नवनियुक्त प्रहरी महानिरीक्षक कुँवरलाई दज्र्यानी चिन्ह प्रदान, ‘सामूहिक निर्णय गर्ने’ प्रतिबद्धता

यज्ञराज पाण्डे
Read Time = 9 mins

काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई प्रहरी महानिरीक्षकको दज्र्यानी चिन्ह प्रदान गरिएको छ । आइतबार सिंहदरबारस्थित गृह मन्त्रालयमा आयोजित कार्यक्रममा उहाँलाई प्रहरी महानिरीक्षकको दज्र्यानी चिन्ह प्रदान गरिएको हो । उहाँलाई गृहसचिव विनोदप्रकाश सिंहले प्रहरी महानिरीक्षकको दज्र्यानी चिन्ह प्रदान गर्नुभएको हो । नवनिर्वाचित प्रहरी महानिरीक्षक कुँवरलाई सरकारले गत शुक्रबार प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो ।

प्रहरीमा आफ्नो गुट नभएको आइजिपी कुँवरको दाबी
नवनियुक्त प्रहरी महानिरीक्षक (आइजिपी) वसन्तबहादुर कुँवरले प्रहरीमा आफ्नो छुट्टै गुट नभएको बताउनुभएको दाबी गर्नुभएको छ । पदवहालीपछि नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा निर्देशन सम्बोधन गर्दै कुँवरले भन्नुभयो, ‘मेरो कुनै टिम र गुट छैन ।’
दज्र्यानी चिन्ह लगाएपछि कुँवरले प्रहरीले गर्ने राम्रा कामहरू र विगतमा भएका त्रुटिहरू लुकाएर प्रशासन बलियो नबन्ने बताउँदै प्रहरीमा सुधार आवश्यक रहेको बताउनुभयो । त्यस्तै, आइजिपी कुँवरले सामूहिकताको आधारमा निर्णय गर्ने बताउनुभएको छ । विगतमा प्रहरीमा आइजिपीका ब्याचमेटहरूको बीचमा हिलो छ्यापाछ्याप हुने गरेको थियो । त्यसतर्फ संकेत गर्दै कुँवरले भन्नुभयो, ‘सामूहिक निर्णय गर्छु ।’

प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखाबाट प्रहरीको गोप्य कागजात बाहिरिने गरेको विगत सम्झाउँदै कुँवरको भनाइ थियो, ‘कर्मचारी प्रशासन शाखाबाट कागजात बाहिरिए राम्रो हुँदैन ।’ प्रहरीभित्र कमजोरी भएको बताउँदै कुँवरले आन्तरिक शुद्धीकरण आफ्नो प्राथमिकतामा रहेको बताउनुभएको छ । निर्देशन सम्बोधनमा उहाँको भनाइ थियो, ‘आन्तरिक शुद्धीकरण मेरो भीष्म प्रतिज्ञा हो ।’

प्रहरी महानिरीक्षक कुँवरले शान्ति सुरक्षाको उपलब्धता नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धानसँगको निरन्तर समन्वय, सहकार्यमार्फत देशको आन्तरिक सुरक्षा थप सुदृढ बनाइ नागरिकमा कानुनी राज्यको प्रत्याभूति दिलाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । नवनियुक्त प्रहरी महानिरीक्षक कुँवरले अपराध, अपराध प्रवृत्ति र दबाबको सामु कुनै प्रकारको सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो । प्रहरीभित्रका गलत व्यक्तिहरूका कारण समस्या आउने गरेको कुँवरको भनाइ छ ।

अनुशासित र व्यावसायिक प्रहरीले मात्रै अहिलेको समस्या समाधान गर्छ : गृहसचिव सिंह
गृहसचिव विनोदप्रकाश सिंहले देशलाई अनुशासित र स्वच्छ प्रहरीको आवश्यक रहेको बताउनुभएको छ । आइतबार गृह मन्त्रालयमा नवनियुक्त प्रहरी महानिरीक्षक कुँवरलाई दज्र्यानी चिन्ह प्रदान गर्दै उहाँले यस्तो बताउनुभएको हो । सचिव सिंहले अनुशासित, स्वच्छ र व्यावसायिक प्रहरीले मात्रै अहिलेको समस्याको समाधान गर्ने उल्लेख गर्नुभयो । समाजमा प्राविधिक गतिविधिहरूमार्फत अपराधका घटनामा वृद्धि भइरहेकाले त्यसको समाधान गर्न प्रहरी प्रशासनमा आत्मविश्वास र अठोटको आवश्यकता रहेको गृहसचिव सिंहको दाबी छ ।

सचिव सिंहले अनुशासनहीनता, लापरबाही र भ्रष्टाचारजन्य क्रियाकलापलाई शून्य सहनशीलतामा लैजानुपर्ने बताउनुभयो । ‘अहिले अनुशासित र स्वच्छ प्रहरी हामीलाई चाहिएको छ । व्यावसायिक प्रहरी हामीलाई चाहिएको छ । धेरै बाधा छन्, हामीलाई थाहा छ, व्यावसायिक प्रहरी भन्नेबित्तिकै तालिमको कुरा छ, अन्य कुराहरू छन्, नयाँ प्रविधिको कुरा छ । तर, यी समस्या समाधानका लागि पदमा बस्ने कर्मचारीको मनोबल र अठोट हुने हो भने त्यसमा पनि राम्रो गर्न सकिन्छ,’ उहाँले भन्नुभयो, ‘अनुशासनहीनतालाई, लापरबाहीलाई र भ्रष्टाचारजन्य क्रियाकलापलाई शून्य सहनशीलता बनाउनुहुनेछ । मन्त्रालय देखिने गरी सुधार भएको हेर्न चाहन्छ । विगतमा सुधारका क्रमहरू चलेका छन्, तर त्यो सुधार अझै पनि पूर्ण भएजस्तो लाग्दैन । आन्तरिक सुदृढीकरण प्रमुख आधार रहेको छ । समाजका बेथितिहरू, अन्य गलत क्रियाकलाप नियन्त्रण गर्नलाई हामी आफैँ कति सक्षम र सुदृढ छौँ भन्ने कुराले महत्व राख्छ ।’

सचिव सिंहले प्रहरी प्रशासनमा अझै पनि पूर्ण रूपमा सुधार नदेखिएको बताउनुभयो । उहाँले प्रहरी प्रशासनको आन्तरिक सुदृढीकरण गरी समाजका बेथिति र अन्य गलत क्रियाकलाप नियन्त्रण गर्नुपर्ने औँल्याउनु भएको हो

प्रहरीमा चार एआइजीका लागि ११ डिआइजी प्रतिस्पर्धामा, १३ डिआइजी र १६ एसएसपीको पद पनि रिक्त
नेपाल प्रहरीमा वरिष्ठ उपरीक्षक (एसएसपी) माथिका ३३ पद रिक्त भएका छन् । ३० वर्षे सेवा अवधिका कारण आइजीसहितका उच्च अधिकारीहरू अवकाशमा गएसँगै पदहरू रिक्त भएका हुन् । प्रहरीमा आठवटा एआइजीको दरबन्दी छ । जसमध्ये अहिले टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य गरी चार मात्रै एआइजी छन् भने चार एआइजीको पद खाली छ । उक्त चार एआइजीमा बढुवा हुनका लागि सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी, टेकबहादुर तामाङ, उमेशराज जोशी, भीमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह, किरण राणा प्रतिस्पर्धामा हुनुहुन्छ ।

त्यसैगरी, अहिले सात डिआइजीको दरबन्दी रिक्त छ । माथि नाम उल्लेख गरिएका ११ डिआइजीमध्ये चारजना एआइजी भएपछि डिआइजी रिक्तको संख्या १३ पुग्छ । १३ डिआइजीको लागि एसएसपीहरू जनक भट्टराई, विष्णुकुमार केसी, भरतबहादुर बोहरा, कुवेर कडायत, केदार ढकाल, रवीन्द्र केसी, राजेशनाथ बास्तोला, लालमणि आचार्य, यज्ञविनोद पोखरेल, चन्द्रकुवेर खापुङ, अर्जुनचन्द ठकुरी, विकासराज खनाल, सुरेन्द्रप्रसाद मैनाली, कृष्णहरि शर्मा पोखरेल र चक्रबहादुर सिंहलगायत प्रतिस्पर्धामा हुनुहुन्छ ।

त्यसैगरी, रिक्त १६ एसएसपीका लागि विश्व अधिकारी, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, विश्वमणि पोख्रेल, शेखर खनाल, अभिनारायण काफ्ले, सोमेन्द्र सिंह राठौर, मुकुन्द मरासिनी, दिनेशराज मैनाली, कृष्णबहादुर पल्लीमगर, भुपेन्द्रबहादुर खत्री, गंगा पन्त, गोपालचन्द्र भट्टराई, रविकुमार पौडेल, बेलबहादुर पाण्डे, दीप शमशेर जबरा, नवीनराज राई, तारादेवी थापा, आभूषण तिम्सिना, प्रवीण पोखरेल, प्रज्वल महर्जन, वसन्त रजौरे, वीरबहादुर ओली, चन्द्रदेव राईलगायत प्रतिस्पर्धामा हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?