भत्किँदै किल्लाहरू कथासङ्ग्रहको लीलाबोधी विश्लेषण-४

सपना :
दार्शनिक दृष्टि राखिएको यो कथामा जीवनको विहङ्गावलोकन गरिएको छ । बाल्यकालदेखिका स्मृतिहरू, आफ्नो समय-समयको बुझाइ, जीवनमा गति लिइयो भन्ने बुझाइ र त्यसका पनि सीमाहरू रहेकाप्रति कथाकारको चिन्तन केन्द्रित भएको छ । जीवन विपनामै पनि सपनासरह धेरै हिँडिएछ । उकालोको मोहमा, माथि चढ्ने रहरमा हिँडिएका धेरै पाइलाहरू अर्को उकालो वा गहिरो आएपछि पुनर्विचारित भएका छन् । गोलो पृथ्वीमा उकालो मानेर चढ्नुमात्र पनि पूर्ण बुझाइ होइन रहेछ भन्ने बोध भएको छ । आफूसँग, समाजसँग र जीवनसँग जोडिएका धेरै घटना र स्मृतिहरू छन् । ती सबै बुझाइका खुड्किलाहरू मात्र भएका छन् ।

जीवनमा एकपछि अर्को हुँदै उकाली ओरालीहरू आइरहन्छन् । गतिको र बुझाइको पनि अन्त्य छैन । जीवनका केही कर्तव्य र जिम्मेवारीहरू पूरा भए फेरि पनि उकालोको रहरमा हिँड्दा हिँड्दै थाकियो तर गन्तव्य त्यहाँ पनि भेटिएन । उकालो चढ्ने मोहमा धेरै कुरा बिर्सेजस्तै पत्नीलाई पनि बिर्सिएछ । अरू धेरै आफन्त, इष्टमित्रबाट पनि पर पुगेपछि गन्तव्यको अनिश्चितता बोध भयो । सपनाबाट ब्युँझिएको जस्तो भएपछि मात्र आफ्नो उचाइको बोध भयो । त्यहाँ पुगिएको रहेछ जहाँबाट ओर्लिन र फर्किन पनि सजिलो रहेनछ । अरू धेरै असजिलाले उचाइलाई पनि चुनौती दिएका रहेछन् ।

वास्तवमा कतै अघि बढ्नै नसकिने गरी लिइएको उचाइ एउटा आफैमा समस्या रहेछ भन्ने चेतना भएपछि उचाइ र प्रतिष्ठाको मोहभंग भएर जीवनमा वास्तविक चेतना लिन सक्नु परेकोप्रति कथाकारको ध्यान पुगेको छ । म पात्र त्यहाँ पुगेको छ जहाँबाट चढ्न र झर्न पनि सहज नभएको अवस्थामा यी व्यर्थताहरूबाट मुक्त भएर बल्ल पो ब्युँझन आवश्यक छ । यो सबै त सपना पो भयो त भन्ने दार्शनिक ज्ञान भएको कुरा कथामा अभिव्यक्त भएको छ । पूर्वस्मृति, गरिएको भनिएको, गरिएको नभई भएको मात्र, उच्चताको भ्रम, गतिको भ्रम, जीवन एक सपना ।

नगरबधू :
यो स्वैरकाल्पनिक ढङ्गको कथा हो । यसमा यौनलाई मूल विषय बनाइएको छ र राजनीतिप्रति कटाक्ष गरिएको छ । महाभारतीय कथाका कुन्ती पात्रसँग यसलाई दाँजिएको छ । यसमा यौनलाई राज्य सञ्चालनको महत्वपूर्ण पक्ष मानिएको छ । सत्तालाई यौन व्यापार केन्द्र र सत्ताधारीहरूलाई यौनाचारी पात्रसँग दाँजेर सत्ताको व्यभिचार र अभिसार क्रियाप्रति कटाक्ष गरिएको छ । यो पूर्णतः नाटकीय, प्रयोगवादी शैलीमा आबद्ध छ । सत्तासीन प्रधानमन्त्रीहरू नगरबधू बनेर पुरुषहरूलाई नारी रूपको सम्मोहनमा पारेर भोगेका छन् । नारीलाई पुरुष रूपमा उभ्याएका छन् । भित्र एउटा र बाहिर अर्को रूप र चरित्र बोकेका यी बहुरूपी पात्रहरूले समाजमा सत्तालाई यौन क्रिडासरह, बेश्यावृत्ति ठानेर भोगिरहेका छन् र त्यसको दोष, पुनः जनतालाई नै दिन तम्सिएका छन् ।

हेर्दा दुरुस्तै लाग्ने तर भोग्दा अर्कै लाग्ने रूपको मोहनी लीलाले समाजलाई ढाकेको छ । जे होइन त्यो देखिएको छ, जे हो त्यो रूपको मोहनीले ठगिएको छ । यहाँ पनि मान्यताका किल्लाहरू भत्किएकै छन् । रूपहरूको खेल छ, महाभारतीय आख्यानको पुननिर्माण भएको छ ।

यो ज्यादै घिनलाग्दो नाटक हो । यहाँ समलिङ्गीहरूले, हिजडाहरूले आफ्नो रूप फेरेर जनतालाई झुक्याइरहेका छन् भन्ने व्यङ्ग्यार्थ प्रस्तुत गरिएको छ । मान्छेको अन्धतालीला यहाँ प्रकट छ (धरावासी (सम्पा.) २०५९, पृ.७) । नगरहरू नगरबधूको माया जालमा जेलिएका छन् । नगरबधूहरूले आफ्नो इच्छाअनुकूल र ग्राहकको इच्छाअनुकूल अभिसार गरेझैँ अलग अलग रति, मुद्रा र आशनमा यौनक्रियामा रमाएझैँ राजनीति गर्ने खेलाडीहरूले रूप, रङ्ग र आशन फेरेर सत्तामा रमाएका छन् । जसरी नगरबधूले क्षणिक आनन्दको मोहमा समाजमा व्यभिचार फैलाएका छन् त्यसरी नै सत्ता राजनीतिका नगरबधूहरूले मुलुकलाई आफ्नो क्षणिक आनन्दको निम्ति उपयोग गरिरहेका छन् ।

हेर्दा दुरुस्तै लाग्ने तर भोग्दा अर्कै लाग्ने रूपको मोहनी लीलाले समाजलाई ढाकेको छ । जे होइन त्यो देखिएको छ, जे हो त्यो रूपको मोहनीले ठगिएको छ । यहाँ पनि मान्यताका किल्लाहरू भत्किएकै छन् । रूपहरूको खेल छ, महाभारतीय आख्यानको पुननिर्माण भएको छ ।

आकाशका रङ्गहरू :
आकाश शून्यको प्रतीक हो । निर्गुण, निराकार तर विशालताको पनि प्रतीक हो । आकाश नदेखेरै पनि देखिएको भएको छ । सबै खाले घटनाको साक्षी बनेको आकाशमा रङ्गको आरोप गरिएको छ । त्यो रङ्ग धर्तीको रङ्गको प्रतिच्छाया छ । मानिस र जीवनका कृत्य, कुकृत्यको दर्शक आकाश नै हो जो व्यापक छ, छोइएर पनि नछोइने, देखिएर पनि नदेखिने । नदेखिनु तर अनुभूति हुनु आकाशको धर्म हो । जीवनको रङ्गले आकाश रङ्गिएको छ । आकाशलाई रङ्ग दिने शक्ति जीवनले पाएको छ ।

सबै प्रकारका आधारहरू मेटिएपछि लिने आधार आकाश बनेको छ । माटो, पानी, आगो अनि वायुको जीवनको पनि पछिल्लो निष्कर्ष आकाश नै हो । यिनै तत्वहरूले आकाशलाई अस्पृश्य, निर्गुण, निराकार, निरपेक्ष रहन दिँदैनन् । अरू केही नभए पनि साक्षी बस्ने अपराध आकाशले गरिरहेकै छ । आकाशलाई जीवन जगत्का बाछिटाहरूले स्वच्छ रहन दिँदैनन् । आकाश विचार पनि हो, आकाश दर्शन हो केही नभइकन पनि सबै हुनु आकाशको बाध्यता पनि हो ।

हामीले आकाशमा कहिले कालो मुस्लो बादल मडारिएको देखेका छौँ । कहिले स्वच्छ, सफा, नीलगगन बनेको छ आकाश । सूर्यको रापले आकाश रातो भएर तप तप आगो चुहिने बनेको, घनघोर वर्षाको कालो बादल भएर आकाश धर्तीमा वर्षिएको अनि, चन्द्रमाको शीतल प्रकाशमा सुन्दर अनि सुमोहक भएको पनि देखेका छौं । तर यी कुनै पनि रूप र रङ्ग आकाशका आफ्ना तत्व होइनन् । अरू नै तत्वले आकाशको भद्रतालाई अपमान गरेका छन् । आकाशलाई आफ्नो बनाएका छन् । तर के ती सबै अवस्था आकाशका आफ्ना कुरा हुन् ? होइनन् । त्यस्तै विचारको आकाशले धेरै खाले राम्रा नराम्रा अवस्थाहरू बेहोरेको छ आकाशले झैँ । ज्यादै कुरूप अनुहार, घटना, दृश्य र विचारहरूको । गतिशीलता, परिवर्तनशीलता, सत्यको भ्रान्ति, शून्यबोध (लीलासूत्र ४) कथामा प्रकट भएको छ ।

लेखक चौबाटोमा :
आजका लेखक, विचारक, राजनीतिकर्मी सबै निरुद्देश्य यात्राको चौबाटोमा उभिएका छन् । उनीहरूलाई सही गन्तव्य, उचित कर्तव्यको ज्ञान र दिशाबोध छैन । कहिले पूर्वको हावामा कहिले पश्चिमको हावामा आफ्ना मनगढन्ते स्वार्थसिद्ध मात्र गरिरहेका छन् । वास्तविक रूपमा उनीहरूले न क्रान्तिको, न गन्तव्यको, न साहित्यको नै बाटो समाइरहेका छन् । उनीहरू त केवल समयको गतिमा हुत्तिएका मात्र छन् । लेखकहरू अभैm पनि मन्त्रीहरूकै कथा लेख्दैछन् । उनीहरू, समाज, जीवन र वास्तविक मानिसका कथाहरू लेखिरहेका छैनन् । वास्तविक जनता वा नागरिकहरू अहिले पनि यी कसैका नजरमा पर्न सकेका छैनन् ।

कथाकार शर्माका कथाहरू पनि विचार प्रयोग र शैली दुई दृष्टिले विश्लेष्य र विवेच्य छन् । लीला र उत्तरआधुनिकताका विषय र प्रविधिमा शर्माका कथाहरू संरचित छन् । प्रयोगशीलता शर्माका कथाहरूको विशिष्ट पहिचान हो । बौद्धिकता, वैचारिकता, नवीनता, समसामयिकता, शर्माका कथागत विशेषताहरू हुन् ।

उनका पीडा र व्यथाका कथा आजसम्म लेखिएका छैनन् । उनीहरूलाई कथित राजनीतिसँग पनि कुनै सरोकार छैन । कसैलाई ठूलो साहित्यकार बनाउन आफूलाई पात्र बनाउन उनीहरू राजी छैनन् । तर, राजनीति पनि तिनै विपन्नहरूको उत्थानका निम्ति गरिनुपर्ने हो अनि साहित्य पनि तिनैको उत्थानको निम्ति हुनुपर्ने हो । तर विडम्बना कुर्सीको खेलमा पात्र फेर्दै नयाँ नयाँ नाटक मञ्चन गर्दै जाने क्रम र रघुवीर मन्त्रीहरूकै कथा लेख्ने काममा आजका राजनीतिकर्मी र लेखकहरू रमिरहेको विडम्बना पूर्ण यथार्थको व्यङ्ग्यात्मक, प्रयोगशील प्रस्तुति यस कथामा भएको छ । भावना, विचारणा, क्रिया लीला छन् (लीलासूत्र ४) यहाँ प्रतिबिम्बित छ ।

निष्कर्ष :
माथिका केही मूलभूत प्रवृत्तिका अतिरिक्त मनोवैज्ञानिकता, कल्पनाशीलता, क्षणिकता, अवतारबोध, वस्तुता, तात्कालिकता, अन्धता, विपर्यास, अन्तरविधात्मकता, अधि आख्यानात्मकता, मिथकीयता, अस्तित्वबोध, नारीवादी चिन्तन, स्वैरकल्पना, बौद्धिकता, प्रयोगात्मकता समसामयिकता आदि लीलाबोधी र उत्तरआधुनिकतावादी धेरै प्रवृत्ति र विशेषताहरू कथाकार शर्माका कथाहरूमा प्राप्त गर्न सकिन्छ । भत्किंदै किल्लाहरूमा उपर्युक्त प्रवृत्ति र विशेषताहरू विद्यमान रहेका छन् । यी धेरै तत्त्वहरू लीलालेखनको बीस सूत्रीय घोषणापत्रमा सङ्केत गरिएका छन् । यी तत्त्वहरूलाई सिर्जनामा कसरी अवतरण गराउने भन्ने जिज्ञासाको उत्तरस्वरूप कठपुतलीको मन कथा सङ्ग्रहको विपठन र विनिर्माण गरिएको हो ।

लीलाबोध दर्शनमा जस्तो सशक्त बनेर सिर्जनामा अझै आउन नसकेको हो कि ? भन्ने जिज्ञासा भने अझै विद्यमान छ । कठपुतलीको मन अनि उत्तरवर्ती सिर्जनाहरूमा यी तत्त्वहरूको यथासम्भव प्रयोगको अभ्यास गरिंदै आएको छ । कथाकार शर्माका कथाहरू पनि विचार प्रयोग र शैली दुई दृष्टिले विश्लेष्य र विवेच्य छन् । लीला र उत्तरआधुनिकताका विषय र प्रविधिमा शर्माका कथाहरू संरचित छन् । प्रयोगशीलता शर्माका कथाहरूको विशिष्ट पहिचान हो । बौद्धिकता, वैचारिकता, नवीनता, समसामयिकता, शर्माका कथागत विशेषता हुन् । उत्तरआधुनिक प्रविधिबाट यी कथाहरूको विवेचना हुनसक्ने धेरै सम्भावना छन् ।

यो समालोचना लीलाबोधी मान्यतामा केन्द्रित भएर गरिएको छ । लीला समालोचनाको सम्भावनालाई यो समालोचनामा प्रस्ताव गरिएको छ । भोलिका दिनमा यसमाथि थप स्पष्टता आउँदै जानेछ । राईले भने जस्तै लीला सिद्धान्तमा केन्द्रित रहेर सिर्जनामा, विचारमाझैँ समालोचनामा लीलादर्शन र सिद्धान्तलाई प्रयोग गर्न सकिन्छ कि ! भनेर एउटा युक्ति समाइएको छ । यसमाथिको बहसको थालनी भएको छ । यस समालोचनात्मक आलेखमा माथि सिद्धान्तमै सङ्केत गरिएका विधातत्वभित्र कथाहरूका प्रकीर्ण विचारहरूलाई राख्न सकिन्थ्यो ।
त्यसो गर्दा कथाको सारसंक्षेप आउन नसक्ने भएकाले कथाका विचारहरूलाई स्वतन्त्र एवं छुट्टाछुट्टै राखिएको छ । विधातत्व र सैद्धान्तिक अवधारणा माथिको बहस पनि सँगसँगै चलिरहेको अवस्थामा लीलाबोधी समालोचनाको प्रारूप निर्माण गर्ने सम्भवतः यो प्रारम्भिक प्रयास हो । कथाकार शर्मा र भत्किंदै किल्लाहरूभित्र अभिव्यक्त कथागत वैचारिकीले लीलाबोधी दर्शनको मार्ग प्रशस्त गर्ने अभियानमा थप ऊर्जा प्रदान गर्ने विश्वास लिन सकिन्छ ।

सन्दर्भसूची :
उप्रेती, सञ्जीव (२०६८),
सिद्धान्तका कुरा, काठमाडौंः अक्षर क्रियसन्स नेपाल) ।
गौतम, कृष्ण (२०६४), उत्तरआधुनिक जिज्ञासा, काठमाडौं : भृकुटी एकेडेमिक पब्लिकेसन्स ।
(२०६७), उत्तरआधुनिक संवाद, काठमाडौं : भृकुटी एकेडेमिक पब्लिकेसन्स ।
चालिसे, नारायण (२०७३), लीलाबोधी सिद्धान्त र अन्य नेपाली समालोचना, युएसएः शिक्षा शर्मा ।
धरावासी, कृष्ण (२०५३), लीलालेखन, काठमाडौं : दुवसु क्षेत्री ।
(२०७३), लीलाबोधी, काठमाडौं : पैरबी बुक हाउस ।
नेपाल, रत्नमणि (सम्पा.), (२०५६), लीलादृष्टि, काठमाडौंः गणेशप्रसाद, नयराज नेपाल ।
(२०५८), लीलाधारणा र कथाहरू, काठमाडौं : प्रशान्ति प्रकाशन ।
भट्टराई, गोविन्दराज (२०६४), उत्तरआधुनिक विमर्श, काठमाडौंः मोडर्न बुक्स ।
राई, इन्द्रबहादुर (सन् १९९४), अर्थहरूको पछिल्तिर, सिकिमः जनपक्ष प्रकाशन ।
भ्रान्तिहरू र लीलालेखन मात्र ।
शर्मा, दीनबन्धु (२०७२), भत्किँंदै किल्लाहरू, काठमाडौं : सिम्फोनी पब्लिकेसन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?