तोकिएको समयमा औषधी ढुवानी नगरे कारवाही गर्न माग

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 3 mins

भोजपुर । सरकारी स्तरमा संचालित भोजपुर जिल्ला अस्पतालमा औषधी अभावको गुनासो आउन थालेपछि सो समस्या आउन नदिन सरोकारवाला निकायहरु बिच छलफल गरिएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख तथा अस्पताल बिकास समितिका अध्यक्ष कमल थुलुङ राईको अध्यक्षतामा बिहिवार बसेको बैठकमा अस्पताल संचालनमा देखिएका समस्या समाधानका लागि सम्वन्धित निकायहरु चनाखो हुनु पर्ने आवाज उठेको हो ।

दुर्गम जिल्ला भएकाले औषधीको अभाब हुन नदिनका लागि मौज्दात सकिनु भन्दा अगाडी नै पुन ढुवानी हुने ब्यवस्था गरिनु पर्ने अस्पाताल बिकास समितिका अध्यक्ष राईले बताउनुभयो । सिटामोल जस्ता सामान्य औषधी पनि नागरिकले पाउन नसकेको गुनासो आफुसँग पनि आएको बताउँदै बिकास समितिका अध्यक्ष राईले तोकिएको समयमा ढुवानी नगर्ने आपूर्तिकर्तालाई कारवाहीको दायरामा ल्याउनु पर्ने बताउनुभयो ।

सोक्रममा जिल्ला अस्पताललाई आवश्यक पर्ने औषधी जन्य सामाग्रीहरु समयमा आपूर्तिकर्ताले ढुवानी नगर्दा समस्या देखिने गरेको जिल्ला अस्पताल भोजपुरका प्रमुख डाक्टर शिवजी रिजालले जानकारी गराउनु भएको थियो । बर्षमा २ पटक औषधी खरिद हुने र टेण्डर अनुसारको औषधीहरु समयमा नआउँदा समस्या देखिने गरेको डा. रिजालले बताउनुभयो । केही समय अगाडि निशुल्करुपमा बाँडने औषधीहरु सकिएको गुनासो आएपछि स्वास्थ्य सेवा बिभागबाट ल्याएर भएपनि तत्कालका लागि समस्या समाधान गरिएको थियो ।

भोजपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले अस्पतालमा देखिएका समस्याका बिषयमा अस्पताल प्रशासनले पनि खवरदारी गर्नु पर्ने बताउनुभयो । समितिको बैठकमा कर्मचारी बिदा तथा ब्यवस्थापन, डेण्टल चिकित्सक करार नियुक्ती, एम्बुलेन्स सेवा, बिद्युत लाइन जडान लगायतका बिषयमा पनि छलफल गरिएकोथियो ।

जिल्ला अस्पतालमा भएको एम्बुलेन्स सेवा प्रभावकारी बनाउने बिषयमा पनि बैठकमा छलफल भएको थियो । उद्योग बाणिज्य संघ भोजपुरका अध्यक्ष कर्णबहादुर मोक्तानले कार्यविधि विना एम्बुलेन्स संचालन हुदाँ प्रभावकारी नहुने भएकाले चालकलाई समेत जवाफदेही बनाउन कार्यबिधी बनाउनु पर्ने बताउनुभयो । बैठकमा अस्पताल बिकास समिति सदस्य, अस्तपताल प्रशासनका कर्मचारी, पत्रकार लगाएतको सहभागिता रहेको थियो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?