भ्रष्टाचारमा केपी ओलीको नाम लिएपछि एमाले सांसदले गरे सदन अवरुद्ध

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । भ्रष्टाचारमा अध्यक्ष केपी शर्मा ओलीको नाम लिएको भन्दै प्रमाणित गर्न चुनौती दिँदै सरकारको जवाफ मागेर एमाले सांसदले सदन अवरुद्ध गरेका छन् ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै एमाले सांसदहरु उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले एमाले प्रमुख सचेतक पदम गिरीलाई बोल्न समय दिनुभयाे । त्यसपछि गिरीले सत्तारुढ दलकै सांसदबाट पशुपतिनाथ मन्दिरमा राखेको सुनको जलहरीमा भएको अनियमिततामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको संलग्नता रहेको आरोप लगाएको भन्दै सरकारको जवाफ नआएसम्म सदन चल्न नसक्ने चेतावनी दिनुभयाे ।

उहाँले सुनको जलहरीमा पित्तल राखेको भनेर सत्तारुढ दलकै सांसदबाट अभिव्यक्तिप्रति सरकारको जवाफ र उक्त सांसदले माफी माग्नुपर्ने बताउनुभयाे । भ्रष्टाचारका सबै फाइल खोलेर कारबाही गर्नुपर्ने पक्षमा एमाले पनि रहेको बताउँदै उहाँले चालु अधिवेशनमा भ्रष्टाचारकै विषयमा छलफल गर्नुपर्ने बताउनुभयाे ।

तर, निराधार रुपमा आफ्ना अध्यक्ष ओलीमाथि लगाएको आरोप प्रमाणित गर्न उहाँले चुनौती पनि दिनुभयाे । सभामुख घिमिरेले पटक पटक बस्न आग्रह गर्दा पनि एमाले सांसद उठेर विरोध जनाइरहेका छन् । संसदीय दलका उपनेता सुवास नेम्वाङले सदन अवरोध गर्न नहुने भए पनि प्रमुख प्रतिपक्षी दलका नेतामाथि गम्भीर आरोप लगाएपछि बाध्य भएको बताउनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 Comment
  1. भ्रष्टाचार को उच्चारण नै गर्न नदिने कार्यकर्ताहरु नै भ्रष्टाचार संरक्षण गर्न जिम्मेवार छन् ।बोरा का बोरा नोट प्रधानमन्त्रीको क्वाटरमा गएको बयानले के तत्कालीन प्रधानमन्त्री छानबिन मा पर्न नहुने?

रिलेटेड न्युज

छुटाउनुभयो कि ?