काठमाडौं । सहकारीको रकम अपचलन एवं ठगीको आरोपमा पक्राउ पर्नुभएका पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको बयान लिने क्रम सकिएको छ । विभिन्न पाँच जिल्लामा रविविरुद्ध सहकारी ठगी एवं रकम अपचलनको उजुरी दर्ता भएको थियो । नेपाल प्रहरीले कास्की, काठमाडौं, चितवन, रुपन्देही र पर्सामा विभिन्न चरणमा बयान लिएको हो । गत कात्तिक २ गते काठमाडौंको शेषमतीस्थित रास्वपा कार्यालयबाट पक्राउ परेका रविविरुद्ध अब मुद्दा दायर गर्ने तयारी छ ।
रविलाई पोखराको सूर्यदर्शन, रुपन्देहीको सुप्रिम, चितवनको साहरा, काठमाडौंको स्वर्णलक्ष्मी र पर्साको सानो पाइला सहकारीको रकम अपचलन गरेको आरोप छ । रविले बयानका क्रममा आफू विरुद्धका सबै आरोपहरू अस्वीकार गर्नुभएको छ । उहाँले सहकारी ठगी प्रकरणमा आफ्नो संलग्नता नरहेको, गोर्खा मिडिया नेटवर्कमा कार्यरत रहँदा प्रशासनिक जिम्मेवारी पूरा गर्ने बाहेकको कुनै काम वा योजनामा आफू नजोडिने दाबी गर्नुभएको छ । मंगलबार पर्सामा बयान सकिएसँगै रविलाई पुनः काठमाडौं हुँदै पोखरा लगिएको छ । प्रहरीले रविविरुद्ध पाँचवटै जिल्ला अदालतमा एकैसाथ मुद्दा दर्ता गर्ने तयारी गरेको छ । रविसँगै पूर्व डिआइजी छविलाल जोशीसमेत प्रहरी हिरासतमा हुनुहुन्छ । छवि गत असोज ६ गते नै पक्राउ पर्नुभएको थियो ।
रवि र छविसहित फरार रहेका जीबी राईसमेतलाई प्रतिवादी बनाएर संगठित अपराध समेतको मुद्दा दर्ता गर्ने तयारी सरकारी पक्षले गरेको छ । संगठित अपराधका लागि मुद्दा चलाउन पहिलो अभियुक्त पक्राउ परेको मितिले ९० दिनको हदम्याद रहेको हुन्छ । छवि पक्राउको ८० दिन पूरा भइसकेकाले प्रहरीले अब १० दिनभित्रै संगठित अपराधको मुद्दा अगाडि बढाउने जनाइएको छ । प्रहरीले सहकारी ठगी, रकम अपचलन, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुरमा केन्द्रित रहेको अनुसन्धान भएको र मुद्दा पनि सोहीअनुसार अगाडि बढ्ने जनाएको छ ।
कास्की जिल्ला अदालतले थुनामा राख्न छैटौपटक दिएको म्याद पुनः थप गर्ने प्रहरीको तयारी छ । अब थप हुने म्यादभित्रै मुद्दा पेश गर्ने प्रहरी र सरकारी वकील कार्यालयको तयारी छ । मुद्दा दर्ता भएपछि थुनछेक बहसबाट मात्रै रविको थुनाबारे निर्णय हुनेछ । अदालतले साधारण तारेख वा धरौटीमा छाड्न आदेश दिएमा मात्रै रवि थुनामुक्त हुनुहुने छ । अन्यथा उहाँले थुनामै रहेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने छ ।
सहकारी ठगीको छानविन गर्न गठित संसदीय विशेष छानविन समितिले सूर्यदर्शन, साहरा, सुप्रिम, सानो पाइला र स्वर्णलक्ष्मी सहकारीको रकम अवैध ढंगबाट गोर्खा मिडियामा लगानी भएको र सो रकम खर्च गर्न गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशकको हैसियतमा रवि लामिछानेको संलग्नता रहेकाले अनुसन्धान गर्न सरकारलाई निर्देशन दिएको थियो । सो समितिले जिबी राईसँगै रवि र छविलाई सहकारी रकम निकाल्ने र उपयोग गर्ने आरोप लगाएको थियो । प्रहरीले सहकारीको ऋण आफूले नलिएको भनी इन्कारी बयान दिँदै आउनुभएका रविकै हस्ताक्षरबाट ऋण तिर्न काटिएका चेकहरू सहितको प्रमाण जुटाइसकेको छ । नेपाल प्रहरीको स्रोतका अनुसार रविलाई संगठित अपराधको कसुरमा समेत सजाय माग गर्दै मुद्दा दर्ता हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच