
अर्घाखाँची । लुम्बिनी प्रदेशमा सामुदायिक विद्यालय सुधारका लागि ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान सुरु भएको छ।
मुख्यमन्त्री चेतनारायण आचार्यले आफूले अध्ययन गरेको अर्घाखाँचीको अर्घा रजस्थल माध्यमिक विद्यालयबाट अभियानको शुभारम्भ गर्नुभएको हो प्रदेश सरकारअन्तर्गत सामाजिक विकास मन्त्रालयको आयोजनामा सञ्चालित यो अभियानले प्रदेशका विद्यालयमा अध्ययनरत पूर्वविद्यार्थीको ज्ञान, सीप र लगानीको सदुपयोग गर्दै विद्यालय सुधारमा उनीहरूको सहभागिता सुनिश्चित गर्ने लक्ष्य राखेको छ।
अभियानअन्तर्गत पूर्वविद्यार्थीका तर्फबाट मुख्यमन्त्री आचार्यले आफ्ना बुवा-आमाको स्मृतिमा टिकाराम-तारादेवी अक्षयकोष स्थापना गरेका छन्। एक लाख ११ हजार एक सय ११ रुपैयाँको अक्षयकोषको ब्याजबाट दलित जेहेन्दार विद्यार्थीलाई वार्षिक रूपमा छात्रवृत्ति प्रदान गरिनेछ। यस्तै, ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियानका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ आर्थिक सहयोग गर्दै मुख्यमन्त्री आचार्यले अभियानको शुभारम्भ गर्नुभएको छ ।
मुख्यमन्त्री आचार्यले सामुदायिक विद्यालयको सुधारमा पूर्वविद्यार्थीको रचनात्मक योगदान अपरिहार्य रहेको बताउँदै विद्यालयप्रति उनीहरूको जिम्मेवारीबोध गराउन यो अभियान थालिएको बताउनु भयो। उहाँले विदेशमा रहेका पूर्वविद्यार्थीलाई समेत विद्यालय सुधारमा योगदान गर्न आह्वान गर्दै ज्ञान, सीप र अनुभव साझा गरेर विद्यालयको स्तर उकास्न सकिने धारणा राख्नुभयो ।
लुम्बिनी प्रदेशमा ६ हजार ३४० विद्यालय छन्, जसमा ४ हजार ५३१ सामुदायिक विद्यालय छन्। हाल १२ लाख ८८ हजार २९८ विद्यार्थीमध्ये ९ लाख २५ हजार ६२९ जना सामुदायिक विद्यालयमा अध्ययनरत छन्। तर, पछिल्ला वर्षहरूमा सामुदायिक विद्यालयप्रति विश्वास घट्दै गएको आँकडाले देखाएको छ। २०८० को एसईई परीक्षामा लुम्बिनी प्रदेशको नतिजा ३८.७२ प्रतिशत मात्र रह्यो, जुन राष्ट्रिय औसत ४७.८७ प्रतिशतभन्दा कमजोर छ। विशेषगरी, ४५.५७ प्रतिशत सामुदायिक विद्यालयमा विद्यार्थी संख्या १०० भन्दा कम रहेको तथ्यांकले शिक्षा क्षेत्र सुधारको आवश्यकतामा बल दिएको छ।
अभियानअन्तर्गत शिक्षाबाट बञ्चित वर्गलाई मूलधारमा ल्याउने, पूर्वविद्यार्थीको ज्ञान र सीप विद्यालयसँग जोड्ने, शैक्षिक प्रतियोगिता तथा छात्रवृत्ति कोष स्थापना गर्ने, सूचना प्रविधि सामग्री हस्तान्तरण गर्ने, खेलकुद तथा अतिरिक्त क्रियाकलाप प्रवर्द्धन गर्ने, सामाजिक विभेद, बालविवाह, घरेलु हिंसा, किशोरावस्थाका चुनौती र लागूपदार्थ दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रम सञ्चालन गर्ने, विपत् व्यवस्थापन, स्वास्थ्य, पोषण, खोप तथा जीवनोपयोगी सीपसम्बन्धी जानकारी प्रदान गर्ने जस्ता कार्यक्रम सञ्चालन गरिनेछ।
लुम्बिनी प्रदेशभर एकैसाथ १७ विद्यालयबाट अभियानको शुभारम्भ गरिएको छ। सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि सबै पक्षको सक्रिय भूमिका आवश्यक रहेको भन्दै सरोकारवालाहरूले अभियानलाई परिवर्तनको कोसेढुंगा ठानेका छन्। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुलसीराम रायमाझीको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख जीवनारायण कोइराला, सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी बावुराम अर्याल, सामाजिक विकास मन्त्रालयका वरिष्ठ उपसचिव शारदा बस्याल, पूर्व प्रधानाध्यापक सालिकराम भुसाल, पूर्व विद्यार्थी कृष्णप्रसाद भुसाल, सन्धिखर्क नगरपालिकाका पूर्व उपप्रमुख ठाकुरप्रसाद विकलगायतले सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि यो अभियान प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।
‘मेरो विद्यालय, मेरो दायित्व’ अभियानले पूर्वविद्यार्थीको सक्रिय सहभागितामार्फत सामुदायिक विद्यालयको शैक्षिक, भौतिक र व्यवस्थापकीय सुधार गर्ने लक्ष्य राखेको छ। यदि अभियान प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकियो भने लुम्बिनी प्रदेशको शिक्षा प्रणाली सुधारमा ऐतिहासिक कदम सावित हुन सक्छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच