वैदेशिक रोजगारीका नाममा झुठो विज्ञापन

दुई म्यानपावर निलम्बनमा, नेपालका प्रतिष्ठित डाक्टरको पनि विदेशमा रोजगारी मोह

रमेश भारती
Read Time = 6 mins

काठमाडौं । पूर्वश्रम स्वीकृति नै नलिई सामाजिक सञ्जालमार्फत झुटो रोजगारीको विज्ञापन गर्नुका साथै अन्य गैरकानुनी गतिविधि गर्दै आएका दुई म्यानपावरलाई वैदेशिक रोजगार विभागले निलम्बन गरेको छ । स्वीकृतिबिना सामाजिक सञ्जाल फेसबुकमार्फत नेपाली डाक्टरहरूलाई कुवेतको वैदेशिक रोजगारीमा पठाइदिने भन्दै झुटो विज्ञापन गरेको प्रमाण भेटिएपछि ओमेगा इन्टरनेसनल प्रालिलाई विभागले निलम्बन गरेको हो ।

व्यक्तिगत रूपमा दक्ष र सीपयुक्त श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने गरेको पाइएपछि ओक्सन इन्टरनेसनल प्रालि अर्थात् अभतार ह्युमन रिसोर्स प्रालिलाई पनि विभागले निलम्बन गरेको जनाएको छ । कुनै पनि म्यानपावर कम्पनीले वैदेशिक रोजगारीमा कामदार पठाउने प्रक्रिया सुरु गर्नुअघि पूर्व-स्वीकृति लिनपछि मात्र विज्ञापन गर्न पाउने वैदेशिक रोजगार ऐनमा भएको वैदेशिक रोजगार विभागका निर्देशक तथा सूचना अधिकारी कविराज उप्रेतीले जानकारी दिनुभयो ।

पछिल्लो समय विभिन्न सामाजिक सञ्जालका माध्यममार्फत वैदेशिक रोजगारीको झुटो र भ्रामक विज्ञापन गर्ने र मान्छेहरू ठग्ने क्रम बढेको उहाँले बताउनुभयो । ‘झुटो विज्ञापन गरेर केही म्यानपावर, कन्सल्टेन्सी र ट्राभल कम्पनीले वैदेशिक रोजगारीका नाममा आर्थिक ठगी गरिरहेका छन् । त्यही भएर विभागले केही म्यानपावर खोरजी गरेको छ । विभागले अन्य केही म्यानपावर कम्पनीका बारेमा पनि छानविन गरिरहेको छ ।’ उहाँले भन्नुभयो, ‘कानुनविपरीत सामाजिक सञ्जालमार्फत वैदेशिक रोजगारीको विज्ञापनका साथै अन्य गतिविधि नगर्न विभागले सबै म्यानपावर कम्पनीहरूलाई आग्रह गर्दै आएको छ । वैदेशिक रोजगारीमा जान इच्छुकहरूलाई सामाजिक सञ्जालमा आउने वैदेशिक रोजगारीका विज्ञापनमा विश्वास नगर्न अनुरोध गरेको छ ।’

सीपयुक्त व्यक्तिहरूलाई व्यक्तिगत रूपमा वैदेशिक रोजगारीमा पठाउनका लागि यो म्यानपावरले आफ्नो संस्थाको भवनभित्र अन्य दुईवटा संस्था राखी छेउकै भवनमा इजुकेसनल इन्टिच्युट एण्ड कन्सल्टेन्सीसमेत राखेर वर्किङ भिसाको प्रलोभन देखाउने गरेको पाइएको विभागले जनाएको छ । सामाजिक सञ्जालमार्फत विभागको स्वीकृतिबिनै वैदेशिक रोजगारीको विज्ञापन गर्ने दुई म्यानपावरलाई विभागले दुई लाख रुपैयाँ जरिवाना गरेको थियो ।

दुई सातामा पाँच सय बढी डाक्टरको आवेदन
ओमेगा इन्टरनेसनल प्रालिले कुवेतको रोजगारीमा डाक्टर पठाउने झुटो विज्ञापन गरेको थियो । उक्त विज्ञापनमा पाँच सय जनाभन्दा बढी डाक्टरको आवेदन परेको पाइएको विभागले जनाएको छ । डाक्टरले आफ्नो अनुभवसहित व्यक्तिगत विवरण पठाएको प्रमाण भेटाएको विभागका एक कर्मचारीले जानकारी दिनुभयो । ती कर्मचारीका अनुसार केही चर्चित हस्पिटलमा काम गर्दै आएका राम्रै डाक्टरले पनि आवेदन दिएको पाइयो । १० लाखमाथि तलब सुविधा भन्दै गरिएको विज्ञापनमा सरकारीदेखि निजी अस्पतालमा काम गर्ने र अध्ययन सकेर बसेका डाक्टरको पनि कुवेतको स्वास्थ्य क्षेत्रको रोजगारीमा निवेदनसहित आवेदन परेकोे ती कर्मचारीको भनाइ छ । केही दिन अगाडि सामाजिक सञ्जालमा ९७५ जना नेपाली विशेषज्ञ डाक्टरलाई कम्तीमा सात लाखदेखि १२ लाख ७० हजार रुपैयाँसम्म तलब दिने भन्दै एउटा विज्ञापन सार्वजनिक भएको थियो । यसका लागि सबै अनलाइनबाटै अन्तर्वार्ता हुने भनेको थियो । दिनको आठ घण्टा काम, महिनामा २६ दिन काम गर्नुपर्ने भन्ने थियो । तीन वर्षको कार्यअनुभव गरेका, एमबिबिए तथा एमडी डाक्टरको लागि विज्ञापन गरिएको थियो ।

उक्त विज्ञापन सार्वजनिक भएसँगै धेरै नेपाली डाक्टरले चासो देखाए । कतिपयले थोरैको संख्यामा रहेको नेपाली विशेषज्ञ डाक्टर विदेश पलायन हुने भन्दै चिन्ता पनि व्यक्त गरे । कुवेतको एक निजी अस्पतालमा रोजगारीका लागि भन्दै गरिएको विज्ञापनलाई लिएर सन्देह सिर्जना भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?