
काठमाडौं । केशवप्रसाद चौलागाईंको नयाँ पुस्तक ‘स्वराज्य शंखघोष’ लोकार्पण गरिएको छ । काठमाडौंमा शनिबार एक विशेष कार्यक्रमबीच उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यतामा उक्त कृतिको लोकार्पण गरिएको हो । उद्योग वाणिज्य संघ काठमाडौंको चौथो साधारणसभा तथा राष्ट्रिय एकता दिवसको पूर्वसन्ध्यामा आयोजना गरिएको कार्यक्रममा लोकार्पित पुस्तकले राष्ट्रियता र आर्थिक समृद्धिलाई सफल बनाउन विचारमार्फत् सहयोग पुग्ने लोकार्पणका अवसरमा व्यक्त गरिएको थियो ।
स्वधर्म, संस्कृति तथा स्वतन्त्र विचारको माध्यमले मात्रै मुलुक समुन्नत हुन सक्ने कुरा पुस्तकमा सविस्तार विवेचना गरिएकाले व्यापार, वाणिज्य क्षेत्रका व्यक्तिहरूलाई पनि आकर्षित तथा प्रभावित पार्न सक्ने देखिन्छ । पैंतालिसवटा शीर्षकमा व्यक्त विचारले नेपालका सम्बन्धमा आर्थिक कूटनीतिक सवालदेखि नयाँ विश्व व्यवस्थासम्मका प्रसंग पुस्तकमा समेटिएका छन् । राष्ट्रियता, प्रजातन्त्र र समावेशी सिद्धान्तलाई समेटेको स्वराज्यको वैदिक परिभाषादेखि सफ्टपावरका रूपमा नेपाली वाणिज्य क्षेत्रले पुर्याउन सक्ने योगदानको विषयलाई पनि महत्व दिएको छ । द्विराष्ट्रिय चेम्बर अफ कमर्स र अनररी काउन्सिलरहरूको ऐक्यबद्धताले समानान्तर आर्थिक परराष्ट्र संयन्त्र बन्न गई निकासी र पैठारी व्यवसायमा ठूलो फड्को मार्न सकिने विचारले व्यवसायीहरूको मनोबल बढाउन पनि मद्दत पुगेको छ । धार्मिक पर्यटनदेखि द्वन्द्व व्यवस्थापनका क्षेत्रमा मुलुकका व्यवसायीहरूले पु¥याइरहेको योगदानलाई परिभाषित गर्दै विश्वसमक्ष प्रस्तुत गर्न सक्दा व्यवसायीहरूप्रति राज्यले गरिरहेको व्यवहारमा सकारात्मक परिवर्तन हुनेछ ।
अमेरिकी मिलिनियम च्यालेन्ज कम्प्याक्ट तथा चिनियाँ बेल्ट एण्ड रोड इनिसियटिभद्वारा सञ्चालनमा आएका आर्थिक परियोजनाले द्वन्द्वको स्थिति ल्याउन नपाओस् भन्दै ‘इण्डोपेसिफिक र आर्यावर्तका रणनीतिक क्षेत्रहरू’ विषयक शीर्षकले सन्तुलन र उपयोगी उपाय सुझाएको छ । जी-२० समिटको अध्यक्षता गर्दै छिमेकी भारतले दर्शाएको आर्थिक क्षमतालाई सम्बोधन गर्दै मुलुकको हितमा उपयोग गर्न ‘जी-२० समिट, आर्यावर्त र स्वराज्य’ शीर्षकले प्रयास गरेको छ ।
दर्शन, सम्पदा संरक्षण र पर्यटन, साधना, सभ्यता संवाद, परराष्ट्र र पर्यटन, स्थानीयस्तरका भाषा, संस्कृति तथा आर्थिक समृद्धिका विचारहरूले शान्ति र समृद्धिका लागि व्यावसायिक पहललाई बुझ्न सहज हुनेछ । नेपाल उद्योग वाणिज्य संघ, काठमाडौंका सामाजिक समिति सदस्यसमेत रहनुभएका लेखक केशवप्रसाद चौलागाईंको कृतिले शैक्षिक पाठ्यक्रममा समेत स्थान पाउन सक्ने देखिन्छ । १७६ पेजको पुस्तकको प्रकाशक लाइफ रिसर्च एण्ड पब्लिकेसन्सले गरेको हो ।
Congratulations!