धान रोपाइँ र दहीचिउरा

Read Time = 10 mins

✍️ गीता अधिकारी

‘धानबालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ भन्ने नाराका साथ आज १९औँ राष्ट्रिय धान तथा रोपाइँ महोत्सवको आयोजना गरिँदै छ । गत वर्ष ‘धान उत्पादनमा वृद्धि ः खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि’ भन्ने नारा रहेको थियो । आज विविध कार्यक्रमबीच यो दिवस मनाइँदै छ ।

कृषिप्रधान देश भनेर चिनिएको हाम्रो देशमा हरेक वर्ष मध्यअसार तथा असार पन्ध्र्र्रलाई धानदिवसका रूपमा मनाउने गरिन्छ । सरकारले विविध कार्यक्रमसहित देशका सबै जिल्लामा यो दिवस मनाउँदै छ । उसो त असार पन्ध्रलाई नेपालमा किसानहरूले विशेष दिन ‘असार पन्ध्र’ का रूपमा मनाउँदै आएका छन् । कृषिक्षेत्रको प्रवद्र्धन तथा किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले सरकारले २०६० सालदेखि हरेक वर्ष असार पन्ध्रलाई धान दिवसका रूपमा मनाउँदै आएको हो ।

धान हाम्रो प्रमुख खाद्यबाली हो । नेपालमा सबैभन्दा धेरै खेती गरिने बालीका रूपमा धान पहिलो स्थानमा पर्छ । राष्ट्रको कुल गार्हस्थ्य उत्पादनमा ३८ देखि ४० प्रतिशतसम्म योगदान रहेको कृषिक्षेत्रमा असारको रोपाइँले ठूलो महत्व राख्छ । कृषिप्रधान देश नेपालमा प्रमुख खाद्यान्न धानबालीको उत्पादनमा हुने घटबढले अर्थतन्त्रमा समेत त्यसै अनुसार प्रभाव पार्ने भएकाले रोपाइँको ठूलो महत्व रहिआएको हो ।

खेतीका लागि उपयुक्त मौसम सुरु भएको दिन असार पन्ध्रलाई रोपाइँ सुरु भएको दिनका रूपमा दहीचिउरा खाएर मनाउने हाम्रो परम्परा रहिआएको छ । रोपाइँ गरी दहीचिउरा खानाले शरीरमा स्फूर्ति उत्पन्न हुने जनविश्वासमा खेतीपाती नहुनेले अरूको खेतमा वा आफ्नै करेसाबारीमा रोपाइँ गरेर हिलो छ्यापाछ्याप गरी रमाइलो गर्ने गर्दछन् । पछिल्लो समय पर्यटकलाई यो अवसरमा संलग्न गराउन थालिएको छ । पोखरा, चितवनलगायत स्थानमा विशेष समारोहको आयोजना गरी धानदिवस मनाउँदै रमाइलो गर्ने चलन बढ्दै गएको छ । काठमाडौं उपत्यकामा धान रोप्ने नजिकका स्थानहरूमा पुगेर युवायुवतीले रमाइलो गर्ने गरेका छन् ।

सिँचाइ सुविधा सबै ठाउँमा उपलब्ध नभएकाले बाँकी क्षेत्र मनसुनमै भर पर्नुपर्ने स्थिति छ । त्यसैले मानो रोपेर मुरी फलाउने यो समयमा किसान आफ्ना अन्य काम छाडेर भए पनि असारे भेल छोपी धान रोप्न व्यस्त हुन्छन् । असार महिनाभित्रै रोपाइँ गर्न नपाइएमा धान पाक्ने सम्भावना कम हुनाले पनि रोपाइँमा व्यस्त हुनुपरेको हो । साता-पन्ध्र दिन काम गरेर वर्षभर खाने बाली लगाउन कामको चटारो भएकाले वास्तवमा सबै किसानका लागि असारको पन्ध्र विशेष महत्वको हुन्छ ।

लाशलाई एकछिन घुमले छोपेर भए पनि असारे भेल छोप्नुपर्दछ भन्ने बुढापाकाको भनाइले पनि यसको महत्व दर्शाउँछ । त्यस्तै ‘असारमा डुल्ने पँजनीमा भुल्ने’ अर्थात् असारमा काम गर्ने बेलामा त्यसै डुल्ने र सरकारको काम इमानदारीपूर्वक नगरी पदोन्नति अर्थात् पजनीमा नपर्ने व्यक्तिले गरी खाँदैन भन्ने बुढापाकाको अर्को उखानले असारको महत्वलाई पुष्टि गर्छ । रोपाइँ कार्य मुलुकको सामाजिक, धार्मिक र सांस्कृतिक पक्षसँग पनि निकटरूपमा जोडिएको छ । रोपाइँको पहिलो दिन देवतालाई बिउ चढाई परिपूर्ण, भरिपूर्णका लागि अन्नपूर्णको आराधना गरी रोपाइँको श्रीगणेश गरिन्छ ।

रोपाइँमा धेरै खेतालाको आवश्यक पर्ने भएकाले गाउँघरमा पालैपालो पर्मद्वारा रोपाइँ गरिने भएकाले यसले सामाजिक एकता र सद्भाव बढाउन ठूलो टेवा पु¥याउँदै आएको छ । कतै-कतै ठूला खेती भएकाले रोपाइँ गर्दा बेठी लगाउने अर्थात् पञ्चेबाजा बजाई नाचगान गर्ने, भोज खुवाउने तथा खेतालालाई मसला र रुमाल बाँड्ने प्रचलन छ ।

दोहोरी रोपाइँ गीतको रन्कोमा रोपाइँ गर्नु असारको अर्को आकर्षण हो । खेतका गह्रामा लाठे र रोपाहारहरू असारे गीतको भाकासँगै रोपाइँमा व्यस्त हुन्छन् । लाठे र बाउसेहरूलाई आली जोर्ने र मेलो बनाउन चटारो छ भने कोरीबाटी चिटिक्क परेर मेलामा झरेका रोपाहारहरू कोही ब्याडमा बिउ काढ्ने, कोही पखाल्ने र कोही मेलो पैट्याउने तर्खरमा जुटेका हुन्छन् ।

किसानका लागि एउटा उत्सव हो यो असार पन्ध्र । यस वर्ष समयअगावै मनसुन सुरु भएकाले रोपाइँको माचोमाच रहेको छ । चालु आर्थिक वर्षमा नेपालमा १४ लाख ७३ हेक्टर जमिनमा ५६ लाख २१ हजार मेट्रिकटन धान उत्पादन भएको थियो । जुन अघिल्लो वर्षको तुलनामा धानको क्षेत्रफल र उत्पादनमा क्रमशः एक प्रतिशत र १.३ प्रतिशतले वृद्धि भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयको तथ्यांक छ । उक्त उत्पादनले नेपालको माग धान्ने भए पनि उपभोक्तामा खाने बानी परिवर्तनका कारण चामल आयात हुने गरेको मन्त्रालयको भनाइ छ ।
आगामी दिन धान उत्पादन वृद्धिका कार्यक्रमसँगै उपभोक्तामा खाने बानीको परिवर्तनका लागि पोषणसम्बन्धी सचेतना कार्यक्रमसमेत सञ्चालन गरिने मन्त्रालयले जनाएको छ । सरकारले आगामी पाँच वर्षभित्र नेपाललाई चामलमा आत्मनिर्भर बनाउने घोषणा गरेको छ । विगत वर्षमा धानमा आत्मनिर्भर घोषणाको कार्यान्वयन हुन नसकेको भए पनि अहिले मन्त्रालय योजनाबद्ध कार्यक्रमका साथ अघि बढेकाले अब त्यस्तो नहुने बताइन्छ । हाम्रो भान्सामा पाक्ने चामल, तरकारी, दाल, पिठो, माछा, मासु र फलफूल गरी अर्बौंको खाद्यान्न आयात गरिन्छ ।

यसलाई न्यूनीकरण गर्न र युवाशक्तिलाई देशमै पसिना बगाउन नलगाएसम्म जस्ता दिवस मनाए यी दिवसमै सीमित हुने निश्चित छ । कृषिप्रधान देश जहाँको मुख्य उत्पादन धान, हाम्रो बिहानबेलुकाको खानाका रूपमा भान्सामा आउने चामलमा परनिर्भरताले हामीलाई कहाँ पु¥याउला ? धानलगायत प्रमुख बालीमा आत्मनिर्भरताको अवधारणाअनुुसार नेपाल सरकारले आफ्ना कामहरू गर्न आज धानदिवस मनाइरहनु जरुरी छ । यसमा प्रविधि, बिउबिजनलगायत विविध विषयमा ध्यान दिन नसक्दा आयात प्रतिस्थापन हुन नसकेको हाम्रो तितो यथार्थ हो ।

असारमा खेतमा व्यस्त हुनुपर्ने किसानहरू यतिबेला टाउकोमा हात लगाएर बस्न बाध्य छन्, सहज मलखाद उपलब्ध नहुनाले र सिँचाइका कारण । बर्सेनि मनसुनले पनि किसानलाई ठग्दै आएको छ । कि अतिवृष्टि कि अनावृष्टि । यसले सबैभन्दा बढी मर्का किसानलाई पारेको छ नै । अन्ततः उब्जनीमा पार्ने प्रभावले आमनागरिकलाई नै यसले पीडित बनाउनेछ । सिँचाइ भएका ठाउँमा रोपाइँ गर्न थालेका किसानले मल पाएका छैनन् । समग्रमा सुनका बाला फलाउने तराईक्षेत्रका किसान पीडामा छन् । अतः यसतर्फ सम्बद्ध निकायको ध्यान जानुपर्छ । त्यतिमात्र होइन, अतिवृष्टि र अनावृष्टिको सिकार भएका किसानहरूका लागि राज्यले राहतको व्यवस्था मिलाउनुपर्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?