
काठमाडौं । प्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले वैशाख २४ गतेभित्रै कीर्तिपुरस्थित क्रिकेट मैदानमा प्यारापिट र फ्लड लाइट निर्माणको काम सकिने विश्वास व्यक्त गर्नुभएको छ । बिहीबार निर्माणाधीन मैदानको निरीक्षणपछि पत्रकारहरूसँग कुरा गर्दै उहाँले निर्माण कम्पनीसँग वैशाख २४ गतेसम्मको समयसीमा रहेकाले सो समयभित्रै काम सकिने विश्वास व्यक्त गर्नुभयो । समयमै काम सक्नका लागि तीन चरणमा निर्माणको काम अघि बढाइएको उहाँले बताउनुभयो । रंगशालाको दर्शकदीर्घा निर्माण तथा ‘फ्लड लाइट’ जडानको कार्य निर्धारित समयभित्रै सकेर उदाहरण प्रस्तुत गर्न उहाँले सम्बद्ध निर्माण व्यवसायीलाई आग्रह गर्नुभएको हो ।
‘यो प्रधानमन्त्रीसहित नेपाल सरकारले उच्च प्राथमिकतामा राखेको र सिंगो देशका क्रिकेटप्रेमीले चासो दिएको कार्य हो । त्यसैले देशमा विकास निर्माण आयोजना समयमै सम्पन्न हुन सक्छन् भन्ने उदाहरण प्रस्तुत गर्ने गरी लाग्नुहोस्,’ उपप्रधानमन्त्री सिंहले भन्नुभयो ।
क्रिकेट मैदानमा उपप्रधानमन्त्री सिंहसँगै युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले समेत निर्माण कार्यको निरीक्षण गर्नुभएको थियो । मन्त्री तेजुलाल चौधरीले सरकारले पहिलो मन्त्रिपरिषद्को बैठकमा क्रिकेट मैदान निर्माणको निर्णय गरेको र समयमै काम सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले तीन सिफ्टमा काम भइरहेको र समयमै निर्माण सम्पन्न गर्न आग्रह गर्नुभयो ।
२०८२ को वैशाख २४ गतेभित्र १० हजार सिट क्षमताको प्यारापिट र ६ वटा फ्लड लाइट जडान गर्ने योजना रहेको छ । फ्लड लाइट र प्यारापिट निर्माणका लागि छुट्टाछुट्टै ठेक्का दिइएको छ । फ्लड लाइट र १० हजार सिट क्षमताको रंगशाला तयार भएपछि पार्किङ, थप संरचना र बाँकी प्यारापिट निर्माण गरिनेछ । मैदानको प्यारापिट निर्माणका लागि बिकेओआई-केसीडिसी-बिजी जेभीले ४३ करोड ७७ लाख ३० हजार ११३.०३ रुपैयाँमा ठेक्का पाएको छ । फ्लड लाइट जडानका लागि भने ललितपुरको विशन-ईश्वरी जोइन्ट भेन्चरले ४२ करोड १९ लाख ९१ हजार ६ सय ५३ रुपैयाँमा ठेक्का पाएको हो ।
गत असार ३१ गते प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् बैठकबाट कीर्तिपुरमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला बनाउने निर्णय गरिएको थियो । उक्त कार्य सम्पन्न गर्न आगामी वैशाख मसान्तसम्म समयसीमा रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच