दलको विकल्प भनिएका स्वतन्त्रहरूको पनि पार्टी खोल्ने मोह

हिमालय टाइम्स
Read Time = 7 mins

डिबी शर्मा/हिटा
काठमाडौं । नेपालमा पछिल्लो समय दलीय राजनीति विकृत बन्दै गएको छ । दलहरू जनमुखीभन्दा नेता-कार्यकर्तामुखी भएपछि वितृष्णा पनि बढ्दै गएको देखिन्छ । दलहरूप्रतिको वितृष्णा बेलाबेलामा चुनावमार्फत पनि पोखिने गरेको छ । वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा केही प्रमुख शहरमा दलका उम्मेदवार मतदाताको रोजाइमा परेनन् । काठमाडौं, धरान, धनगढीलगायत शहरमा स्वतन्त्रहरूले बाजी मारे । यसले पनि दलहरूप्रति जनतामा रहेको वितृष्णा वा अविश्वास झल्किन्छ । स्थानीय चुनावमा आएको परिणामले उत्साहित स्वतन्त्र उम्मेदवारहरू आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पनि उम्मेदवार बन्ने होडबाजीमा छन् । एकपछि अर्को गरी स्वतन्त्रहरूले उम्मेदवारी घोषणा गरिरहेका छन् ।

तर, अब स्वतन्त्रहरूले पनि दल खोल्ने भएका छन् । दलको विकल्प दल नै भएको भन्दै उनीहरूले पनि दल खोल्ने तयारी गरेका हुन् । शनिबार ललितपुरको सानेपामा विशेष भेलाको आयोजना गरी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरूको छुट्टै दल गठन गर्ने विषयमा केन्द्रित भएर छलफल सुरु गरेका छन् ।

भेलालाई ‘प्रथम राष्ट्रिय विशेष भेला-२०७९’ भनिएको छ । अभियानका संयोजक डम्बर साहुले ‘राजनीतिमा शुद्धीकरण : मिसन-१६५’ नाम दिइएको अवधारणापत्र पेश गर्नुभएको छ । ‘अहिले विकल्पका रूपमा आउन खोजेका नयाँ राजनीतिक दलहरू आपसमा मिल्न तयार छन् कि छैनन् ? उनीहरूको राजनीतिक लाइन, नीति र नेतृत्व इमानदार र सही छ कि छैन ?’ प्रतिवेदनमा भनिएको छ, ‘उनीहरू सही नीति र व्यवहारमा उभिन्छन् भने संघीय चुनावको मिति घोषणा हुनुपूर्व नै त्यस्ता राजनीतिक दलहरूलाई आपसमा एकीकरण गराउने प्रयास हामी स्वतन्त्र अभियन्ताहरूले गरौँ ।’ एउटै वैकल्पिक शक्ति बनेको खण्डमा त्यसलाई स्वतन्त्र अभियानका तर्फबाट समानुपातिकमा सघाउन सकिने बताइएको छ । अहिले करिब तीन दर्जन स्वतन्त्र अभियन्ताहरू जोडिएको बताइएको छ ।

दलको विकल्प दल नै हो : सायमी
आगामी संसदीय चुनावमा दल नै गठन गरेर जाने विषयमा छलफल गर्न विशेष भेला आयोजना गरिएको काठमाडौं महानगरपालिकाका स्वतन्त्रतर्फ मेयरका उम्मेदवार बन्नुभएका सुमन सायमीले बताउनुभयो । दल ठीक छैन भन्ने जनतामा भ्रम परेको उल्लेख गर्दै त्यसलाई हटाउन र संसद्मा कानुन निर्माणका लागि बहुमत आवश्यक पर्ने भएकाले एउटा दल गठन गरेर निर्वाचनमा जाने विषयमा देशभरका स्वतन्त्र उम्मेदवारहरूबीच छलफल सुरु गरिएको उहाँले बताउनुभयो । ‘संसदीय चुनाव भनेको नीति निर्माण गर्ने ठाउँ हो । त्यहाँ बहुमतको कदर हुन्छ । एक व्यक्तिले कानुन बनाउन सक्दैन,’ उहाँले भन्नुभयो, ‘त्यसकारण दलको विकल्प दल नै हो । त्यसको आवश्यक्ता छ । दल ठिक छैन भन्ने जनतामा रहेको भ्रम हटाउन जरुरी छ ।’ सत्ता सञ्चालनमा रहेका राजनीतिक दलको नेतृत्व ठीक नभएकाले जनतामा वितृष्णा पैदा भएको उल्लेख गर्दै सायमीले त्यसमा गढेको त्यो धारणालाई चिर्नुपर्ने बताउनुभयो ।

नयाँ विचारसहितको एउटा दलको आवश्यकता छ : श्रेष्ठ
प्रदेश र प्रतिनिधिसभा निर्वाचनमामा स्वतन्त्रहरूको पनि एउटा दलको आवश्यकता छ भन्ने निष्कर्षका साथ विशेष भेलामा सहभागी भएको स्वतन्त्र उम्मेदवार रवीन्द्रकुमार श्रेष्ठले बताउनुभयो । उहाँले प्रदेश र संघको निर्वाचनमा अनिवार्य दल आवश्यक पर्ने भएकाले भेलाले यस विषयमा छलफल गरेर निष्कर्ष निकाल्ने बताउनुभयो । ‘प्रदेश र संघको निर्वाचनमा नयाँ विचारसहितको एउटा दलको आवश्यक्ता छ,’ उहाँले भन्नुभयो, ‘देशको समस्या यो हो र यसरी निकास दिन सकिन्छ भन्ने विचारसहितका नयाँ दल चाहिन्छ भन्ने मेरो विचार छ । प्रदेश र संघको निर्वाचनमा अनिवार्य छ दल ।’

स्नातक उत्तीर्ण र ६८ वर्ष उमेर हदबन्दी
अभियानले प्रतिनिधिसभाका १६५ वटै निर्वाचन क्षेत्र र प्रदेशसभाका ३३० वटैमा उम्मेदवार खडा गर्ने जनाएको छ । दस्तावेजमा देशभरका सबै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रमा उठ्ने स्वतन्त्र उम्मेदवारबीचमा समन्वय, सहजीकरण गरेर केन्द्रीय एलायन्सले सघाउने कुरा पनि उल्लेख छ । जसलाई मिसन-१६५ भनिएको छ । अभियानअन्तर्गत उम्मेदवार हुनका लागि १३ बुँदे मापदण्ड पनि राखिएको छ । जसमा उम्मेदवार विरासत, पैसा, इतिहासको ब्याज र सम्प्रदायका आधारमा होइन, व्यक्तिगत क्षमता, योग्यता, कार्ययोजना र नैतिकवान् चरित्रका आधारमा तय हुने पहिलो बुँदामा उल्लेख छ । दोस्रोमा ६८ वर्ष नकटेको, तेस्रोमा न्यूनतम योग्यता स्नातक तह उत्तीर्ण भएको, चौथोमा उम्मेदवारी घोषणा गर्दैताका आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्नेे, स्वच्छ चरित्र भएको/चारित्रिक दाग नलागेको, कामका बारेमा आफ्नो स्पष्ट कार्ययोजना र भिजन भएको, प्रदेश वा संघको मन्त्री दाबी गर्ने व्यक्तिले सम्बन्धित मन्त्रालयको विषयमा विज्ञता राखेको मापदण्ड राखिएको छ । यस्तै विदेशमा ग्रिनकार्ड वा पिआर नलिएको, तीन पटकभन्दा बढी मन्त्री नभएको, भ्रष्टाचारको अभियोग नलागेको मापदण्ड तोकिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?