प्रा.डा.माधवप्रसाद पोखरेल र ज्ञानेन्द्र विवश पुरस्कृत

हिमालय टाइम्स
Read Time = 8 mins

काठमाडौं । शंकर लामिछाने प्रतिष्ठानबाट वरिष्ठ निबन्धकार प्रा.डा.माधवप्रसाद पोखरेल र निबन्धकार ज्ञानेन्द्र विवशलाई पुरस्कृति गरिएको छ । काठमाडौंमा नेपाली साहित्यका विशिष्ट निबन्धकार शंकर लामिछानेको ९६औं जन्मजयन्ती का अवसरमा आइतबार उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि, योगदानको स्मरण र उहाँको नाममा स्थापित पुरस्कार वितरण गरिएको हो । शंकर लामिछाने प्रतिष्ठानको आयोजना र प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा भएको कार्यक्रममा वक्ताहरूले शंकर लामिछाने नेपाली साहित्यका अद्वितीय निबन्धकार भएको बताएका थिए ।

वरिष्ठ निबन्धकार प्रा.डा.पोखरेल र निबन्धकार विवशलाई क्रमशः नगद ५० हजार र २५ हजार रुपैयाँ राशिसहित सम्मानित गरिएको थियो । उहाँहरू दुवैलाई कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार एवं चलचित्रकर्मी यादव खरेलले सम्मानपत्र, दोसल्ला, दुबो, रुद्राक्षको माला, मेडलसहित सम्मानपत्र प्रदान गर्नुभएको थियो । सो अवसरमा प्रमुख अतिथि यादव खरेलले अरू साहित्यकारको भन्दा बेग्लै विषयवस्तु र शैलीका कारण शंकर लामिछाने विशिष्ट स्रष्टा हुनुभएको जिकिर गर्नुभयो ।

प्रतिष्ठानका अध्यक्ष लेकालीको अध्यक्षतामा सम्पन्न समारोहमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बिओटीका अध्यक्ष पदम विश्वकर्मालाई बिओटीको अध्यक्ष भएकोमा बधाई ज्ञापन तथा मेडलसहित सम्मान गरिएको थियो भने प्रमुख अतिथिलाई मेडलसहित मायाको चिनो प्रदान गरिएको थियो । समारोहमा वरिष्ठ साहित्यकार प्रमोद प्रधानले नेपाली निबन्ध विधामा शंकर लामिछानेले बनाएको स्तरीयताको सीमालाई भत्काएर नेपाली निबन्ध अघि बढ्नु नै लामिछानेप्रति सही श्रद्धाञ्जलि हुने बताउँदै पुरस्कृत स्रष्टाका योगदानको चर्चा गर्नुभएको थियो ।

पुरस्कृत व्यक्तित्व प्रा.डा.पोखरेलले प्रतिष्ठानलाई पुरस्कारका लागि धन्यवाद ज्ञापन गर्नु भएको थियो । सर्जकमा अराजक हुनुपर्ने बताउँदै उहाँले शंकर लामिछानेमा अराजकता र प्रस्तुतीकरणको नयाँ शैली भएको बताउँदै शंकर लामिछानेले नेपाली निबन्ध विधामा दिएको योगदान अविस्मरणीय भएको उल्लेख गर्नुभयो ।

अर्का पुरस्कृत निबन्धकार विवशले शंकर लामिछाने जस्तो विशिष्ट व्यक्तिको नाममा स्थापित पुरस्कारबाट पुरस्कृत हुन पाएकोमा खुशी व्यक्त गर्दै लामिछानेको निबन्ध आफूलाई सधै नयाँ लाग्ने बताउनुभयो । दया फाउण्डेशनको तर्फबाट सहभागी हुनुभएकी आयुषा कपालीले सहकार्यका लागि प्रष्ठिानप्रति आभार प्रकट गर्दै आगामी दिनमा पनि सहकार्य जारी रहने बताउनुभयो । दया फाउण्डेशनले प्रतिष्ठानलाई आर्थिक सहयोग गर्दै आएको छ ।

अभिनन्दित एवं पुरस्कृतहरूबारे बोल्दै समालोचक प्रमोद प्रधानले उपयुक्त व्यक्तिको चयन भएको र सबैको आआफ्ना विधा क्षेत्रमा उल्लेखनीय योगदान रहेको चर्चा गर्नुभयो । महाकवि लक्ष्मीप्रसाद देवकोटाको निबन्धको परम्परालाई शंकर लामिछानेले भत्काएर नयाँ चरणमा प्रवेश गराएको उहाँको भनाइ थियो । लामिछानेको विशिष्टता भत्काएर निबन्धलाई नयाँ चरणमा प्रवेश गराएको दिन मात्रै लामिछानेमाथि सही सम्मान हुने पनि उहाँले जिकिर गर्नुभयो ।

साहित्यकार डा.दामोदर पुडासैनीले शंकर लामिछाने प्रतिष्ठान स्थापना भएको धेरै भए पनि राधेश्याम लेकालीको अध्यक्षतामा बनेको समितिले यसलाई सशक्त ढंगले सञ्चालन गरेको दाबी गर्नु भयो । प्रतिष्ठानबाट विभिन्न कृतिको लोकापर्ण, परिचर्चा गर्दै आइरहेको बताउँदै उहाँले प्रतिष्ठानले चाँडै नै ग्रन्थ प्रकाशन गर्ने जानकारी दिनुभयो ।

कार्यक्रमका अध्यक्षको आसनबाट संस्थाका अध्यक्ष लेकालीले धन्यवाद ज्ञापन गर्दै प्रतिष्ठानका आगामी योजनाबारे जानकारी गराउनु भएको थियो । उहाँले निकट भविष्यमै शंकर लामिछाने स्मृतिग्रन्थ प्रकाशित हुने जानकारी दिँदै लामिछानेका निबन्धहरूको अंग्र्रेजी अनुवादको काम पनि भइरहेको बताउनुभयो ।

यसैगरी शंकर लामिछाने प्रतिष्ठानकी कोषाध्यक्ष पद्मावती सिंहले स्वागत मन्तव्य राख्नुभएको थियो । संस्थाकी संरक्षण सविता ढुंगानाले श्रीमती रत्ना लामिछानेको शुभकामना मन्तव्य वाचन गर्नु भएको थियो भने दया फाउण्डेशनकी प्रतिनिधि आयुसा कपाली, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बिओटीका अध्यक्ष पदम विश्वकर्माले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको सञ्चालन निबन्धकार श्रीबाबु कार्कीले गर्नु भएको थियो ।

कार्यक्रममा संस्थाका सल्लाहकार लक्ष्मणप्रसाद गौतम, प्राज्ञ प्रदीप बमजन, गुञ्जनकी निवर्तमान अध्यक्ष हिरण्यकुमारी पाठक, नेपाल स्रष्टा समाज अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’, साहित्यिक पत्रकार संघका पूर्वअध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ, बुकहिलका भुपेन्द्र खड्का, साहित्यकारहरू प्रा.डा.गोविन्दमान सिंह कार्की, किशोर पहाडी, युवराज नयाँघरे, विमल भौकाजी, सुशीला देउजा, प्रद्युम्न जोशी, निर्मल पराजुली, यादव भट्टराई, सुमन वर्षा, नीता श्रेष्ठ, मधु पाठक, रमेश दाहाल, मुना बोहरा, संगीता शर्मा, सानुराजा अञ्जान, सुजिता पौड्याल अविरल, बोधराज पौडेललगायतको उपस्थिति थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?