काठमाडौं । बद्री पंगेनी र शान्ति भण्डारीको स्वरमा रहेको गीत ‘चोली फेर्ने माया’ सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमबीच शिव हमालको शब्द रचना र संगीत रहेको गीतको भिडियो सार्वजनिक गरिएको हो । सार्वजनिक समारोहमा बोल्दै गायक बद्री पंगेनीले आजभोलि गीत नहेर्ने, शेयर गरिहाल्ने परम्परा विकसित हुँदै गएकोप्रति दुःख व्यक्त गर्नुभयो ।
उहाँले एउटा सर्जकले गीत लेख्दा धेरै मिहिनेत गरेको हुने भन्दै सबैले प्रतिक्रिया दिन आग्रह गर्नुभयो । कार्यक्रममा अभिनेता पुष्प खड्काले लोक गीत नेपालको मौलिक संस्कृति र पहिचान भएको बताउनुभयो । लोकगीत चलचित्रबाट कहिल्यै टाढा नहुने उहाँको भनाइ थियो । गायक शिव हमालले चोली फेर्ने माया उत्कृष्ट कलाकारबाट भरिपूर्ण र भाग्यमानी गीत भएको जिकिर गर्नुभयो । भिडियोमा नायक पुष्पसँग गायक पंगेनी र गायिका भण्डारीले अभिनय गर्नुभएको छ । अर्जुन तिवारीको छायांकन रहेको भिडियोलाई मौसम हिमालीले निर्देशन गर्नुभएको हो ।
कार्यक्रमका प्रमुख अतिथि सडकसाधकको रूपमा परिचित प्रज्वल कुमालले पंगेनीका हरेक गीत समाजसँग जोडिएका हुने र अहिलेको गीतले पनि दर्शक श्रोताको मन जित्ने विश्वास राख्नुभयो । कार्यक्रमका सभापति राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणि गौतमले नेपाली लोकगीतको क्षेत्रमा गायक पंगेनीको योगदान अतुलनीय रहेको र अहिलेको सिर्जनाले दर्शक तथा श्रोताको मन जित्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका निवर्तमान अध्यक्ष हरिवल्लव नेपाल, गीतकार एकनारायण भण्डारी, भिडियो समीक्षक बाबुराजा केसी, सुवास रेग्मीलगायत अतिथिले आ-आफ्ना भनाइ राख्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच