काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले फ्रान्सेली ब्राण्डको पहिलो पाँचतारे होटेलको उद्घाटन गर्नुभएको छ । काठमाडौंको सुकेधारामा अवस्थित अन्तर्राष्ट्रिय ब्राण्डको मर्क्युर होटेलको प्रम ओलीले बुधबार एक समारोहबीच उद्घाटन गर्नुभएको हो ।
प्रधानमन्त्रीले होटेलको उद्घाटन गर्दै पर्यटन उद्योगको विकासका लागि सरकारका तर्फबाट हरसम्भव सहयोग हुने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले फ्रान्सेली पर्यटकलाई नेपाल भ्रमण गराउन उक्त होटेलले योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले होटेल व्यवसायमा मर्क्युरले नयाँपन दिँदै यस व्यवसायलाई प्रोत्साहन पुग्ने बताउनुभयो । एबी होल्डिङ्सअन्तर्गतको कम्पनी मेट्रोपोलिटियन होटेलको व्यवस्थापन फ्रान्सको एकोर ग्रुपले लिएको छ ।
पर्यटन व्यवसायी देशबन्धु बस्नेतले तीन अर्ब रुपैयाँभन्दा बढी लगानीमा यो होटेल बनाउनुभएको हो । ‘यो एसियासँगै युरोप, अमेरिका, अस्ट्रेलिया, चीनलगायत मुलुकमा चर्चित ब्राण्ड हो,’ बस्नेतले भन्नुभयो, ‘यसले समग्र पर्यटन तथा हस्पिटालिटीमा टेवा पुर्याउनेछ ।’ नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्यसमेत रहनुभएका बस्नेतका अनुसार सन् १९६७ मा फ्रान्सबाट सुरु भएको मक्र्युर काठमाडौंमा १११औँ शाखाका रूपमा भित्रिएको हो ।
यसरी विदेशी चर्चित ब्राण्ड नेपाल भित्रिँदा सामान्यतया दुई प्रमुख फाइदा हुने उहाँको भनाइ छ । ‘एक त निःशुल्क मार्केटिङ हुन्छ । चर्चित ब्राण्ड भएकाले विश्वले चिन्छ । अर्को, हामीकहाँ दक्ष जनशक्ति उत्पादन भएर अपग्रेड हुँदै जान्छ,’ उहाँले सुनाउनुभयो ।
सुकेधारा हाइटमा रहेको यो होटेल १२ तले (छतसहित) छ । अन्तर्राष्ट्रिय विमानस्थल, पशुपतिनाथ मन्दिर, बौद्ध स्तुपालगायत धार्मिक स्थल नजिक भएकाले पर्यटकका लागि उपयुक्त हुने बस्नेतको भनाइ छ । ‘यो ठाउँ एकदमै राम्रो छ । होटेल बनाउनै भनेर सात वर्षअघि हामीले यो जमिन किनेका थियौँ,’ उहाँले भन्नुभयो, ‘हामीले यहाँ होटेल मात्र बनाएका छैनौँ, वरपर सडक र हरियाली पनि बनाएका छौँ ।’
होटेलअगाडि करिब एक सय ४० मिटर बाटो कालोपत्रे गरेर, पर्खाल लगाएर, हरियाली बनाइएको छ । पाँचतारे होटेल वरिपरि पनि राम्रो देखिनुपर्छ भनेर सडक विभाग, वडा कार्यालय र सम्बन्धित निकायहरूबाट स्वीकृति लिएर संरचना बनाएको उहाँले बताउनुभयो ।
मर्क्युरमा पाँच किसिमका गरी १०४ वटा कोठा छन् । सुपर स्विट, जुनियर स्विट, एक्जुकेटिभ स्विट, स्ट्याण्डर्ड किङ र स्ट्याण्डर्ड क्विन । हरेक कोठाका सुविधा फरक छन् । यहाँ एक रात बस्ने शुल्क १५ हजार रुपैयाँदेखि सुरु हुन्छ । ‘हाम्रो होटेलमा शारीरिकरूपमा अशक्तहरूका लागि शौचालयदेखि रेस्टुरेन्टसम्म छुट्टै व्यवस्था छ,’ बस्नेतले भन्नुभयो, ‘सबैखाले पाहुनाका लागि भएकाले विश्वस्तरीय होटेल बनाएका हौँ ।’
होटेलमा चार सय जनाभन्दा बढी मान्छे अटाउने बैंक्वेट हल छ । दुइटा बैठक कोठा, जिम, स्टिम साउना, वेलनेस सेन्टर छ । थप एउटा बैंक्वेट हल, क्यासिनो पनि चलाउने उहाँको योजना छ । मर्क्युरमा डेढ सय बढीले रोजगारी पाउने बस्नेतले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच