नेपाल आर्मी च्याम्पियन

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाल आर्मी ४४औँ राष्ट्रिय एथलेटिक्स प्रतियोगिताको टिम च्याम्पियन बनेको छ । आर्मीले १८ स्वर्ण, १२ रजत र पाँच कास्य जित्दै टिम च्याम्पियनको उपाधि उचालेको हो । नेपाल एथलेटिक्स संघको आयोजनामा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतियोगितामा एपिएफ क्लब नौ स्वर्ण, छ रजत र आठ कास्यसाथ दोस्रो भयो । तेस्रो स्थानको बागमती प्रदेशले तीन स्वर्ण, दुई रजत र छ कास्य हात पार्‍यो ।

३२ स्वर्णका लागि भएको प्रतिस्पर्धामा बाँकी दुई स्वर्ण नेपाल प्रहरी क्लबले जित्यो । प्रहरीले तीन रजत र चार कास्य पनि हासिल ग¥यो । सात प्रदेश र तीन विभागीय गरी १० टिम सहभागी प्रतियोगितामा ६ टिम स्वर्णविहीन रहे ।

प्रतियोगिताको पुरुषमा एपिएफका शिवराज पार्की तथा महिलामा च्याम्पियन टोली आर्मीकी जयरानी थारु उत्कृष्ट खेलाडी घोषित हुनुभयो । शिवराजले तीन स्वर्ण र एक रजत जित्नुभयो । जयरानीले दुई कीर्तिमानीसहित चार स्वर्ण कब्जा गर्नुभयो । जयरानीको नाममा थप एक रजत पनि रहृयो । जयरानीले १०० र ४०० मिटर हर्डल्समा कीर्तिमान रच्नुभएको थियो ।

प्रतियोगितामा कुल तीन राष्ट्रिय कीर्तिमान बन्यो । थप एक कीर्तिमान आर्मीका जीवन थारुले पुरुष ११० मिटर हर्डल्समा बनाउनुभएको थियो । जीवनले एक कीर्तिमानीसहित दुई स्वर्ण र उत्ति नै रजत हात पार्नुभयो । प्रत्येक राष्ट्रिय कीर्तिमानका लागि पाँच हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।

विजेतालाई युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मी, राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङ, नेपाल एथलेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाहलगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो । तीनदिने प्रतियोगितामा २४० खेलाडीको सहभागिता रहेको आयोजक संघका सचिव आरके विष्टले जनाउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?