
विराटनगर । उद्योग व्यवसायमा कार्यरत जनशक्तिको सुरक्षा पक्ष सुधार, सुरक्षित कार्यस्थल निर्माणमा सहयोगका साथै व्यवसायजन्य सुरक्षा र स्वास्थ्यका सन्दर्भमा दीर्घकालीन क्षमता अभिवृद्धि गर्ने उद्देश्यले उद्योग संगठन मोरङको आयोजनामा प्रदेशस्तरीय व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्मेलन भएको छ ।
इन्स्योर परियोजना, नेपाली युवा उद्यमी मञ्च विराटनगर, इटहरी र झापा च्याप्टरको सहकार्यमा आयोजित सम्मेलन उद्घाटन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्योग व्यवसाय क्षेत्रमा कार्यरत जनशक्तिको सुरक्षा र उत्पादकत्व अभिवृद्धिमा सम्मेलन कोशेढुंगा साबित हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले सम्मेलनमा प्रस्तुत हुने कार्यपत्र र अन्तरक्रियाबाट निस्कने निष्कर्षले प्रदेश सरकारलाई नीति निर्माण तहमा आगामी दिनमा सहयोग पुग्ने बताउनुभयो ।
उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षा हरेक क्षेत्रमा काम गर्ने जनशक्तिका लागि अत्यन्त महत्वपूर्ण पक्ष भएको भन्दै सम्मेलनमा प्रस्तुत गरिने कार्यपत्र, राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीका अनुभवले श्रमिकको हितमा भूमिका निर्वाह गर्ने धारणा बताउनुभयो । सम्मेलनमा प्रस्तुत हुने विचारले सुरक्षित कार्यस्थल निर्माणमा उद्योगहरूमा कार्यरत जनशक्तिको कार्यक्षमता दीर्घकालीनरूपमा सुनिश्चित गर्नुका साथै उद्योगको समग्र व्यवस्थापनमा सकारात्मक प्रभाव पार्ने उहाँको भनाइ थियो । नेपाली युवा उद्यमी मञ्च, सुनसरी च्याप्टरका अध्यक्ष सिद्धार्थ श्रेष्ठले कार्यस्थलमा काम गर्ने व्यक्तिहरूलाई सम्भावित जोखिमबाट जोगाउन र उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्य संरक्षण गर्ने सोचका साथ कार्यक्रम आयोजना गरिएको बताउनुभयो । व्यवसायजन्य सुरक्षा र स्वास्थ्यको सही व्यवस्थापनले श्रमिकको कल्याणमा योगदान पुर्याउनुका साथै कम्पनीको दीर्घकालीन सफलतासमेत सुनिश्चित गर्ने उहाँको भनाइ थियो ।
सम्मेलनमा व्यवसायजन्य सुरक्षा र स्वास्थ्यका सम्बन्धमा विशेषज्ञहरूद्वारा कार्यपत्र प्रस्तुतिका साथै राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीहरूले पालना गरेका उत्कृष्ट अभ्यास, प्रचलित ऐन, कानुनले स्थापना गरेका अनुपालनहरू, अन्तर्राष्ट्रिय मापदण्ड, गुणस्तरीय व्यवस्थापन प्रणालीबारेमा छलफल हुने संगठनले जनाएको छ । सम्मेलनमा सुनसरी मोरङ औद्योगिक करिडोरका विभिन्न उद्योग प्रतिष्ठानका सञ्चालक, व्यवस्थापक, मानव संसाधन प्रमुख, विकास साझेदार स्विस सरकार विकास सहयोग, जर्मन सहयोग, इन्स्योर हेल्भेटास, क्वालिटी एसोसिएसन अफ नेपाल, अकुपेसनल सेफ्टी एण्ड हेल्थ प्रोफेसनल नेपालका प्रतिनिधिहरूको सहभागिता रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच