
अव्याप्त्यतिव्याप्त्यसम्भवदोषत्रयशून्यत्वम्
तर्कशास्त्रले भन्छ कुनै कुराको परिचयका लागि त्यस वस्तुको गुण, धर्म, दोष यावत् कुरालाई टपक्क टिपेर राख्नसक्नुपर्दछ अनिमात्र अव्याप्ति दोषरहित हुन्छ परिभाषा । राज्य व्यवस्थित बन्न उसका अंगउपांग सबै व्यवस्थित हुनुपर्दछ । केवल सत्तासयरमात्र राज्यसञ्चालन होइन जो आजका कांग्रेस कम्युनिष्टले बुझ्ने गरेको देखिन्छ । सत्तामा पुग्नेबित्तिकै किर्नु ढाडिए झैँ ढाडिएर चिल्लो अनुहार प्रदर्शन गर्नु पनि राज्य सञ्चालन गर्नु होइन । मौकामा चौका हान्ने दाउमात्र खोज्ने प्रवृत्ति अचेल बढेको देखिन्छ । हुन त यथा नेता तथा कार्यकर्ता भन्ने पनि सूक्ति बन्ला ।
यथा राजा तथा प्रजाभन्दा राजावादी भन्लान् भन्ने डरले होइन घोकन्ते श्लोकमात्रै सूक्ति होइनन् भन्नका लागि मैले बनाएको हुँ । पढ्नु भनेको घोक्नुमात्र होइन । एक पढेर चौध कल्पना गर्नुलाई पढाइको चतुर्याइँ भनिन्छ । पढेको घोकेको भन्दा भिन्नै नमिल्ने गरी बतासे गफ हाँक्नु, गफाडी हुनु भनेको वर्तमान नेपालको प्रधानमन्त्री बन्नु हो भने सत्ता र शक्तिको ताकमा बकुल्लाले भुरा माछा ढुके झैँ ढुक्नु वर्तमान नेपाली कांग्रेसका सभापति बन्नु हो । यो चरित्रानुगमनबाट निक्लेको निष्कर्ष हो । मुलुक र मुलुकवासीका लागि समुचित व्यवस्था मिलाएर राज्य सञ्चालन गर्नु चाहिँ श्रीमद्भागवतको पृथु राजा या पृथ्वीनारायण शाह जस्तो दूरदर्शी र उदार राजनेता बन्नु हो ।
२०१५ सालको आमनिर्वाचनपछि बीपीले बनाएको सरकार हेरौं या पृथ्वीनारायण शाहले गरेको राज्यएकीकरणका बेलाको प्रशासनसम्बन्धी नीति, धर्म-संस्कारसम्बन्धी नीति, भाषा-भेष आदिका सम्बन्धमा लिएको नीति हेरौं । नेपाल राज्यलाई समग्रमा हेर्दा राज्य जस्तो देखिने यिनै दुईवटा समयमात्र हुन् । रणबहादुर शाह, राजेन्द्र-सुरेन्द्रबाट सुरु भएको राणाशासन र त्यसलाई फालेर ल्याएको पञ्चायत र पञ्चायतलाई फालेर आएका झालेमाले पुत्ले पाङ«े रङका सरकार भनाउँदा तहमा पुगेका जोकरहरू राज्यका बारेमा होइन, पत्नी, पुत्रकलत्रका निमित्त हिरिक्क हुनेमात्रै देखापरेका छन् । प्रजातन्त्रमा एउटा पत्रकारले प्रधानमन्त्रीलाई तपाईं तानाशाह हो ? भनेर प्रश्न गर्दा उसको अनुमतिपत्र नै खोस्ने पनि प्रजातान्त्रिककालका प्रधानमन्त्री छन् ।
२०१५ सालको आमनिर्वाचनपछि बीपीले बनाएको सरकार हेरौं या पृथ्वीनारायण शाहले गरेको राज्यएकीकरणका बेलाको प्रशासनसम्बन्धी नीति, धर्म-संस्कारसम्बन्धी नीति, भाषा-भेष आदिका सम्बन्धमा लिएको नीति हेरौं । नेपाल राज्यलाई समग्रमा हेर्दा राज्य जस्तो देखिने यिनै दुईवटा समयमात्र हुन् ।
यो कुरो संसद्मा नै उठ्दा पनि उनी निर्लज्ज ङिच्चङिच्च गरी हाँसेका देखिन्थे । यिनले चलाएका राज्यमा भूकम्पपीडितले दुई–दुई वर्षसम्म उद्धार पाएनन् । बाढीपैरामा परेका मान्छेले राज्य गुहार्ने मौकै पाएनन् । उनका समर्थक र साझेदारबाहेक अरूको दुर्गति यिनले कहिल्यै देखेनन् । यिनको र यिनकी पत्नीका प्रशंसक मालामाल भए तर अरू साधारण नेपालीलाई तर्साएरै शासन गर्न यिनी सुरिएका सुरियै छन् । यसरी हेर्दा यिनको शासनकाल रणबहादुर शाहको या राजा बेनको जस्तो देखिन्छ । यही मौका पारेर पुराना राजावादी ख्याक जाग्न लागेका छन् ।
बालकलाई नुहाउन राखेको पानीमा कसिंगर परो भने कसिंगर फालिन्छ नकि भिउँट, पानी र बालक । शेरोलीले जस्तै गरी अहिलेका राजावादी आन्दोलनकारीले पनि अव्याप्ति दोषयुक्त कुरो गरेका छन् । दल खोलेर राजनीति गर्न राजाले पनि पाउँछन् । उनलाई अब राजगद्दी सम्भव छैन । भएका बेला थेग्न सकेनन् रोएर स्वास्नी र सत्ता पाइँदैन ।
अतिव्याप्ति दोष
अतिव्यप्ति नामको एउटा दोष हुन्छ । त्यो दोष भनेको के हो भने जे कुरालाई लक्ष्य गरेर भनिएको हो त्यसभन्दा अन्यत्र पनि त्यो भनाइले समेट्यो भने अतिव्याप्ति नामको दोष हुन्छ । हाम्रा प्रधानमन्त्री र उहाँका साझेदार टाउकेका सोच, चिन्तन र अभिव्यक्तिमा मात्र होइन क्रियाकलापमा पनि अति व्याप्तिदोष रहेको कुरो यो राज्यका सबै चेतनशील मान्छेले बुझेका छन् तर पनि राजा नांगै छन् भनेर औंल्याउन सकेका भने कुनै पनि बालकले छैनन् । नेपालको संविधान बनाउँदा राजनीतिक दलले गरेको कुमेटी चुनावका बेला देखापर्न लागेको पनि धेरै भयो । संविधान भनेको देशको मूल कानुन हो त्यसलाई रागेपाटे, पुत्लेपांग्रे बनाएर यो संविधान रहुन्जेल कुनै पनि दलले बहुमत ल्याउन नसक्ने बनाएका थिए ।
प्रजातन्त्रमा यस्तो हुँदैन । क्षेत्रीय दलको आफ्नै स्वार्थ थियो भने वामपन्थीलाई कांग्रेसले बहुमत ल्याएर हामी सधैं पेलिन्छौं कि भन्ने डर थियो । कांग्रेसमा पनि वामसँग मैत्रीपूर्ण सम्बन्ध चाहने र आफ्नै वैचारिक आदर्शमा रहन चाहने गरी दुई खेमा थिए । नुनढिकी फोर्ने र नफोर्नेको स्वार्थ बाझेको थियो । आदर्शमा रहने जहिले पनि जहाँ पनि पहिले कमजोर हुन्छ नै । परिणाममा पुगेरमात्र सत्य र आदर्शको जित हुन्छ । यसैको प्रतिफल नेपाली कांग्रेसका सभापतिले वामसँग गठबन्धन गरेर सत्ता प्राप्त गर्ने स्वप्न देख्दा आजको परिस्थिति आएको हो । चुनावमा आ–आफ्नै वैचारिक वृत्तका घोषणापत्र लिएर प्रतिस्पर्धा गरी सरकार चलाउन गठबन्धन गर्नुको बदला चुनावमा नै गठबन्धन गरेर विचारका ब्याडमा आगो लाए ।
बहुदलीय व्यवस्थामा दलमा नै यस्तो भएपछि पेशागत संघसंगठनदेखि विश्वविद्यालयसमेत भागबण्डामा गएर आज देशमा हाँसको चाल न कुखुराको चाल भएको देखिन्छ । महामन्त्री गगन थापा बाख्रेकाण्ड र खेमा फट्के प्रवृत्तिबाहेक जनताको रोलमोडेल व्यक्तिमा पर्छन् । गगन र विश्वप्रकाशले पहिले अब उप्रान्त गठबन्धन नगर्ने भनेर केन्द्रीय कार्यसमितिबाट पास गरे पनि अहिले कुन राजनीतिक स्वार्थका लागि हो पत्रकार संघ र लयर्स एसोसिएसनमा पनि भागबण्डा गर्दा मुखमा पानी राखेर बसेका छन् । यसरी अस्थायी भागबण्डामा रमाउनुभन्दा नेपालमा भएका दलहरूका हैसियत अनुसार देशै भाग लाएर जमिनदारी प्रथामा गए झन्झटै साफ हुने थिएन र ?
गिदीमा यो बुद्धि किन नआएको शेरोलीका अनुयायीमा ? १५औं महाधिवेशनमा सभापति बन्न आत्तुरिएका नेकामा थुप्रै देखिएका छन् तर तिनले शेरोलीका ज्यादतीलाई यसैगरी चुपचाप सहेर बसे भने यी भन्दा नालायक र दम्भी छानेर जनताले ल्याइदिन बेर लाउनेछैनन् । छिन्नेमूले नैव शाखा न पत्रम् । शेरोलीकै दम्भ र हैकम सहने हो भने महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्रको विरोध किन ? यहाँ घुमाउरो दृष्टिले अतिव्याप्ति दोष देखिन्छ । लासका पछि लागेको मलामीको भीड र राजालाई गरिने भनेको स्वागतमा पनि यही दोष छ । निरंकुश राजाका विरुद्धको जुलुस र बीपीको स्वर्गारोहणमा देखिएको सहज जनताको जमातभन्दा ठूलो लोकजमात जम्मा गर्नु असम्भव देखिन थालेको छ । समुदायका हितलाई छाडेर व्यक्ति या परिवारका पक्षमा जानुभनेको सौताका रिसले पोइको खुट्टा काट्नु नै हो ।
असम्भव
दर्शनले असम्भव नामको अर्को एउटा तेस्रो दोष पनि अघि सारेको छ । जुन वस्तु, व्यक्ति या मूल्यलाई चिनाउन खोजिएको हो त्यो नचिनिने या त्यसमा हुँदै नहुने गुण रूप, धर्मका आधारमा त्यसलाई चिनाउन खोजियो भने त्यहाँ असम्भव नामको दोष हुन्छ भनेर तर्कशास्त्रले बताएको देखिन्छ । मान्छे मरणशील प्राणी हो तर चिरञ्जीवी सापेक्षित दीर्घायुको हुन्छ भनेर मार्कण्डेय, बली, व्यास, हनुमान, कृपाचार्य, अश्वत्थामा, विभीषण आदिलाई अघि सारे पनि अजरामर भनेर भनेको छैन । यदि त्यसो भनेको भए असम्भव नामको दोष हुन्थ्यो । गाईका दुईवटा फाँचा हुन्छन् भनियो भने त्यहाँ असम्भव दोष हुन्छ । चुनाव भनेपछि मतदाताले आ-आफ्ना रुचिनुसार छान्न, रोज्न पाउनुपर्छ ।
हीनमनोवृत्तिका कांग्रेस-कम्युनिष्टका कारणले ज्ञानेन्द्र जस्ता चरित्र र आचरणबिनाका मान्छे पनि सपना देख्न लाग्नु भनेको दिउँसै रात पर्नु नै हो । बहुदलीय प्रजातान्त्रिक व्यवस्थामा तुलनै गर्ने हो भने अहिलेका तीनवटा टाउके र ज्ञानेन्द्रमा खास अन्तर फेला नपर्न सक्छ ।
यस अवसरबाट मतदातालाई विगतमा भएका गठबन्धने चुनावमा जसरी निषेध र निर्देश गर्यो त्यो प्रजातन्त्रका निमित्त असम्भव नभए पनि अतिव्याप्ति नामको चौथो दोष मानिन सक्छ । यसका लागि पनि अहिलेका नेपालका देउवा, ओली, दाहाल जिम्मेवार बन्नैपर्छ । यिनलाई दण्डित नगरुन्जेल प्रजातन्त्रका अनुहारमा लागेका फोहोरका छिटा पखाल्न सकिँदैन । यद्यपि यसको सुरुवात गिरिजाप्रसाद कोइरालाले गरेका थिए । यसको विकास, विस्तार र विश्वव्यापीकरणको श्रेय भने वा.ली.दा.लाई नै दिनुपर्छ । अहिले शंकर पोखरेल, प्रदीप ज्ञवाली, योगेश भट्टराई आदि र महामन्त्री गगन थापा, विश्वप्रकाशलगायतका पछाडि लाग्ने सबै दिवान्धा बनेर प्रस्तुत हुन लागेका देखिन्छन् ।
यिनले विवेकभन्दा स्वामीभक्तिका राग अलाप्न लागेको देख्दा भने नेपालको प्रजातान्त्रिक पद्धतिका बोटमा गबारे कीरो लागेको आशंका भएको छ । जो आसलाग्दो त्यही जेठाजु पर्दो भनेको यही नै हो । यसै परिस्थितिको आकलन गरेर लिङ्देनले उकासेका ज्ञानेन्द्र नामका हिजोका राजघरानाको सुविधा भोगेर कालो व्यापार गर्ने अकुत धनका मालिकको पनि मुख बतुराउन थालेको देखिन्छ । हीनमनोवृत्तिका कांग्रेस-कम्युनिस्टका कारणले ज्ञानेन्द्र जस्ता चरित्र र आचरणबिनाका मान्छे पनि सपना देख्न लाग्नुभनेको दिउँसै रात पर्नु नै हो । बहुदलीय प्रजातान्त्रिक व्यवस्थामा तुलनै गर्ने हो भने अहिलेका तीनवटा टाउके र ज्ञानेन्द्रमा खास अन्तर फेला नपर्न सक्छ । चारैजनासँग अकुत धन छ ।
मौका पर्दा उचित अनुचितको विचार चारैजना गर्दैनन् भन्ने पटक-पटक प्रमाणित भएको छ । मखुण्डो जेजस्तो लाए पनि अन्तर्मनोप्रवृत्ति शाह, देउवा, ओली, दाहाल चारैको समान छ । सबै तानाशाह र विचार, विवेक तथा लक्ष्य शून्य नै हुन् । चारैजना आफैं ठूलो र राम्रो हुने÷देखिने रोग ग्रस्त छन् तर चरित्रमा काला दागैदाग लागेका देखिन्छन् । आजीवन प्रजातन्त्र प्राप्तिका लागि संघर्ष गरेका तर मौका पाउनासाथ महका ढुंग्रमा डुबेको झिँगो बनेका, जीवनको उर्वर भाग एकदलीय तानाशाही व्यवस्थाका निमित्त आतंक, हिंसा, नरहत्या र लुटपाट चलाएर काम्लो ओढेर साधुभेषमा प्रस्तुत भएका, भातखान लागेका मान्छेको गर्दन छिनाएर दण्ड भोगेका कुरा लुकाएर प्रजातन्त्रको नाममा एकदलीय अधिनायकवादको जमिन्दार बन्ने स्वप्न देखेका छन् ।
आजीवन सुख, आमोदप्रमोदमा रहेर कालोव्यापार गरेर पनि पुर्पुराले दिएका नाममा पटक-पटक राजगद्दी आरोहण गरी मसीमा डुबेका स्यालले वनको राजा मै हूँ भने झैँ गर्दा भेद खुलेका व्यक्तिहरूको यो प्रतिस्पर्धा लज्जाजनक छ । प्रजातान्त्रिक मूल्यमान्यताका दृष्टिले । हमी नेपाली कति हतभागी छौं यस्ताका पछि लागेको लाग्यै छौं । हाम्रो बुद्धि घुच्चुकमा कसले पुर्याइदियो होला ? स्वार्थले कि विवशताले ? सोचौं जागौं, राम्रो कुरो पाउनका लागि अघि बढौं । आफूभित्रको लोभ, मोह, मद, मात्सर्य, दम्भ र अहंकारबाट आ-आफूलाई जागाउने कदम चाल्न ढिला नगरौं ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच