
कलाकार महेश त्रिपाठी अभिनित चलचित्र ‘लाज शरणम्’ यही फागुन १४ गते महाशिवरात्रीको दिनदेखि सिनेमा घरमा आउँदैछ । ‘चपली हाइट ३’, ‘हल्कारा’, ‘प्रसाद २’, ‘नोभेम्बर रेन’, ‘खजुरे ब्रो’ लगायतका चलचित्रमा कुशल अभिनय पस्किनुभएका त्रिपाठी यतिबेला ‘लाज शरणम्’लाई लिएर उत्साहित हुनुहुन्छ । विश्वकै पुरानो फिल्म महोत्सवमध्येको ‘वल्र्डफेस्ट हृयुस्टन’मा त्रिपाठी ‘हल्कारा’बाट उत्कृष्ट अभिनेतासमेत घोषित हुनुभएको थियो । विक्रम सापकोटा निर्देशित यो चलचित्रमा उहाँ ‘रक्स्याहा’ चरित्रमा देखिनुभएको थियो । इलेक्ट्रोनिक्स इञ्जिनियरिङमा स्नातक सकेर अभिनयतिर मोडिनुभएका महेश अध्यापनमा पनि संलग्न हुनुहुन्छ । पोखरा शहरनजिकै हालको कास्कीकोट गाउँपालिकामा विसं २०४५ सालमा जन्मिनुभएका महेश पर्दामा छोटो भूमिका पाए पनि पात्रलाई जीवन्त प्रस्तुत गर्न सक्ने क्षमता राख्नुहुन्छ । २०६५ सालमा टेलिशृंखला ‘जीवनचक्र’ र ‘आफन्त’ मा अभिनय गर्नुभएका महेश दुई वर्षसम्म यिनै सिरियलमा काम गर्नुभयो । कलेज अध्ययनपछि रंगमञ्च हुँदै चलचित्रमा भित्रिनुभएको हो । अभिनय चर्चासँगै व्यावसायिक सफलता पनि चाहिन्छ भन्नुहुने कलाकार महेश त्रिपाठीसँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको संवादको संक्षिप्त अंशः-
यहाँलाई यसअघिका चलचित्रमा आफ्नो भूमिका (क्यारेक्टर)लाई न्याय गर्ने कलाकारका रूपमा लिइन्छ, आफ्नो भूमिकालाई कसरी न्याय गर्ने कोसिस गर्नुहुन्छ ?
चरित्र निर्माणमा बाहृय(एक्स्ट्रनल) कुरालाई महत्व नदिई भित्री(इन्टरनल) मानवीय पाटालाई केलाउँदै अभिनय गर्नुपर्छ भन्ने मान्यता राख्छु म । सुरुमा अभिनय गर्ने चरित्रको संसार बुझ्छु म । त्यसपछि त्यो चरित्रलाई बुझ्छु । अनि त्यो पात्रलाई आफूभित्र लिन थाल्छु । चरित्र निर्माणमा मानवीय(हृयुमन) गुण खोज्छु । त्यो चरित्रको हृयुमन र मभित्रको हृयुमनबीचको समानता आफूभित्र खोज्छु । हामी सबैको परिस्थिति फरक हुन्छ । उक्त पात्रको हृयुमन इसेन्स थाहा पाएपछि त्यो चरित्रलाई सहजै प्रस्तुत गर्न सक्छु ।
चरित्र निर्माण कसरी गर्ने ?
चरित्र निर्माणमा फरक देखिनुपर्छ भनेर हिँडाइ, बोलाइ र लुक्समा परिवर्तन गर्नुभन्दा पनि त्यो चरित्रको जीवनका भित्री कुराहरूलाई महसुस र आत्मसात गर्दा परिवर्तन आफैं देखिन्छ । म डोल्पा गएँ भने त्यही ड्रेस लगाउँछु, विस्तारै तराई झर्दै गएपछि त्यो हट्छ अनि पातलो कपडा लाउँछु । यो चरित्र निर्माणको बाहृय कुरा हो । म बाहिरी कुरामा भन्दा पनि हृयुमनका पाटो हेरेर अभिनय गर्छु । एउटा कलाकारको अभिनयमा देखिनुपर्ने कुरा एकछिनको भ्रम/रमाइलो होइन । त्यो चरित्रको प्राण देखिनुप¥यो अभिनयमा । चलचित्रमा निर्माण गरिएको संसारमा पात्रलाई त्यही हिसाबले प्रस्तुत गर्नु महत्वपूर्ण हो ।
आफूले चाहे जस्तो चरित्र पाउनुभएको छ ?
अहिलेसम्म यो चरित्र गर्न पाए हुन्थ्यो भन्ने छैन । जुन चरित्र हातमा पर्छ, त्यो विशेष तवरबाट कसरी निर्वाह गर्ने भन्ने कुरो सोच्छु । यस्तो काम हात परोस्, जसले मलाई साइकोलोजिकल, फिजिकल हरेक दृष्टिले च्यालेन्ज गरोस् भन्ने लाग्छ । मलाई धेरैभन्दा धेरै मिहिनेत गराउने चरित्र आयो भने अभिनय गर्न मज्जा लाग्छ ।
यहाँ अभिनित ‘लाज शरणम्’बाट कस्तो अपेक्षा गर्नुभएको छ ?
‘लाज शरणम्’ राम्रो टिमले बनाएको चलचित्र हो । सबैले निकै मिहिनेत गर्नुभएको छ । चर्चित सिरियल ‘सक्किगो नि’ समूहद्वारा निर्माण गरिएको प्रतीक्षित नेपाली चलचित्र रहेको छ यो । कुमार कट्टेल ‘जिग्री ब्रो’द्वारा निर्देशित यो चलचित्र चर्चित सिरियल ‘सक्किगो नि’ टिमको प्रयासमा बनेको र दर्शकमाझ निकै प्रतीक्षित मानिएको हामीले पाएका छौं ।
चलचित्रको कथा, निर्देशन र प्रस्तुतीकरणको प्रशंसा गर्दै यसलाई नेपाली सिनेमा उद्योगको महत्वपूर्ण परियोजनाका रूपमा परिभाषित गरिएको छ । चलचित्रले नेपाल र विदेश दुवै स्थानमा राम्रो व्यापार गर्ने अपेक्षा राखिएको छ । चलचित्रमा सीताराम कट्टेल (धुर्मुस), विजय बराल, मुकुन्द श्रेष्ठ, अर्पण थापा, रेणु योगी, विजय लामासँगै सक्किगो नि टिमबाट अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिश निरौला (कक्रोज), प्रियाना आचार्य (मुन्नी), कमलमणि नेपाल (खुपीका बाउ) लगायतका कलाकारको अभिनय छ ।
नवीन श्रेष्ठ निर्माता रहेको चलचित्रमा रामनरेश शाह र सिर्जना खड्का सह–निर्माताका रूपमा रहनुभएको छ । चलचित्रमा सुदीप बराल छायांकारका रूपमा रहनुभएको छ । चलचित्रको प्रदर्शन मिति नजिकिँदै गर्दा दर्शकहरूबीच यसलाई लिएर उत्सुकता बढिरहेको छ । यसको अन्तर्राष्ट्रिय वितरण अधिकार (इन्टरनेसनल राइट्स) बिक्री भएको छ । शिवरात्रीको अवसर पारेर यही फागुन १४ गतेदेखि सिनेमा घरमा आउन लागेको यो चलचित्रको भारतबाहेकको अन्तर्राष्ट्रिय वितरण अधिकार सेभेन सिज इन्टरनेसनलले खरिद गरेको छ । नेपालमा भने यो चलचित्रलाई ब्यांकटेस इन्टरटेनमेन्टले जिम्मा लिएको छ । यस चलचित्रबाट सिंगो टिमले नै राम्रो अपेक्षा गरेको छ ।
कस्तो चलचित्र हो ‘लाज शरणम्’ ?
यसमा दुर्गम गाउँको कथालाई विशेष फोकस गरिएको छ । चलचित्रमा सुन तस्करी र डोल्पाको कथा समेटिएको छ । वैदेशिक रोजगारमा गएर कफिनमा फर्किनेहरूको कथातिर पनि यसको सार्वजनिक टिजरले संकेत गरेको छ । हाँस्यको माध्यमबाट वैदेशिक रोजगार, गरिबी, बेरोजगारी र राजनीतिक व्यंग्य प्रस्तुत गर्ने प्रयास गरिएको छ । यसका अहिलेसम्म सार्वजनिक सामग्रीले दर्शकमाझ एक खालको कौतुहलता जगाएको छ । सीताराम कट्टेलको नेताको भूमिकाले दर्शकको चासो बढाएको छ । गीत, पोष्टर र टिजरका कारण दर्शकहरूको ध्यान खिच्न सफल भएको छ । रमाइलो प्रचार सामग्रीभन्दा पर यस चलचित्रले टिजर र टेलरहरूमा देखाइएअनुसार उठाएका सामाजिक मुद्दाहरूले यसलाई विशेष बनाएको छ । बाँकी कुरा यो चलचित्र हेरेपछि थाहा भइहाल्छ । एउटा एकदमै राम्रो चलचित्र बनाउने हामी सबैको कोसिस रहेको छ । ‘लाज शरणम्’ नेपाली चलचित्र जगत्का लागि एउटा महत्वपूर्ण प्रयास हो । ‘सक्किगो नि’ टिमको लोकप्रियता, सामाजिक मुद्दाहरूको उठान र कलाकारहरूको बलियो समूहले यसलाई विशेष बनाएको छ । चलचित्रले हाँस्यका माध्यमबाट गम्भीर विषयवस्तुहरूलाई दर्शकसमक्ष पुर्याउने प्रयास गरेको छ । यसले दर्शकको मन जित्न सक्नेमा हामी आशावादी छौं ।
चलचित्र कसरी छान्नुहुन्छ ?
पहिले त आफूले निर्वाह गर्ने पात्र हेर्छु । त्यसपछि चलचित्रको कथावस्तु, कमर्सियल भ्यालुलगायतका पाटो केलाउँछु । चलचित्रको कतिपय केसमा स्टोरी ड्रिभन र क्यारेक्टर ड्रिभन भन्ने हुन्छ । स्टोरी ड्रिभन छ भने पात्रका लागि धेरै सोच्नुपर्ने अवस्था हुन्छ । क्यारेक्टर ड्रिभन छ भने त्यो पात्र महत्वपूर्ण भएर आउँछ । त्यसमा एउटा अभिनेताले म कहाँ जाँदैछु भनेर थाहा पाउनुपर्छ । मैले पछिल्लो समय गरेको एक-दुई चलचित्र स्टोरी ड्रिभन छ । अन्य सबै क्यारेक्टर ड्रिभन छ । म क्यारेक्टर ड्रिभन भएको चलचित्र रुचाउने व्यक्ति हो । तर, चलचित्रमा चरित्रको चर्चाका अलावा व्यावसायिक सफलता पनि महत्वपूर्ण हुँदोरहेछ ।
अभिनयमा यहाँले खुसी कहाँ भेट्नुहुन्छ ?
म अभिनयको चर्चाले नै खुसी हुन्छु । अभिनय चर्चासँगै व्यावसायिक सफलता पनि चाहिन्छ । कलाकारलाई नयाँ प्रोजेक्ट दिलाउन व्यावसायिक सफलताले धेरै महत्व राख्छ ।
रंगमञ्चमा एक खालको सफलतापछि चलचित्रमा भित्रिनुभयो, कस्तो पाउनुहुन्छ फर्केर हेर्दा ?
रंगमञ्चमा म एउटा साँघुरो सर्कलमा थिएँ । चलचित्रमा आएपछि मेरो त्यो सर्कल फराकिलो हुँदै गएको छ । मेरो अभिनयको दायरा पनि बढ्दै गएको हो कि । फर्केर हेर्दा खुसी नै लाग्छ । अहिले म जसरी अगाडि बढिरहेको छु, आफूलाई ठीक लागिरहेको छ ।
रंगमञ्चमा फर्किनुहुन्छ कि ?
मैले चलचित्र अभिनय थालेदेखि आफैंले नाटक अभिनय गरेको छैन । तर पनि प्रत्यक्ष, अप्रत्यक्षरूपमा म नाटकसँग पनि जोडिएको छु । चलचित्र अभिनय गर्दैमा नाटकबाट टाढा हुन्न । समय मिलाएर नाटक गरिरहन्छु । अभिनयको प्रशिक्षक भएकाले पनि विद्यार्थीहरूलाई समय-समयमा नाटक गराउने गरेको छु ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच