विश्व बैंकद्वारा मौद्रिक नीतिको प्रशंसा

Read Time = 3 mins

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र विश्व बैंक, दक्षिण एसियाका उपाध्यक्ष मार्टिन रेजरबीच शुक्रबार भेटवार्ता भएको छ । गभर्नरको कार्यालयमा भएको भेटवार्तामा नेपालको वर्तमान आर्थिक तथा वित्तीय स्थिति, वित्तीय क्षेत्रका चुनौती, विद्युतीय भुक्तानी विकास र आगामी आर्थिक कार्यदिशाका विषयमा छलफल भएको गभर्नरको कार्यालयले जनाएको छ । गभर्नर अधिकारीले नेपालको वर्तमान वित्तीय स्थितिसँगै वित्तीय समावेशीकण, नियामकीय र सुपरीवेक्षकीय सुधारका प्रयास, विद्युतीय भुक्तानी प्रणाली विकासलगायत राष्ट्र बैंकका नीतिगत प्राथमिकताबारे जानकारी गराउनुभयो ।

उपाध्यक्ष रेजरले राष्ट्र बैंकले अवलम्बन गरेको मौद्रिक नीति र अन्य नीतिगत व्यवस्थाको प्रशंसा गर्दै बाहृय क्षेत्र र तरलता अवस्थामा देखिएको सुधारलाई विश्व बैंकले सकारात्मकरूपमा लिएको बताउनुभयो । नेपालको समग्र वित्तीय क्षेत्र सुधारसँगै ग्रिन फाइनान्स र लघुवित्तको प्रवद्र्धन, विद्युतीय भुक्तानीको प्रवद्र्धन तथा सम्पत्ति शुद्धीकरण निवारणमा आवश्यक सहयोग गर्न विश्व बैंक प्रतिबद्ध रहेको उहाँको भनाइ थियो ।

मौद्रिक नीति र वित्त नीतिको समन्वय, कर्जाको स्थिति, आर्थिक वृद्धिलगायतका विषयमा समेत छलफल भएको बताइएको छ । सो अवसरमा डेपुटी गभर्नरद्वय डा. नीलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्र, विश्व बैंकका नेपालस्थित कन्ट्री डाइरेक्टर फारिस हदाद जेर्वोस, अपरेसन्स म्यानेजर लादा स्ट्रेलकोभा, अन्तर्राष्ट्रिय वित्त निगमका नेपाल प्रतिनिधि बाबाकर सेदिख फायलगायतको उपस्थिति रहेको गभर्नरको कार्यालयद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?