विनायकं प्रकुर्वाणो रचयामास वानरः
अबको नेपाली कांग्रेस कस्तो होला भन्ने जिज्ञासा तमाम नेपाली जनता र बौद्धिक समुदायका बीचमा आमचासोको विषय बनेको सर्वत्र महसुस गर्न लागिएका सन्दर्भमा केही कुरा स्पष्ट गर्नु आवश्यक भएको देखिन्छ । २०४६ सालको जनआन्दोलनपछि नेपाली कांग्रेसका सरकारले समग्र देशको बजेटमध्ये ७१ प्रतिशत गाउँका लागि छुट्याएर गाउँबाट देशविकास आरम्भ गर्ने सोच अघि सारेको थियो । यसै सोचअनुसार केही निर्णय र काम पनि आरम्भ गरिएको थियो तर बीचमा आएर कांग्रेसभित्रकै आन्तरिक असमन्जस्यले गर्दा नेपाली कांग्रेसको समाजवादी चिन्तनलाई पन्साएर भएका औद्योगिक संस्था र प्रतिष्ठानलाई निजीकरणतिर लैजाने क्रियाकलाप बढाएको देखिन लाग्यो जसले गर्दा गणेशको मूर्ति बनाउन लागेको मूर्तिकारले बाँनरको मूर्ति बनाए झैँ देशका औद्योगिक प्रतिष्ठानलाई निजीकरण गरियो ।
बाँसबारी छालाजुत्ता कारखाना, हरिसिद्धि इँटा तथा टाइल कारखाना, बुटवल धागो कारखाना, बालाजु ब्याट्री कारखाना, कतिपय औद्योगिक क्षेत्रहरूलाई बेचेर या निजीकरण गरेर आरम्भ भएका सरकारी गतिविधिले नेपालको विकास निर्माण केही बिचौलिया र ठूला पुँजीपतिका हातमा पुगेको सर्वत्र महसुस गरियो पनि । बीचका राजनीतिक छिनाझपटीले नेपालको भूबनावट र प्रचीन समयदेखिको नेपाली बस्ती विकासको मर्म अनुसार बीपीले सोचेर विश्वका हाम्रा जस्तै अविकसित र अल्पविकसित मुलुकमा भएका अभ्यासको परिणमसमेतको अध्ययनलाई विचार गरी बनाएको प्रजातान्त्रिक समाजवादी विकासको मोडेल परित्याग गरियो ।
आजको कांग्रेस बहुनायक, बहुकेन्द्री भएर ससाना ग्रुपमा देखापर्न लागेको छ । तिनै साना ग्रुपमा पनि स्वार्थी समूह निर्माण भएर कांग्रेस भनेको केही व्यक्तिको नाम, यश र पदप्रतिष्ठा कमाउने भाँडो बन्दै जानलागेको हुनाले कांग्रेसीले अब बुथको तहदेखि नै विधान पालन गर्ने र सांगठनिक अनुशासनका दायरामा बस्न प्रतिबद्ध हुनुपर्छ ।
यद्यपि बीपीले रुचाएको मिश्रित अर्थतन्त्रभित्र निजीकरणका माध्यमले भित्रिएको हेनरी फोर्डको विकास मोडेलले आज गाउँका सारा सम्पदा नास भएर गएको देखिन थालेको कुरो सर्वविदित नै छ । समय परिवर्तनशील छ । यसै अनुसार मानवीय र स्थानीय आवश्यक्ता र चाहना पनि परिवर्तन हुँदै जान्छन् नै तापनि आज पनि सानो सुन्दर भन्ने बीपीले रुचाएको विकासको अवधारणा सबै गतार्थ भइसकेको छैन । अतः कांग्रेस आफ्नै मौलिक चिन्तन अनुसार अधिकतम गाउँले भरिएको हाम्रा देशमा ग्रामीण विकास बेगर देश विकसित हुन नसक्ने कुरालाई आत्मसात गरी त्यता फर्कनु आवश्यक देखिएको छ । अहिलेको नेपाली कांग्रेस हाँसको चाल न कुखुराको चालमा रूपान्तरित भएको पनि सबैले महसुस गरेकै कुरो हो ।
संगठनलाई संगठ नै बनाऊँ
आजको कांग्रेस बहुनायक, बहुकेन्द्री भएर ससाना ग्रुपमा देखापर्न लागेको छ । तिनै साना ग्रुपमा पनि स्वार्थी समूह निर्माण भएर कांग्रेस भनेको केही व्यक्तिको नाम, यश र पदप्रतिष्ठा कमाउने भाँडो बन्दै जानलागेको हुनाले कांग्रेसीले अब बुथको तहदेखि नै विधान पालन गर्ने र सांगठनिक अनुशासनका दायरामा बस्न प्रतिबद्ध हुनुपर्छ । नेतालाई घरमा र वैयक्तिक सम्पर्क कार्यालयमा भेट्ने व्यवस्था अन्त्य गरी पार्टी अफिसमा नै भेट्ने र ठूला नेता पनि दिनमा एकपटक (फुर्सद अनुसार समय मिलाएर) पार्टी अफिसमा पुग्ने र त्यहीँबाट सबै काम पर्टी सञ्चालन गर्ने परिपाटी बसाउनु निहायत जरुरी भएको छ । बीपी, गणेशमानजी, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालासम्मले पनि यो अनुशासन पालन गरेको देखिन्थ्यो यद्यपि २०४६ पछि सम्पर्क कार्यालय खोलेर सञ्चालन गर्ने प्रथम व्यक्ति मेरा जानकारी अनुसार गिरिजा दाइ नै हुनुहुन्थ्यो ।
सुशील दाइ पनि पार्टीमा नै जाने गरेको मलाई थाहा छ । शेरबहादुर दाइले सम्पर्क कार्यालय नखोले पनि उहाँको शैली चन्द्रशमशेरको जस्तै घरैमा दरबार बनाउने रहेको हुनाले आज पार्टी कार्यालय हात्तीको देखाउने दाँतजस्तो मात्रै भएको छ । आज सभापतिलाई घरमा भेट्न जानुपर्ने, वरिष्ठ नेतालाई उनकै सम्पर्क कार्यालयमा भेट्नुपर्ने अरू अरूले पनि यही देखासेकी गरेकाले पार्टीमा सिस्नु उम्रन लागेको छ । दूरदरारबाट आएका तमाम पार्टीका कार्यकर्ताको दुःख कष्टलाई विचारै नगरी घरमा या सम्पर्क कार्यालयमा बोलाउँदा नवयुवक जो पढेलेखेका छन् ती नेकाबाट विकर्षित भएर अनेकौं छिचिमिरे दलमा कि विदेश यात्रामा लाग्नाले देशको मानवीय सम्पदा गतिहीन भएर गएको देखिन्छ ।
कांग्रेसका तुलनामा एमाले र माओवादी पार्टी अफिस गुल्जार देखिए पनि तिनको नेतृत्वको वैयक्तिक नृशंसपनाले र सत्तालिप्साका आचरणले तिनले पनि युवकको ध्यान आकर्षित गर्न सकेको देखिएको छैन । बोली र व्यवहार दुवैमा कांग्रेसका नेता केही भरपर्दा देखिए पनि व्यक्तिपिच्छेका गुट र स्वार्थसमूहको व्यवस्थापन पार्टीले नगर्दा कांग्रेस इतिहास भएको, वर्तमानबाट सुक्दै गएर भविष्य निमिट्यान्न हुनलागेको जस्तो देखिन थालेको छ । कांग्रेसको व्यवस्थापनमा रहेका व्यक्तिले यसलाई हृदयंगम गरी अधिक नोक्सानीबाट बचाउनु आजको आवश्यकता हो ।
लामो इतिहास भएका र जनताले पनि पत्याएका दलले आपसमा गरेको उद्घोष संविधान सात वर्षपछि संशोधन गर्ने भनेर अहं डकार्दा पनि ‘चुँ’ गर्न नसक्ने सरकारमा सहभागी कांग्रेसका मन्त्री, सांसद, भँगेरा र छिचिमिरा जस्ता आकार, संख्या, चरित्र केही नभएका साउने च्याउ उम्रे झैँ उम्रिएका भालुझार समानका प्रतिपक्षीको पनि हविगत देखियो । सर्वत्र चास्नीका लोभले भुन्भुनाउने झिँगा जस्तै रहेछन् जो सत्ताका चास्नीमा डुबेर मर्न चाहन्छन् । सरकार, सरकार जस्तो र संसद्लाई संसद् जस्तै बनाउने खालका राजनीतिक दल र राजनीतिक जमात बनाउन सक्ने मान्छे अघि बढ भनेर अबका दिनमा देशका बौद्धिक समुदाय र आममतदाताले पनि भन्न सक्नुपर्छ ।
सत्यका लागि विषपान गर्ने साहस देखाऊँ
अहिले अब आउने कांग्रेसको महाधिवेशनमा सभापति हुने दौडमा व्यक्ताव्यक्त रूपमा आलाकचिला उमेरका देखि परिपक्व उमेरसमूहका कांग्रेसीजन तँछाडमछाड गरेर लागेको देखिन थालेको छ । पार्टी बनाउने, देश विकास गर्ने उद्देश्यले यो भइदिएको भए सारा नेपालीले खुशी मनाउँदा हुनेथियो तर त्यसो नभएर आफू र आफ्नाका लागि यस प्रकारको प्रतिस्पद्र्धा भएको हुनाले देश, जनता र विचारका क्षेत्रमा सुख्खा लाग्ने निश्चित नै प्रायः छ पनि । पार्टीमा लागेका मान्छेले आफूलाई पार्टीको नेतृत्वमा पुर्याउन प्रयास गर्नु र सरकारमा जाने इच्छा देखाउनु दुवै राम्रा कुरा हुन् तर लक्ष्य चाहिँ देश बनाउने, पार्टीलाई संगठित गर्ने र सैद्धान्तिक या वैचारिक निष्ठामा अविचल रही जनतालाई आवश्यक परिपूरण (डेलिभरि) गर्ने प्रतिज्ञा पनि हुनुपर्दछ र यसलाई आमजनताले विश्वास गर्ने गरी विस्तार गर्न आचरणबाट देखाउन सक्नुपर्दछ ।
भनी देखाउनेभन्दा गरी पुर्याउने असल भन्ने उखान छ लोकमा । अहिले नेपाली कांग्रेस जस्तो पुरानो र क्रान्तिकारी चरित्र भएको पार्टी विचारै नमिल्नेसँग पाटे बाँधिएको छ । सत्तालिप्साका कारणले यसरी विचार बेचेपछि किन कांग्रेसमा लाग्ने या कांग्रेस बन्ने ? भनेर प्रश्न सोधे यिनीहरूका उत्तर तीनवटा हुन्छन् (क) देश त चलाउनु पर्यो नि (ख) साना दलले ठूला दललाई दल्नसम्म दले (ग) राजनीति गरेको सत्तामा जानका लागि हो नकि खरानी घस्न । वस्तुतः राजनीतिविचार, दर्शन र आर्थिक कायक्रम लागू गरेर देशमा अमनचयनको वातावरण सिर्जना गरी समाजसेवाका निमित्त गरिन्छ भन्ने कुरो अहिलेका कुनै पनि राजनीतिक दलका ठूला नेताका मुखबाट सुन्न पाइँदैन । हुन त नेता नै नभएको देश हो यो अनि के सुनियोस् ।
यसरी आजका युगमा पनि राजनीतिक वृत्तमा मध्यकालीन विवेकहीनता र उन्निद्रा लागेको देखिन्छ । यस बेला त्यस्ता नेताको खाँचो छ जसले आजसम्म भए गरेका विभेद, परिवर्जन, सीमान्तीकरण, प्रान्तीय भ्रान्तधारणाका साथै जातीय र पहिचानवादका नाममा हुने गरेका उग्र तथा विभेदकारी क्रियाकलाप लगायत यावत् कुरालाई वैधानिक व्यवस्थाबाटै अन्त्य गरेर स्थानीय, जातीय, प्रान्तीय, सांस्कृतिक विभेद हटाउन इमान्दार प्रयास गर्नेछु भनेर जनतालाई विश्वास दिलाउन र जनताका घरदैलामा परीक्षित भएको आचरण बोली र अन्य कुनै पनि कुरामा जनताले दाग नलाएको व्यक्तित्व अगाडि आउनुपर्छ । नेपाली कांग्रेसमा केही नवपुस्ताका र एक जना पुराना पुस्ताका नेता यस प्रकारका देखिन्छन् ।
एउटा राजनीतिक पार्टी, त्यो पार्टीको एउटा नेता जसले बीपी, गणेशमान र कृष्णप्रसाद भट्टराईले जसरी वैचारिक निष्ठा र जनताको सर्वात्मना उन्मुक्तिका लागि आफ्नो जीवन नै उत्सर्जन गरेर देखाएका थिए त्यसै गरी देखाउलान् भनेर देशविदेशले विश्वास गर्ने चरित्रको मान्छे चाहिन्छ ।
उनलाई अघि बढ्न नदिन जसरी नेसनल ज्योग्राफ्रिक च्यानलमा वनका सिंहलाई स्याल हुँडार (हाइना) का बथानले घेरेको देखाइन्छ, त्यसै गरी घेरेर आसलाग्दा मान्छेलाई आउन नदिने नै षड्यन्त्र कांग्रेसलगायत सबै दलमा रहेको देखिन्छ । राजनीतिक दृष्टिले विचार गर्दा थारू, आदिवासी जनजातिलाई अहिलेसम्म राज्यलगायत यस देशका तमाम राजनीतिक दर्शनले समेट्न सकेको देखिँदैन । उनीहरूका पाश्र्विक समस्या समाधान गरिए पनि समग्रमा समानताको व्यवहार भएको भने साँच्चै छैन नै । अतः एउटा राजनीतिक पार्टी, त्यो पार्टीको एउटा नेता जसले बीपी, गणेशमान र कृष्णप्रसाद भट्टराईले जसरी वैचारिक निष्ठा र जनताको सर्वात्मना उन्मुक्तिका लागि आफ्नो जीवन नै उत्सर्जन गरेर देखाएका थिए, त्यसैगरी देखाउलान् भनेर देशविदेशले विश्वास गर्ने चरित्रको मान्छे चाहिन्छ ।
नाइटो नझरेका र जनताका माझमा गनाएको चरित्र भएका दल र नेताका कुरा सुन्ने बेला अहिले छैन । यिनले धेरै ढाँटे भनेर आएको नवदलका सभापतिको चरित्र कति घिनलाग्दो रहेछ अहिले सबैले देखे । अब त्यस दलमा पनि स्वर्णिम जस्ता अभ्रख र चाँदी नचिन्नेदेखि स्वार्थ साँध्न भेडो पनि बन्न तयार हुनेमात्रै रहने सम्भावना छ । चेसका गोटी चाले झैँ खेमा र नेता फेर्नेको पनि कमी भने छैन । अतः जनताका काँधमा पनि नवजिम्मेवारी आएको छ ।
कहिले छैमले, कहिले सिराहा त कहिले गोरखाली जनताका अगाडि आँसु चुहाउने गोही र झापा डडेल्धुराली प्रवृत्ति पनि चिन्नुपरेको छ । यतिले मात्र पनि नपुग्ला भद्रता र कुलीनताका मुखुण्डामा छिर्ने झुम्राका पुतलीबाट पनि देश जोगाउने जिम्मा मतदाताकै हो । अतः‘देहं वापातयेयं कार्यं वा साधयेयम्’ भनेर होमिने चरित्रका मान्छेको मात्रै भर पर्न सकिने स्थिति छ । यस प्रकारको चरित्र रातारात विकास हुँदैन । यसका लागि मौलिक संस्कार भएको पृष्ठभूमि र जनतामा विश्वास गर्ने आचरण पनि हुनुपर्छ ।
यसरी हेर्दा नेपाली कांग्रेसमा पाका उमेरसमूहमा अहिले डा. शेखरबाहेक अर्को व्यक्ति देखिँदैन । नेपोलियनले भनेका थिए रे ‘संसार यति धेरै बिग्रेको असल मान्छे नभएर होइन असल मान्छेले बेलामा नबोल्दा बिग्रेको हो’ । नेपालमा पनि बौद्धिक भनाउँदा कि झोले छन् कि जिब्रो चबाउवा । यस प्रकारका मान्छेबाट देश बन्दैन । विदुरले झैँ सत्य बोल्ने हिम्मत चारजना साँच्चिकै बौद्धिकले देखाए र सुकरातले झैँ एकजना चरित्रवान् नेताले सत्यका लागि विषपान गर्ने साहस गरे भने देश बन्न धेरै समय लाग्दैन । अबको कांग्रेस यस्तै चाहिन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच