काठमाडौं । नेकपा माओवादी केन्द्रले मंसिर १६ गते सम्पन्न स्थानीय तहको उपनिर्वाचनको नतिजाले दुईदलीय वकालतको खण्डन गरेको निष्कर्ष निकालेको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको स्थायी कमिटी बैठकले सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेको दुईदलीय चिन्तनलाई उपनिर्वाचनले खारेज गरेको निष्कर्ष निकालेको हो । माओवादी केन्द्रका उपाध्यक्षसमेत रहनुभएका प्रवक्ता अग्निप्रसाद सापकोटाले भन्नुभयो, ‘अहिलेको (उपनिर्वाचन) नतिजा दुईदलीय व्यवस्थातिर जुन सोचिरहेका थिए, त्यसलाई खण्डित गरेको छ ।’ उपनिर्वाचनबाट सिट बढ्नुलाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले गरेका कामहरूको अनुमोदन भएको पनि निष्कर्ष निकालेको जानकारी दिँदै प्रवक्ता सापकोटाले भन्नुभयो, ‘सरकारलाई अन्य कुरामा पनि दबाब सिर्जना गरेको छ । चुनौती खडा गरेको छ । सरकारले भ्रष्टाचार विरोधीहरूलाई संरक्षण गर्ने, बिचौलिया र दलालको पक्षमा नीति निर्माण गर्ने काम गरेको थियो । त्यसलाई रोक्न मद्धत गरेको छ ।’ उपनिर्वाचनको नतिजालाई पार्टीका नेता-कार्यकर्ता अब जनतासँगै फर्कनुपर्छ भन्ने सन्देशका रूपमा लिनुपर्ने निचोड निकाल्दै माओवादीले भनेको छ, ‘समीक्षाको सारमा अहिलेको मतले उत्साहपूर्ण नतिजा आएको छ, सबै नेता कार्यकर्ता र जनतासँगै फर्कनुपर्छ भनेका छन् ।’
संसद्का मुख्य दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले सम्मलित सरकारका काम कारबाही र सरकारले गरेको निर्णयप्रति असन्तुष्टि जनाउँदै माओवादी केन्द्रले भनेको छ, ‘सरकार अधोगतितिर धकेल्दै छ । सरकारले राम्रो काम गर्नबाट अवरोध सिर्जना गरेको छ । विद्युत् प्राधिकरणले आफूलाई नाफामा लगेको छ । त्यहाँ बिजुलीको महसुल नतिरेकालाई लाइन काट्न हुँदैन भनेर प्रधानमन्त्रीदेखि नै निर्देशन भएको छ । यो सर्वथा गलत छ । यसप्रति हाम्रो घोर आपत्ति छ ।’
केन्द्रीय समिति बैठक सर्यो
नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक पुस २१ गते बस्ने भएको छ । शुक्रबार बसेको पार्टीको स्थायी समिति बैठकले पुस २१ गते केन्द्रीय समिति बैठक बस्ने निर्णय गरेको जानकारी दिँदै प्रवक्ता सापकोटाले भन्नुभयो, ‘केन्द्रीय समितिको बैठक पुसको २१ गते बस्ने निर्णय भएको छ ।’ यसअघि २६ कात्तिकमा बसेको पदाधिकारी बैठकले पुस २ गतेका लागि केन्द्रीय समिति बैठक बोलाएको थियो । उक्त बैठकको तयारीका लागि पुस १८, १९ र २० गते लगातार तीन दिन स्थायी समिति बैठक बस्ने निर्णय भएको पनि सापकोटाले जानकारी दिनुभयो ।
खबरदारी सभा र पालिका सम्मेलन एकैसाथ गर्ने भनिए पनि त्यो हुन नसकेपछि तयारीसहित अब २१ गते केन्द्रीय समिति बैठक बस्ने जानकारी दिँदै प्रवक्ता सापकोटाले भन्नुभयो, ‘हामीले पहिले खबरदारी सभा र पालिका सम्मेलन एकैसाथ गर्ने भनेका थियौँ । त्यो विविध कारणले हुन सकेको छैन । अब राम्रो तयारीका साथ केन्द्रीय समितिको बैठक बस्दै छ ।’
प्रधानमन्त्री ओलीको चीन भ्रमण असफल
प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण सफल नभएको निष्कर्ष निकालेको छ । शुक्रबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले ओलीको चीन भ्रमणको क्रममा केही नयाँ सहमति नभएको निष्कर्ष निकालेको हो । बैठकमा समसामयिक विषयमा धारणा राख्दै पार्टी अध्यक्ष प्रचण्डले नेपाल र चीनबीच भएको १० बुँदे ‘बिआरआई फ्रेमवर्क’ सहमति आफ्नो नेतृत्वको सरकारले अगाडि बढाएको योजनामा ओलीले सहमति गरेको जिकिर गर्दै भन्नुभयो, ‘केपी ओलीजीको चीन भ्रमणमा भएको ‘बिआरआई फ्रेमवर्क’ सम्झौता नयाँ होइन । त्यो म प्रधानमन्त्री हुँदा आगाडि बढाएको योजना हो । यसमा कुनै तात्विक फरक छैन । उहाँको भ्रमण सफल देखिएन । यस्तै, प्रचण्डले ओली सरकार चौतर्फी अलोकप्रिय बन्दै गएको, देश र जनताको हितमा भन्दा पनि भ्रष्टाचारीलाई संरक्षण गर्न बनेको पुष्टि भएकाले सरकारविरुद्ध सशक्त रूपमा खबरदारी गर्न निर्देशन दिएको उपमहासचिव हरिबोल गजुरेलले जानकारी दिनुभयो । यसअघि २० गते बसेको पदाधिकारी बैठकमा प्रचण्डले बिआरआई सम्झौताबारे अध्ययन गरेर मात्रै जवाफ दिने बताउनुभएको थियो ।
नवप्रवेशीलाई उचित स्थान दिने निर्णय
नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नेलाई उचित स्थान दिने निर्णय गरेको छ । यसअघि माओवादीमा प्रवेश गर्ने नेता तथा कार्यकर्ताले जिम्मेवारी नपाएको निष्कर्ष निकाल्दै अब भने क्षमताका आधारमा उचित स्थान दिने निर्णय स्थायी समितिले गरेको छ । शुक्रबार बसेको स्थायी समितिले विभिन्न पार्टीबाट माओवादीमा प्रवेश गर्ने वातावरण बनाउनेसमेत निर्णय गरेको जानकारी दिँदै स्थायी समिति सदस्य कमला रोकाले भन्नुभयो, ‘माओवादी केन्द्रमा प्रवेश गरेका व्यक्तिलाई उचित जिम्मेवारी दिने निर्णय भएको छ । त्यसका लागि सम्बन्धित समितिले आवश्यक गृहकार्य गर्ने कुरा भएको छ । अध्यक्ष प्रचण्डले राजनीतिक दस्ताबेज लेख्न समय नपुगेको भनेपछि केन्द्रीय समिति पर सार्नुपरेको छ ।’
पार्टीका नेता कार्यकर्तामा एमालेको सामीप्य खोज्ने प्रवृत्ति बढ्यो : महासचिव भुसाल
नेकपा एकीकृत समाजवादी (नेकपा एस)का महासचिव घनश्याम भुसालले पार्टीभित्र हताश, अन्योल, पलायन र निष्क्रियता जस्ता प्रवृत्ति देखिएको टिप्पणी गर्नुभएको छ । महासचिव भुसालले स्थायी कमिटी बैठकमा प्रस्तुत गरेको प्रतिवेदनमा पार्टीका कतिपय नेता कार्यकर्तामा एमालेसँग नजिक हुन खोज्ने र कतिपयमा माओवादीसँग नजिकिने प्रवृत्ति बढेको उल्लेख छ । महासचिव भुसालको प्रतिवेदनमा भनिएको छ, ‘महाधिवेशनपछि पार्टी जसरी अगाडि बढ्नुपर्ने थियो त्यो हुन सकेन । त्यसका लागि विभिन्न कारणहरू जिम्मेवार छन् । तर, जेसुकै भए पनि त्यो कमजोरी नै हो । अहिले पार्टीमा अनेकौँ प्रकारका समस्या छन् । निराशा, हताश, अन्योल र निष्क्रियता जस्ता प्रवृत्तिहरू देखिएका छन् । जसले गर्दा कतिपयमा नेकपा एमालेसँग सामीप्यता खोज्ने, अरू कतिपयमा नेकपा माओवादीसँग नजिकिन खोज्ने र आमरूपमा अन्योलग्रस्त प्रवृत्तिहरू देखिएका छन् ।
पार्टी पंक्तिलाई एकताबद्ध नबनाउने हो भने पार्टीले गति लिन सक्दैन । यो तीतो वास्तविकतालाई बिना हिचकिचाहट स्वीकार गरौँ र अगाडि बढौँ ।’ महासचिव भुसालले अबको निर्वाचनमा कसैसँग गठबन्धन नगरी एक्लै चुनाव लड्नुपर्ने प्रस्तावसमेत पार्टीमा गर्नुभएको छ । उहाँले गठबन्धनबाट पार्टी नबन्ने र आन्दोलनबाटै पार्टी बनाउनुपर्ने पनि उल्लेख गर्नुभएको छ । महासचिव भुसालले पपुलिष्ट राजनीति मौलाउँदा लफंगाहरूले समाजमा अहिलेको व्यवस्थाविरुद्ध माहौल बनाइरहेको विश्लेषणसमेत गर्नुभएको छ । नौ पेजको प्रस्तावमा भुसालले आन्दोलनबाट पार्टी निर्माणलाई जोड दिनुभएको छ ।
कांग्रेस-एमाले सरकारले जे गरे पनि समस्या बढ्ने दाबी
महासचिव भुसालले नेपाली कांग्रेस र नेकपा एमाले बीचको अहिलेको संयुक्त सरकारले जे गरे पनि मुलुकका समस्याहरू समाधान नहुने जिकिर गर्नुभएको छ । पार्टी स्थायी कमिटीमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा महासचिव भुसालले उल्लेख गर्नुभएको छ, ‘अहिले एमाले र कांग्रेसको सरकार बनेको छ । ती पार्टी र खासगरी नेतृत्वका कारणले गर्दा यसले संकट दुश्चक्रलाई समाधान गर्न सक्दैन । संसदीय मूल्यका हिसाबले यिनीहरू दुई ठूला पार्टीहरू मिलेर बनेका छन्, विचारका हिसाबले समाजवादी र पुँजीवादी हुन्, राजनीतिक हिसाबले अदालतको परामादेशद्वारा सरकारमा पु¥याइएको र सरकारबाट निकालिएको पार्टी हुन्, प्रवृत्तिका हिसाबले सत्ताका लागि जेसुकै गर्न तयार नेताहरू हुन् । जसले गर्दा यिनीहरूबाट मुलुकका समस्याको समाधान हुने कुनै सम्भावना छैन । यिनका भूराजनीतिक लगावका कारण पनि त्यो गर्न सक्दैनन् ।’ कांग्रेस र एमालेले अगाडि सारेको संविधान संशोधनको मुद्दाले राजनीतिक अन्तरविरोधलाई अझ बढाउने निष्कर्ष निकाल्दै भुसालले आफ्नो प्रतिवेदनमा लेख्नुभएको छ, ‘अब यिनीहरूले जेसुकै गरे पनि समस्या बढ्दै जानेछ । सत्ताको विरोध अझ बढ्छ, सत्ता गठबन्धनले विरोधको जवाफ दमन र षड्यन्त्रबाट दिने प्रयत्न गर्छ । त्यसले पपुलिष्ट अराजकतालाई अझ बढाउने छ । अराजकता र दमन बढ्दै जानेछ र मुलुक अझै डरलाग्दो अराजकताको खाडलतर्फ जानसक्छ ।’
जसपा कार्यकारिणी समितिको बैठक आज पनि
जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यकारिणी समितिको पूर्ण बैठक जारी छ । केन्द्रीय कार्यालय बालकुमारी ललितपुरमा पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा मंसिर २८ र २९ गतेका लागि बोलाइएको बैठक आजसम्म चल्नेछ । हालै सम्पन्न स्थानीय तहको उपनिर्वाचनमा जसपा नेपालले प्राप्त गरेको चुनावी मत परिणाम र निर्वाचनमा पार्टी नेतृत्वको भूमिकाबारे बैठकमा समीक्षा हुँदै छ । यही मंसिर मसान्तमा पहिलो चरणको सम्पन्न हुनेगरी चार महिनाअघि सुरु भएको ‘जनतासँग जसपा नेपाल, संगठन विस्तार अभियान’ को विस्तृत समीक्षा र यस अभियानको प्रभावकारी निरन्तरता पनि बैठकको प्रमुख एजेण्डा रहेको छ । संगठन विस्तारको जारी अभियान जनस्तरमा अत्यन्तै प्रभावकारी देखिएको हुँदा यसलाई आगामी दिनमा थप व्यवस्थित ढंगले निरन्तरता दिनुपर्ने पार्टी नेतृत्वको प्रारम्भिक बुझाइ रहेको बताइएको छ । पार्टीको आगामी संगठनात्मक कार्यदिशा र पार्टीको निजी भवन निर्माणबारे पनि बैठकमा छलफल भइरहेको छ । स्थानीय उपनिर्वाचनमा कुल १२ स्थानमा उम्मेदवारी दिएको जसपा नेपालले मधेश प्रदेशमा दुईवटा वडा अध्यक्षमा विजयी भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच