काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा शनिबारदेखि युरोप भ्रमणमा हुनुहुन्छ । भ्रमणको क्रममा उहाँले बेल्जियम, लक्जेम्बर्ग, जर्मनी, युरोपियन युनियन लगायतका उच्च अधिकारीहरूसँग भेटवार्ता गरिरहनु भएको छ । उहाँले लक्जमबर्गका उपप्रधानमन्त्री, विदेश एवं वैदेशिक व्यापारमन्त्री जेभियर बेटेलसँग लक्जमबर्गमा भेटवार्ता गरिसक्नु भएको छ । बेटेल सन् २०१३ देखि २०२३ सम्म लक्जमबर्गको प्रधानमन्त्री पनि हुनुहुन्थ्यो । लक्जमबर्ग सिटीस्थित उहाँको कार्यकक्षमा भएको भेटवार्ताका क्रममा नेपाल लक्जमबर्ग सम्बन्धका विविध पक्षका साथै आपसी हित, साझा चासो र सहकार्यका बारेमा कुराकानी भएको थियो । त्यस अवसरमा उहाँहरूले नेपालको विकास प्राथमिकता तथा नेपाल र लक्जमबर्ग बीचको आर्थिक सहकार्यका बारेमा विचार आदानप्रदान गर्नुभएको थियो । साथै सो वार्ताका क्रममा विश्वव्यापी तापमानमा भइरहेको वृद्धि र यसका कारण परेको जलवायु परिवर्तनको असरका बारेमा पनि कुराकानी भएको थियो ।
नेपाल जलवायु परिवर्तनको असरको चपेटामा परेको र यसका कारण नेपालले अकल्पनीय क्षति व्यहोर्नु परिरहेकाले अन्तर्राष्ट्रिय समुदायसँग सहयोगका लागि अपिल गरिएको पनि मन्त्री देउवाले सो भेटका क्रममा जानकारी गराउनुभएको थियो । उहाँहरूले द्विपक्षीय हितका विभिन्न विषयमा विस्तृत छलफल गर्नुभएको थियो । त्यस अवसरमा मन्त्री देउवाले लक्जमबर्गलाई नेपालको विकास सहायतामा प्राथमिकतामा राख्न मन्त्री बेटेललाई अनुरोध पनि गर्नुभएको थियो ।
मन्त्री देउवाले नेपाल सन् २०२६ मा एलडिसीबाट ग्राजुएट हुन लागेकाले त्यसपछिको अवस्थामा नेपाललाई आर्थिक, प्राविधिकलगायत क्षेत्रमा आवश्यक सहयोगका लागि पनि मन्त्री बेटेललाई आग्रह गर्नुभयो । नेपाल अतिकम विकसित देशको श्रेणीबाट मध्यमस्तरको राष्ट्रका रूपमा स्तरोन्नति हुन लागेकाले यसलाई दीर्घकालीन र सहज बनाउने रणनीतिमा युरोपियन युनियनलगायत नेपालका दाता राष्ट्र एवं संस्थाहरूको सहयोगको अपेक्षा नेपालले गरिरहेको र त्यसमा लक्जमबर्गको पनि सहयोग र समर्थनको अपेक्षा गरिएको मन्त्री देउवाले बताउनुभएको थियो । भेटवार्ताका क्रममा मन्त्री देउवाले नेपाल आन्तरिक रूपमा शान्ति प्रक्रिया टुंग्याउने अन्तिम चरणमा पुगेको जानकारी पनि गराउनुभएको थियो । साथै उहाँले नेपालले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद् र मानव अधिकार आयोगको सदस्यमा उम्मेदवारी दिन लागेकाले त्यसका लागि सहयोग गर्न लक्जमबर्गलाई आग्रह गर्नुभएको थियो । नेपाल र लक्जमबर्गबीच सन् १९७५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।
अन्तर्राष्ट्रिय अदालत (आईसीजे) मा नेपालका प्रतिनिधित्व गर्न उहाँ युरोप भ्रमणमा जानुभएको हो । डिसेम्बर ९ मा उहाँले ‘जलवायु परिवर्तनसम्बन्धी राज्यहरूको दायित्व’सम्बन्धी सार्वजनिक सुनुवाइमा नेपालको धारणा प्रस्तुत गर्नुभएको थियो । यो सुनुवाइ डिसेम्बर २ देखि १२ सम्म हेग, नेदरल्याण्ड्समा भएको हो ।
आइसिजेको कार्यक्रमपछि मन्त्री राणा समान अधिकारसम्बन्धी एक कार्यक्रममा सहभागी हुन जर्मनी जाँदै हुनुहुन्छ । डिसेम्बर १७ देखि १८ सम्म बर्लिनमा आयोजित उक्त कार्यक्रममा सहभागी जर्मन विदेशमन्त्रीको निमन्त्रणामा उहाँ जर्मनी जान लाग्नुभएको हो । उहाँको टोलीमा कानुन मन्त्रालयका सचिव उदयराज सापकोटा र परराष्ट्र मन्त्रालयका अन्य अधिकारीहरू रहेका छन् । मन्त्री राणा डिसेम्बर २० (पुस ५ गते) स्वदेश फर्किनुहुने छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच