो माया’, ‘पिडा भए नि’, ‘यस्तो माया दिन सकुँ तिमीलाई’, ‘तिमी रूँदा’ लगायत थुप्रै छन् ।
अहिलेसम्म धेरै सहकार्य गरेका गीतकार, संगीतकार र गायकमध्ये नाम लिनुपर्दा ?
गीतकारमा मनिष वशिष्ट र नवराज पराजुली, गायकमा शिव परियार र संगीतकारमा भने दीपक शर्मा र अर्जुन पोख्रेल हुनुहुन्छ ।
अन्य को-को संगीतकारसँग सहकार्य गर्नुभएको छ ?
थुप्रै हुनुहुन्छ, जस्तै वरिष्ठ संगीत निर्देशक राजु सिंह, सुरेश अधिकारी, हरि लम्साल, सूर्य कश्यव, सुभास भुसाललगायत हुनुहुन्छ ।
आफूलाई के भन्न रुचाउनुहुन्छ एरेञ्जर, संगीतकार वा गायक ?
जेले मलाई प्रोफेसनल बनायो त्यही भन्नुपर्यो नि हैन र ? त्यो अर्थमा एरेञ्जर ।
कुनै त्यस्तो संगीतकारको नाम छ जोसँग काम गर्ने तीव्र इच्छा छ ?
करिब-करिब एक वर्ष अगाडि मैले ‘ब्रहृमकुमारीज नेपाल’ को एउटा सार्वजनिक कार्यक्रममा मेरो संगीत र स्वर रहेको गीति भिडियो सार्वजनिक गरिएको थियो । जुन कार्यक्रममा न्हृयु बज्राचार्य सरको संगीत र स्वर रहेको गीति भिडियो पनि सार्वजनिक गरिएको थियो । न्हृयु बज्राचार्यको गीतले मेरो मन अति छोयो । त्यतिबेला मलाई यस्तो लागेको थियो कि मेरो गीत सुनेपछि उहाँलाई पनि यो भाइले राम्रो गर्दोरहेछ भन्ने लागोस् र उहाँको नजरमा पर्न सकुँ ।
यहाँको एरेञ्ज रहेको गजल ‘के लत बस्यो’ अत्यधिक मन पराइयो, यो गजलको एरेञ्ज गर्दा श्रोताले यसरी मन पराउँछन् जस्तो लागेको थियो ?
हामी सबैजनाले आफ्नो तर्फबाट बेस्ट काम गरेका छौँ भन्ने त लागेको थियो तर यसरी हिट होला भन्ने चाहिँ लागेको थिएन ।
संगीत के हो अर्थात् यसलाई कसरी बुझ्ने ?
सैद्धान्तिक रूपमा जे भनिए तापनि मेरा लागि संगीत दिलको झंकार हो, मेरो अभिन्न साथी हो र साँच्चै भन्दा मेरो प्राण हो जुन बिना ‘म’ म रहन्न ।
रिदम कँडेल को हो ?
रिदम यस्तो साधक हो जसको नशा-नशामा संगीत बगेको हुन्छ र ऊ सुत्दा, उठ्दा, हिँड्दा हरेक पल-पलमा लयमा डुब्छ ।
नेपाली गीतसंगीतको वर्तमान अवस्था कस्तो पाउनुहुन्छ र विश्व गीतसंगीतमा हामी कहाँ छौँ जस्तो लाग्छ ?
नेपाली गीतसंगीतको वर्तमान अवस्थालाई अध्ययन गर्ने हो भने दिनानुदिन सुधारोन्मुख अवस्थामा छ । नयाँ-नयाँ सोचका साथ युवा गायक संगीतकारहरू उदाउने क्रम जारी छ । विश्वका धनी राष्ट्रले जुन प्रविधि प्रयोग गरेका छन् त्यो हामीले पनि प्रयोग गर्न पाएका छौँ । ‘भ्वाइस अफ नेपाल’, ‘नेपाल आइडल’ लगायत जस्ता रियालिटी शोहरूबाट लुकेका प्रतिभाहरू प्रस्फुटित भइरहेका छन् । विश्व बजारसँग तुलना गर्दा पनि हाम्रो भाषाको प्रभाव जहाँसम्म छ त्यहाँसम्म पुग्दा हामी अब्बल नै छौँ ।
‘अटो ट्युनर’को अत्यधिक प्रयोगलाई कसरी हेर्नुहुन्छ ?
अत्यधिक प्रयोग राम्रो हैन तर चाहिने जति मात्र प्रयोग गरियो भने यदाकदा कानमा बिझाउने सुरलाई सुधारेर मिठास भर्ने काम गर्दछ । अटो ट्युनले १९ छ भने २० बनाउने काम गर्छ न कि सयलाई सय नै ।
यहाँको आउँदै गरेको नयाँ सिर्जना कुन छ ?
एकजना नवीन प्राचीन नाम गर्नुभएका कविज्यूको ‘प्वाँख’ भन्ने कवितासंग्र्रह छ । सोही संग्र्रहका पाँचवटा कविता छानेर मेरै संगीत, संगीत संयोजन र स्वरमा ‘प्वाँख’ नै नाम राखेर गीति एल्बम बजारमा ल्याउँदै छु । साथसाथै प्रकाश सुवेदी दाइको शब्द र सुरेश अधिकारी दाइको संगीतमा रहेको गीत पनि एरेञ्ज गर्दै छु ।
यहाँले चलचित्रका गीतमा पनि काम गर्नुभएको छ नि, केहीको नाम लिनुपर्दा ?
चलचित्र ‘महापुरुष’को ‘बा तिमी फर्केर आऊ’ बोलको गीत मेरो संगीत, संगीत संयोजन र स्वर रहेको छ । यस्तै ‘म यस्तो गीत गाउँछु २’, ‘लभ स्टेसन’, ‘तिमीसँग’ लगायतका रहेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच