नेपाल पत्रकार महासंघको निर्वाचन हुने दिन नजिकिएसँगै सरगर्मी पनि बढिरहेको छ । आगामी मंसिर २८ गते महासंघको निर्वाचन हुनलागेको हो । यस निर्वाचनमा सत्ताको प्रतिछायाँ देखिने संकेतहरू देखापरिरहेका छन् । सत्ता जसको छ त्यसमुनिका संघसंगठनमा त्यसको प्रभाव देखिने गरेको अवस्थालाई हाम्रो परम्परा नै हो भनेर मान्ने हो भने पनि केही हदमा त्यो स्वाभाविक होला तर समग्रमा त्यसो हुनुलाई स्वाभाविक मान्न सकिँदैन । सरकार जसको होस् र त्यहाँ जसजसको संलग्नता अथवा गठबन्धन भएको होस् त्यो फरक सन्दर्भ हो । पेशागत संघसंस्थामा भने त्यसो हुनुलाई स्वाभाविक मान्न मिल्दैन । हामीले यसलाई स्वाभाविक होइन भन्दै गर्दा पनि सामुमा आइरहेको पत्रकार महासंघको निर्वाचनमा त्यसै भइरहेको छ ।
सत्ताको छायाँ यसमा प्रतिबिम्बित भइरहेको अवस्था छ । सरकारमा जसजसको गठबन्धन छ हालको पत्रकार महासंघको निर्वाचनमा पनि सोही आधारमा ‘एलायन्स’ भएको छ । सत्तामा रहेका नेपाली कांग्रेस र एमालेहरूको एउटा ‘एलाइन्स’ तयार भएको छ भने सत्ताइतर अथवा प्रतिपक्षमा रहेका राजनीतिक पार्टीहरूबीच अर्को प्रकारले ‘एलायन्स’ तयार भएको छ । पत्रकार महासंघ पत्रकारहरूको स्वतन्त्र संघ हो । यसमा को सत्ताइतरको र को सत्ताभित्रको भन्ने देखिनु हुँदैनथ्यो । हुँदैनथ्यो भन्दाभन्दै पनि देखिएको चाहिँ त्यही छ । सुरुसुरुमा यस्ता पेशागत संस्थाहरूमा उच्चस्तरीय विज्ञता भएका, राष्ट्रिय अन्तर्राष्ट्रिय जगतमा चिनिएका र पत्याइएका व्यक्ति रहनुभएको थियो ।
सांसद, मन्त्री तथा अन्य उच्च पद चलाउने सक्ने हैसियत भएका व्यक्ति रहेर पत्रकार महासंघ चलाएको इतिहास र यसको सुरुका दिनहरूमा यस संघमा बस्नुभएका व्यक्तिहरू पछि सांसद र मन्त्री बन्नुभएको पनि छ । हालका उम्मेदवारहरू असक्षम छन् भन्ने आसय होइन तर संघको सुरुको सक्षमता देखाउन खोजिएको हो र जसले विजय हासिल गरे पनि त्यस बेलाको स्तरलाई कायम राख्न सक्नुपर्छ भन्न खोजिएको हो । पत्रकारिता जगतलाई राष्ट्रको चौथो अंग मान्ने गरिएको छ । यो मान्यता पत्रकारहरूकै कारणले स्थापित बन्न सकेको हो । पत्रकारहरूले देखाएको साहस हिम्मत र समर्पणले गर्दा सम्भव भएको हो ।
नेपालमा मात्र होइन विश्वस्तरमा हेर्ने हो भने संसार प्रसिद्ध पत्रकारहरू पनि छन् र तिनले सरकारी स्तरबाट भएका अनेकौं घोटाला सार्वजनिक गर्दै त्यसको पर्दाफास गरिदिएका छन् । बीबीसीलगायत धेरै समाचार संस्थाहरू यस्तै कारणले संसार प्रसिद्ध छन् । यस्ता संस्थामा संलग्न भएर काम गर्ने पत्रकारहरूको ख्याति पनि संसारव्यापी बन्ने गरेको छ । अमेरिकाका राष्ट्रपति रोनाल्ड रेगनका पालाको वाटरगेट काण्डको पर्दाफास पनि पत्रकारहरूबाटै भएको थियो । नेपालमा प्रतिनिधिसभाका तत्कालीन सभामुख कृष्णबहादुर महराको कुनै महिलासँगका अनौतिक सम्बन्ध र उहाँको मदिरासँग जोडिएको सन्दर्भको उजागर गरिदिने तथा मओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अडियो भिज्युअल प्रकरण जस्ता चाुनौतीपूर्ण काण्डहरू पत्रकारहरूकै साहस र खोजका कारण सार्वजनिक भएका थिए ।
यस्ता अनेकौं सन्दर्भ होलान् । सानातिना सबै सन्दर्भ संस्मरण हुन नसक्लान्, त्यसो गर्नु सम्भव र उपयुक्त पनि नहोला तर तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाको सेक्युरिटी प्रेस सन्दर्भको सत्तरी करोडको अडियो सार्वजनिक गर्ने काम पनि कम्ती चुनौतीपूर्ण थिएन तर कसैले न कसैले त्यस्तो चुनौतीको सामना त गर्नै पथ्र्यो र उक्त कार्य भयो पनि । यी दृष्टान्तहरू पत्रकारिता गर्नेहरूले यस्ता चुनौतीको सामना गर्न सक्नुपर्छ भन्ने सन्दर्भमा अगाडि सारिएका हुन् । सबैमा त्यस्तो चुनौतीको सामाना गर्ने सामथ्र्य नहोला तर पत्रकारिता बारेको यथेष्ठ जानकारी, समर्पण, सामथ्र्य र नेतृत्व क्षमता नेतृत्व गर्छु भनेर अगाडि आउनुहुने व्यक्तिहरूमा हुर्नैपर्छ । पत्रकारहरूको यस्तै सामथ्र्यका कारण नै पत्रकारिता राष्ट्रको चौथो अंग भन्ने मान्यता विकास भएको हो ।
व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका राष्ट्रका तीनवटा अंग भन्ने परम्परागत मान्यतालाई चिर्दै पत्रकारिता चौथो अंग हो भन्ने मान्यतापछि मात्र विकास भएको हो । यस मान्यतालाई जीवन्त राख्न पत्रकारहरूको सांगठनिक नेतृत्व गर्ने संस्था वा व्यक्तिहरूले सक्नुपर्ने हुन्छ । नेपालका सन्दर्भमा पत्रकार जगतले राज्यप्रणाली परिवर्तनका लागि खेलेका अनेकौं भूमिकाले पुष्टि गर्दै आएका छन् । जहिले जहिले प्रणाली परिवर्तनका आन्दोलन भए ती–तीमा पत्रकार जगत पहिलो पंक्तिमा उभिन पुगेको छ । राजा ज्ञानेन्द्रले दलहरूलाई पन्साएर शासन हातमा लिएर अगाडि बढेपछि पत्रकार जगतले एकोहोरो रूपमा त्यसको विरोध गरिरहेको र सात दलहरू पनि आ-आफ्नो ढंगले त्यसको विरोध गरिरहेको अवस्थामा निरंकुशताका पक्षधर पछाडि हटेका थिए । अन्त्यमा आफ्नो अभियानमा असफल भएपछि तत्काली मन्त्रिपरिषद्का उपाध्यक्षले पत्रकार जगतलाई ‘आठौं पार्टी’को संज्ञा दिएको सन्दर्भ संस्मरणीय छ ।
यी विभिन्न सन्दर्भबाट अब आउने पत्रकार महासंघको नेतृत्व सक्षम हुनुपर्छ भन्ने हो । योग्यले विजय हासिल गर्न सकोस् । अयोग्य विजयी भएर योग्य पराजित हुन पुग्यो भने त्यो अवस्था दुर्भाग्यपूर्ण हुनजान्छ । जित्ने तर पत्रकारहरूका हकहितमा केही गर्न नसक्ने अकर्मण्यताको अवस्था आउनु हुँदैन । ‘एलायन्स’ जसजसका बीचमा बनेको होस् त्यसले कुनै फरक पार्दैन तर विजयी बनेको पक्ष सधैं पेशागत हकहितमा लाग्न सकोस्, राष्ट्र, राष्ट्रियता र प्रजातन्त्रको संरक्षका लागि सदैव लागिरहोस् भन्ने सबैको चाहना हो । सधैंभरि सरकार र सरकारका मन्त्री तथा सांसदहरूका पछि लाग्ने प्रवृत्तिबाट पत्रकारहरू चार कोश पर हुनसक्नुपर्छ । यस्ता केही पत्रकारहरूका कारणले बद्नाम हुँदै गएको पत्रकार जगत आगामी नेतृत्वबाट अझै बद्नाम बन्नुहुँदैन यसले सकारात्मक सन्देश दिन सक्नुपर्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच