
गोविन्द मरासिनी
स्याङ्जा जिल्लाको अर्जुनचौपारी गाउँपालिका उत्तर-पश्चिम भागमा फैलिएको र समुन्द्र सतहबाट ९०० मिटरको उचाइमा रहेको सुन्दर गाउँपालिका हो । देशभरिका सात प्रदेशमध्ये गण्डकी प्रदेशको राजधानी पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेसँगै यस प्रदेशअन्तर्गत रहेका अन्य जिल्ला र पालिकाहरूमा पनि पर्यटकहरूको आवागमन बढाउन पालिकाका पदाधिकारीहरू सक्रिय बन्न थालेका छन् । गण्डकी प्रदेशका ११ जिल्लामध्ये स्याङ्जा पनि एक मनमोहक पर्यटकीय गन्तव्य हो । त्यही स्याङ्जा जिल्लाअन्तर्गतको एक पर्यटकीय पालिकाका रूपमा विकसित हुने क्रममा छ अर्जुनचौपारी गाउँपालिका ।
गाउँपालिकालाई पर्यटकीय हब त्यसमा पनि धार्मिक गन्तव्यमा छुट्टै पहिचान बनाउने उद्देश्यका साथ अर्जुनचौपारी जुटिरहेको छ । पालिकाभित्र रहेका पर्यटकीय गन्तव्यहरू जस्तै डहरे देउराली, एकानन्द गुफा, रापाकोट कालिकालगायतले पर्यटकलाई आकर्षित गरिरहेका छन् । प्रायजसो घरमा नवग्रह पूजा हुने गर्दछ तर नवग्रहको विधिवत् पूजा हुने शक्तिपीठ नेपालमा अहिलेसम्म छैनन् । विभिन्न शक्तिपीठहरूमा एक छेउमा नवग्रहको प्रतिमा राखेर पूजा गर्ने गरिए तापनि देशविदेशमा सिद्घिप्राप्त योगीहरूले यो ठाउँमा नवग्रह मन्दिर निर्माण गर्नु अत्यन्तै उपयुक्त हुने सल्लाहबमोजिम उनीहरूकै सुझावअनुसार यस क्षेत्रमा नवग्रहको मन्दिर निर्माण गरिएको हो । छिमेकी राष्ट्र भारतमा छुट्टै नवग्रह मन्दिर भए तापनि नेपालमा ग्रहकै मात्र पूजा हुने मन्दिर छैनन् । नेपालमा हिन्दू धर्म मान्नेहरूको संख्या बढी पाइन्छ, यहाँका धेरै जनसंख्याले विभिन्न शक्तिपीठको पूजा गर्नुका साथै नेपालमा भएका ठूला शक्तिपीठमा छिमेकी मुलुकबाट समेत भक्तजनहरू नेपाल आउने गरेका छन् । नेपालको पर्यटकीय राजधानी पोखराबाट केही घण्टामै पुग्न सकिने स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा नवग्रह मन्दिर स्थापनापश्चात् स्वदेशी तथा विदेशी पर्यटकलाई नवग्रह मन्दिरले आकर्षित गर्ने पालिकाको विश्वास छ ।
नेपालमै पहिलोपटक नवग्रह मन्दिर
गाउँपालिकाको वडा नं. १ मा ऐतिहासिक धार्मिक वन रहेको छ । त्यही धार्मिक वनक्षेत्रलाई नै धार्मिक पर्यटनको हब बनाउने योजनाअनुरूप पालिकाले नवग्रह मन्दिरको स्थापना गरेको हो । यसअनुरूप गाउँपालिकाले धार्मिक वन केटीचौरमा १०८ वटा पिपलका बिरुवासमेत रोपिसकेको छ । शनिग्रह विशेषरूपमा हेरिने भएकाले धार्मिक वन बनाउने उद्देश्यले पिपल रोपिएको हो । नेपालमा पहिलोपटक बनाउन लागिएको नवग्रह (नौ आकाशीय पिण्ड) को मन्दिर भारतको आसामको चित्रसालको पहाडमा मात्र रहेको छ । निर्माण हुँदै गरेको मन्दिर भारतको आसामको भन्दा फरक रहेको र यहाँ बन्ने नवग्रह मन्दिर विश्वमै पहिलो भएको पालिका अध्यक्ष प्रकाश तिवारीको दाबी छ । यसरी बन्न लागेको नवग्रह मन्दिरको छेउछाउमा पिपल रोपिएको हो । नवग्रह मन्दिरको मुख्य स्तभ नवभुज आकारको हुनेछ । जुन २७.७ फिटको बन्नेछ । २७ फिट माथितिर फर्केको अग्लो ब्रहृमाणीय मूर्तिको अवलोकन प्रत्येक वर्षको गणेश चतुदर्शीमा मात्र दर्शन गर्न पाइनेछ ।
नवग्रह मन्दिरसँगै बनाइएको षट्कोणको बीचमा पशुपतिनाथको जस्तै पञ्चमुखी शिवलिंग राखिने र अन्य कोणमा गणेश, कुलदेवता, लक्ष्मी, कालभैरव, हनुमान र दुर्गा भवानीको मूर्ति राखिएको छ । मन्दिरको एक ठाउँबाट छिरेपछि नौ चक्रमा रहेका नवग्रह मन्दिरलाई नौ परिक्रमासहितको पूजा गरेपछि मात्र बाहिर निस्कन मिल्ने गरी निर्माण गरिएको छ । नौवटा भुजा रहने पिल्लरमा १३ फिटमा नौवटा ग्रहका प्रतीक रहेका छन् भने त्यसमाथि नवभुज आकारको १४ फुटका पिल्लर छन् । पिल्लरको सबैभन्दा माथि सूर्यतर्फ फर्केको सौर्यमण्डलीय (ग्रह) को प्रतिमा रहनेछ भने यहाँ रहने प्रतिमा हिन्दू धर्मका कहलिएका धार्मिक ज्योतिषीको विशेष सल्लाहबमोजिम भारतमा बनाइएको छ । त्यसैले धार्मिक गुरु तत्वदर्शी ब्रहृमनिष्ट सन्त शिरोमणि स्वामी लोकानन्द महाराजले निर्माणाधीन नवग्रह मन्दिरको अवलोकनसमेत गरिसकेका छन् ।
नवग्रह मन्दिर शनिबारमात्र खुल्नेछ र नौ चक्रमध्ये एक चक्र भने भक्तजनहरूलाई मध्यनजर गरेर अन्य दिनमा पनि पूजाआजा गर्न पाइनेछ । मूल नवग्रह मन्दिर पालिकामा रहे तापनि यसका नौ निशान प्रतिमाहरू पालिकाअन्तर्गतका पाँचवटा वडामा र यसबाहेक अर्जुनचौपारी गाउँपालिकालगायत अन्य पालिकाका चार वडा मिलेर भौगोलिक स्वरूप ब्रहृमाणीय स्वरूपमा घुमेर रहेकाले पालिकाले छोएका भिरकोटको वडा नं. ७, पुतलीबजार नपा १३, १४ र आँधीखोला गापा १ मा निशान प्रतिमाहरूलाई आलोपालो पूजा गर्ने प्रबन्ध मिलाइने नवग्रह मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भरत पोखरेलले बताउनुभयो ।
परम्परागत समयदेखि नै चर्चित जलबराह धार्मिक वन परिसर आठ हेक्टर क्षेत्रफलमा फैलिएको छ । सोही स्थानमा उक्त मन्दिर बनाइएको हो । उक्त धार्मिक वनलाई समेत भविष्यमा ध्यान केन्द्र र योगा गराउने स्थानका रूपमा विकसित गर्न आफूहरू लागिपरिरहेको अर्जुनचौपारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कौशल पाण्डेले बताउनुभयो ।
गाउँपालिका अध्यक्षको प्रयास
लामो समय नेपालको सेयर बजारमा लगानीकर्ता रहेका अध्यक्ष प्रकाश तिवारी देशभरका गाउँपालिकाका प्रमुखमध्ये युवा पुस्ताका अग्रसूचीमा अटाउनुहुन्छ । उहाँ पालिकाभित्र मात्र नभई देशमै केही नयाँ गरौं भन्ने सोचका साथ अगाडि बढिरहनुभएको छ । उहाँले पालिकाभित्र नेपालकै पहिलो नवग्रह मन्दिर बनाउने र पालिकालाई धार्मिक पर्यटनको हब बनाउने योजनाअनुरूप कार्य अगाडि बढाइसक्नुभएको छ । नेपालमा कतै पनि नवग्रह मन्दिर नभएको र अर्जुनचौपारीमा यो मन्दिर निर्माण गर्दा पालिका र जिल्लाको मात्र नभई देशकै पर्यटन प्रवद्र्वनमा सघाउ पु¥याउने आफ्नो उद्देश्य रहेको तिवारी बताउनुहुन्छ । स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा आर्थिक वर्ष २०७९/०८० को कार्यसम्पादन स्वमूल्यांकनमा ९४ प्रतिशत अंक प्राप्त गर्दै अर्जुनचौपारी गाउँपालिका जिल्लामै उत्कृष्टसमेत भइसकेको छ ।
भव्य उद्घाटनको तयारी
नवग्रह मन्दिरको प्राण प्रतिष्ठा तथा अनुष्ठान २०८१ सालको महाशिवरात्रीको अवसर पारेर फागुन ६ देखि १४ सम्म एक करोड २५ लाख दियो प्रज्वलन गरी भव्यरूपमा गरिने भएको छ । उद्घाटन समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, संघीय सांसद एवं नेपाली कांग्रेस स्याङ्जा जिल्ला सभापति राजु थापा, प्रवचनकर्ता राधिका दासी र स्वामी केएमलगायतको उपस्थिति हुनेछ । यस्तै, उक्त अवधिमा कलाकारहरू देवी घर्ती, खुमन अधिकारी, राजु ढकाललगायतको प्रस्तुतिसमेत रहनेछ ।
विरलै आउने महाकुम्भको समय अत्यन्त शक्तिशाली र पवित्र हुने हुँदा यसै अवसरमा अनुष्ठान सम्पन्न गर्ने गरी अर्जुनचौपारी गाउँपालिका गाउँपालिका वडा नं. १ मा नवग्रह मन्दिरको निर्माण गरिएको छ । सम्पूर्ण नवग्रहहरू पृथ्वीका निकटमा आउने यस समयमा अनुष्ठानका लागि योभन्दा उत्तम समय अरू कुनै नरहेको सन्त महात्माहरूको कथनसमेत रहेको छ । अझ महाशिवरात्रीका दिनमा सम्पन्न हुने गरी आयोजना गरिएको नवग्रह मन्दिर अनुष्ठान, गीता ज्ञान तथा धार्मिक महोत्सवले सम्पूर्ण भक्तजनहरूको रक्षा गर्ने, पापबाट मुक्ति गरी आत्माको शुद्धीकरण गर्ने र मोक्ष प्राप्तिको मार्गप्रशस्त गर्ने विश्वास गरिएको छ । अतः महाकुम्भको यस शुभ अवसरमा गरिएको नवग्रह मन्दिर अनुष्ठान अन्य समयभन्दा लाखौं गुणा बढी प्रभावशाली हुने र सम्पूर्ण जगत्मा यसको सकारात्मक ऊर्जा फैलिनेछ ।
कुनै नयाँ कामको सुरुवात गर्नका लागि यस समय ज्योतिषीय तथा धार्मिकरूपले पनि अत्यन्त शुभ मानिन्छ । सम्पूर्ण ग्रहहरूको शान्ति गरी मोक्षको प्राप्तिका लागि यस खगोलीय संयोग निकै महत्वपूर्ण मानिन्छ । अझ सूर्य र बृहस्पतिको संयोजनलाई चन्द्रमाको प्रभावले पनि विशिष्टता बढाउने विश्वास गरिन्छ । त्यसैले यस अवधिभित्र पर्ने पौष पूर्णिमा, मौनी अमावास्या, वसन्त पञ्चमी, महाशिवरात्रीमा दुई नदीको संगमस्थलमा गरिने विशेष स्नानले मानिसमा बुद्धि, ज्ञान तथा विवेकको वृद्धि हुन्छ भने सम्पूर्ण दुःख, चिन्ता नष्ट भई आध्यात्मिक जागरण बढ्दछ । नवग्रह मन्दिरबाट कुहिरोको समुन्द्र र जलबराह गुफासमेत अवलोकन गर्न पाइनेछ भने पालिकाबाट केही घण्टाको दूरीमा पुगिने आँधीखोला गाउँपालिकामा रहेको दक्षिण एसियाकै पहिलो होमस्टे दरौं सिरुबारी, पुतलीबजार नगरपालिकामा रहेको सतौचण्डी थान र शितलादेवी मन्दिर र भिरकोट नगरपालिकामा रहेको खिलुङकालिका मन्दिरसमेत दर्शन गर्न पाइनेछ ।
कसरी पुग्ने ?
गण्डकी प्रदेशको राजधानी पोखराबाट करिब ५२ किमीको दूरीमा रहेको नवग्रह मन्दिर पुग्नलाई पोखराबाट सजिलै भाडाका गाडी र ट्याक्सीहरू पाइन्छ । पोखराबाट भाडाको गाडीमा हेलु पुगिन्छ । हेलुबाट सात किलोमिटरको दूरीमा रहेको नवग्रह मन्दिर भाडाको गाडी वा अटोबाट सजिलै पुग्न सकिन्छ । (स्वतन्त्र पत्रकार मरासिनी पर्यटन र विविध विषयमा कलम चलाउनुहुन्छ ।)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच