
काठमाडौं । देशमा राजनीतिक अस्थिरता बढेको छ । अनियमितता र भ्रष्टाचारले सुशासन र राज्य व्यवस्थालाई नै विकृत बनाएको छ । विभिन्न मागसहित यहाँ दिनहुँ प्रदर्शन भइरहेका छन् । संकटोन्मुख अर्थतन्त्र एकातिर छ, अर्कोतिर बेराजगारी बढिरहेको छ । अवसर खोजीमा युवा विदेश पलायन भइरहेका छन् । जनतामा चरम निराशा छ । तर, पनि नेपाल दक्षिण एसियाकै खुसी मुलुक बन्न सफल भएको छ । हुनत दक्षिण एशियामा नेपालभन्दा अगाडि सिंगापुर, थाइल्याण्ड, जापान मलेसिया र चीन छन् । तर, नेपाल खुसी मुलुकमा गतवर्षभन्दा एक स्थानमाथि उक्लिएको छ ।
नेपाल विश्वमा खुसी भएका देशहरूको सूचीमा ९२औँ स्थानमा परेको छ । १४७ मुलुकमा गरिएको सर्वेक्षणमा नेपाल गत वर्षभन्दा एक स्थानमाथि उक्लिएको हो । गतवर्ष नेपाल ९३औँ स्थानमा थियो ।
राष्ट्रसंघीय दिगो विकास परियोजनाले बिहीबार सार्वजनिक गरेको (वल्र्ड हृयाप्पिनेस रिपोर्ट–२०२५) को सूचीमा नेपाल ९२औँ स्थानमा परेको हो । नेपालले १० मा ५.३११ अंक प्राप्त गरेको छ । सन् २०१९ मा नेपाल १००औँ स्थानमा थियो । बुधबार विश्वभर ‘केयरिङ एण्ड सेयरिङ’ नारा दिएर खुसी दिवस नै मनाइएको छ । नेपालमा भने ‘हेरचाह र साझेदारी’ नारा दिइएको थियो । हरेक वर्षको मार्च २० तारिखमा अन्तर्राष्ट्रिय खुसी दिवस मनाइँदै आएको छ ।
नेपालपछि भारत, पाकिस्तान, बंगलादेश श्रीलंकालगायत देशहरू छन् । नेपालभन्दा भारत धेरै पछि छ । भारत खुसी राष्ट्रको सूचीमा ११८औँ स्थानमा छ भने पाकिस्तान भारतभन्दा पनि अगाडि छ । पाकिस्तान १०९औँ नम्बरमा छ । श्रीलंका १३३ औँ नम्बरमा छ । ग्यालप, अक्सफोर्ड वेलबिङ रिसर्च सेन्टर, संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्क र सम्पादकीय बोर्डको साझेदारीमा यो रिपोर्ट तयार पारिएको हो । खुसी मापन गर्ने भनिएको वल्र्ड हृयापिनेस रिपोर्ट ग्यालप वल्र्ड पोल डेटाको सहयोगमा दिगो विकाससम्बन्धी संयुक्त राष्ट्रसंघको एक अभियानले प्रकाशित गर्ने गर्छ । रिपोर्टका अनुसार उसले हरेक देशका निश्चित मानिसहरूसँग कुराकानी गरेको आधारमा आफ्नो निष्कर्ष निकाल्ने गर्छ । खुसी रैकिंग विश्व खुसी रिपोर्टको एउटा पाटो हो । देशको स्कोर एक सर्वेक्षणमा आधारित हुन्छ जसमा सहभागीहरूले आफ्नो वर्तमान जीवनको गुणस्तरलाई शून्यदेखि १० को स्केलमा मूल्यांकन गरेका थिए । खुसीका लागि उसले औसत जीवन समीक्षाबारे मानिसहरूको अनुभूति बुझ्ने बताइएको छ । त्यस्ता अनुभूति समाजमा जीवन जिउने स्वतन्त्रता, स्वस्थ्य जीवन, सामाजिक सहयोग, एक–अर्कालाई सहयोग गर्ने भावना, आर्थिक अवस्था अनि भ्रष्टाचारबारे विद्यमान आम सोचजस्ता विषय पर्ने जनाइएको छ ।
फिनल्याण्ड विश्वकै सबैभन्दा खुसी राष्ट्र
फिनल्याण्ड फेरि विश्वको सबैभन्दा खुसी राष्ट्र बनेको छ । सूचकांक पहिलो नम्बरमा रहेको फिनल्याण्ड लगातार आठौँ वर्ष विश्वको सबैभन्दा खुसी राष्ट्र बनेको हो । फिनल्याण्डका छिमेकी राष्ट्रहरू पनि शीर्ष खुसी देशहरूमा परेका छन् । डेनमार्क दुई, आइसल्याण्ड तीन, स्विडेन चार र नेदरल्याण्ड्स पाँचौँ स्थानमा परेको छ । यस्तै, कोस्टारिका छैठौँ, नर्वे सातौँ, इजराइल आठौँ, लग्जम्बर नवौँ र मेक्सिको खुसी राष्ट्रको सूचीको दशौँ नम्बरमा रहेको छ ।
अष्ट्रलिया, न्यूजिल्याण्ड, स्वीजरल्याण्ड, बेल्जियम, आयरल्याण्ड, लिथुनिया, अस्ट्रिया, क्यानडा, स्लोभेनिया र चेसिया क्रमशः एघारौँदेखि विश्वका बिसौँ खुसी राष्ट्रमा परेका छन् । सिंगापुर ३४औँ, थाइल्याण्ड ४९औँ, जापान ५५औँ, मलेशिया ६४औँ नम्बरमा छ भने चीन ६८औँ नम्बरमा छन् । यो वर्ष पनि सबैभन्दा पुछारमा अफगानिस्तान नै परेको छ । अफगानिस्तान १४७औँ स्थानमा परेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच