जुरोपानी सबस्टेसन सञ्चालनमा

Read Time = 4 mins

काटमाडौं । झापाको गौरादह नगरपालिका-७ ग्वालडुब्बा जुरोपानीमा ३३/११ केभी नयाँ सबस्टेसन सञ्चालनमा आएको छ । नेपाल विद्युत् प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयअन्तर्गत वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजनामार्फत् उक्त सबस्टेसन निर्माण गरिएको हो । सबस्टेसनबाट विद्युत् आपूर्ति दिन थालेपछि झापाको गौरादहदेखि दक्षिणतर्फ भारतीय सीमासम्मको न्यून भोल्टेज समस्या समाधान हुने प्राधिकरणले जनाएको छ । छ/आठ एमभिएको पावर ट्रान्सफर्मर जडित जुरोपानी सबस्टेसनबाट स्थानीयरूपमा विद्युत् आपूर्तिका लागि ११ केभीका पाँचवटा फिडर लाइन निकालिएको छ । सबस्टेसनबाट ११ केभीका गौरादह, महारानी, बैगुनधुरा र गौरीगञ्ज फिडर निकालिएको छ भने थप एउटा जगेडामा राखिएको छ ।

प्राधिकरणका अनुसार सबस्टेसनलाई आइतबार विद्युत् आपूर्ति दिई सञ्चालनमा (चार्ज) ल्याएको छ । पहिलो चरणमा महारानी फिडर सञ्चालनमा ल्याइएको छ भने बाँकी फिडर क्रमशः सञ्चालनमा ल्याइनेछ । हाल जुरोपानी, महारानी, गौरीगञ्जलगायतका क्षेत्रमा पाडाजुगी (दमक) १३२ केभी सबस्टेसनबाट ११ केभी वितरण लाइनमार्फत् आपूर्ति दिइएको थियो । ११ केभी वितरण लाइन धेरै लामो हुँदा सो क्षेत्रमा न्यून भोल्टेज, ट्रिपिङलगायत समस्या थियो । जुरोपानी सबस्टेसनबाट विद्युत् आपूर्तिपछि उपभोक्ताले अहिले बेहोरिरहेको समस्या समाधान भई विद्युत् आपूर्ति पर्याप्त, भरपर्दो, गुणस्तरीय भएको छ । सो क्षेत्रका कृषकले विद्युतीय मोटरबाट पानी तानी खेतमा सिँचाइ गर्दै आएका छन् ।

पहिले २८० भोल्ट लाइन आउने गरेकोमा नयाँ सबस्टेसनबाट आपूर्ति दिन थालेपछि ४०० भोल्ट लाइन प्रवाह भई सो क्षेत्रमा कुटानी–पिसानी मिलका उपकरण, पानी तान्ने पम्पलगायतले राम्रोसँग काम गर्न थालेको परीक्षण, सञ्चालन र चार्जिङमा संलग्न आयोजनाका सहायक इञ्जिनियर दुर्गादत्त सुवेदीले बताउनुभयो ।

पाडाजुगीबाट जुरोपानीसम्मको करिब १८ किलोमिटर लामो ३३ केभी लाइन निर्माणाधीन छ । गौरादह क्षेत्रको विद्युत् आपूर्ति समस्या समाधान गर्न जरुरी भएकाले वैकल्पिक व्यवस्थाका रूपमा पाडाजुगी–गौरीगञ्ज सडकको छेउछेउबाट लाइन लगेर जुरोपानी सबस्टेसन सञ्चालनमा ल्याइएको हो । सरकार तथा प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा सबस्टेसन निर्माण गरिएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?