काठमाडौं । राष्ट्रिय सभाको अध्यक्षको लागि आज (मंगलबार) निर्वाचन हुँदै छ । राष्ट्रियसभा अध्यक्षमा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका नारायण दाहाल र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसबाट युवराज शर्माले मनोनयन दर्ता गर्नुभएको छ । दाहाल राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सत्ता गठबन्धनका माओवादी, एमाले, एकीकृत समाजवादी र जसपाका संयुक्त उम्मेदवार हुनुहुन्छ । सत्ता गठबन्धनबीच फागुन २१ मा भएको आठ बुँदे सहमतिमा राष्ट्रिय सभाको अध्यक्षमा माओवादीका उम्मेदवारलाई समर्थन गर्ने उल्लेख छ ।
राष्ट्रियसभा अध्यक्ष चयनको लागि आज बिहान ११ बजेर ९ मिनेटमा राष्ट्रिय सभाको बैठक बोलाइएको छ । संघीय संसद् सचिवालयले राष्ट्रियसभा अध्यक्षको निर्वाचन हुने आजको बैठकका लागि चारवटा सम्भावित कार्यसूची तय गरेको छ । संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार अध्यक्ष पदको निर्वाचनका सम्बन्धमा आनन्दप्रसाद ढुंगानाले युवराज शर्मालाई राष्ट्रिय सभाको अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्नुहुनेछ । यस्तै, गोपीबहादुर सार्की आछामीले नारायण दाहाललाई राष्ट्रिय सभाको अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्नुहुनेछ । त्यसपछि सभाको अध्यक्षता गर्ने राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले दुवै प्रस्तावहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ । निर्वाचन कार्यक्रमअनुसार सोमबार शर्मा र दाहालले अध्यक्ष पदमा आ-आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको थियो ।
यस्तो छ दाहालको राजनीतिक पृष्ठभूमि
नारायण दाहाल मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट २०७८ चैतमा राष्ट्रियसभा सदस्य मनोनीत हुनुभएको थियो । चितवन स्थायी ठेगाना हुनुभएका दाहाल २०३१ सालदेखि पार्टीमा सक्रिय रहेको संघीय संसद् सचिवालयले प्रकाशित गरेको ‘संघीय संसद् सदस्य विवरण,२०८०’ पुस्तकमा उल्लेख छ । त्यसअघि उहाँ २०२७ देखि विद्यार्थी राजनीतिमा सक्रिय हुनुभयो । २०५७ देखि भने दाहाल माओवादी केन्द्रको केन्द्रीय सदस्य हुनुहुन्छ । माओवादी शान्ति प्रक्रियामा आएपछि २०६३ मा दाहाल अन्तरिम व्यवस्थापिका संसद् सदस्य बन्नुभएको थियो । २०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा दाहाल चितवन-३ बाट संविधानसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । यसअघि पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा उहाँ सल्लाहकारसमेत भइसक्नु भएको छ । राष्ट्रिय सभामा सत्ता गठबन्धनको बहुमत छ । राष्ट्रिय सभामा माओवादी १७ सांसदसहित पहिलो दल रहेको छ । एमाले १०, एकीकृत समाजवादी आठ र जसपा तीन गरी सत्ता गठबन्धनसँग राष्ट्रिय सभामा ३७ सांसद छन् । राष्ट्रियसभा अध्यक्षमा मनोनीत हुनका लागि ३० जना सांसद भए बहुमत पुग्छ । मनोनीत वामदेव गौतमले कहाँ भोट हाल्ने खुलाउनुभएको छैन ।
यस्तो छ शर्माको राजनीतिक पृष्ठभूमि
कांग्रेसले राष्ट्रियसभा अध्यक्षमा युवराज शर्मालाई उम्मेदवार बनाएको छ । कांग्रेससँग राष्ट्रिय सभामा १६ सांसद छन् । कृष्णप्रसाद सिटौलालाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने गरी कांग्रेसले राष्ट्रियसभा सदस्य बनाएको थियो । तर, माओवादीसँगको गठबन्धन टुटेपछि कांग्रेसले उम्मेदवारमा शर्मालाई अघि सारेको हो । ७४ वर्षीय शर्मा बाँकेका हुनुहुन्छ । २०४५ मै कांग्रेसको बाँके सभापति भएर काम गर्नुभएका उहाँ २०२८ मा कांग्रेस सभापति शेरबहादुर देउवा नेविसंघको सभापति हुँदा उपाध्यक्ष हुनुहुन्थ्यो । नेता सुशील कोइरालासँग विवादका कारण राजनीतिक रूपमा पछि पर्नुभएका उहाँ दुईपटक बागी उम्मेदवारसमेत बन्नुभएको थियो । शर्मा पाँच दलीय गठबन्धनबाट उम्मेदवार बनेर २०७८ मा राष्ट्रिय सभाको सदस्य निर्वाचित हुनुभएको थियो ।
पार्टीको हृयाङओभर हुँदैन : उम्मेदवार दाहाल
राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिनुभएका माओवादी केन्द्रका सांसद नारायण दाहालले आफू अध्यक्षमा निर्वाचित भएपछि आफ्नो काम कारबाहीमा पार्टीको हृयाङओभर नदेखिने बताउनुभएको छ । विगतमा पार्टीमा लागेकाले जिम्मेवारी पूरा गरे पनि अब राष्ट्रिय सभामा राष्ट्रिय सभाको गरिमा बचाउने गरी काम गर्नमा केन्द्रित रहने दाबी गर्दै दाहालले भन्नुभयो, ‘राष्ट्रिय सभामा पार्टीको हृयाङओभर देखिँदैन । राष्ट्रिय सभाको मर्यादा र गरिमालाई ख्याल गरेर काम कारबाही र गतिविधि गर्नुपर्छ भन्ने मेरो बुझाइ हो । पार्टीको छाया आउनु भएन । काम कारबाही, अभिव्यक्ति र व्यवहारमा फरक हुन्छ ।’ सांसद दाहालले आफूलाई माओवादी अध्यक्ष प्रचण्डको भाइ भएको नाताले मात्र हेर्ने दृष्टिकोण सही नभएको टिप्पणी गर्दै भन्नुभयो, ‘यो कुरा सुन्दा मेरा कान नै पाकिसके । अहिले दाजुभाइको नाता पर्ने हिसाबले हुन्न भन्ने हो भने युद्धमा हिँड्दा दाइ हिँडेको छ तँ नहिँड्,पाउँदैनस्, हुन्न भन्न किन नआएको ?’
राष्ट्रिय सभाको गरिमा बढाउँछु : उम्मेदवार शर्मा
नेपाली कांग्रेसका तर्फबाट राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिनुभएका सांसद युवराज शर्माले आफू राष्ट्रियसभा अध्यक्षमा निर्वाचित भए राष्ट्रिय सभाको गरिमा बढाउने बताउनुभएको छ । शर्माले आफू अध्यक्षमा निर्वाचित भए राष्ट्रिय सभाको गरिमा बढाउने गरी काम गर्ने उहाँको दाबी छ । लोकतन्त्रमा जित हार कसैको नहुने, सबै हार्ने र सबै जित्ने भएकाले नै लोकतन्त्रको सुन्दर पक्ष भएको जिकिर गर्दै सांसद शर्माले भन्नुभयो, ‘मेरो राजनीतिक यात्रा धेरै लामो छ । यदि म राष्ट्रियसभा अध्यक्षमा निर्वाचित भए यो सभाको गरिमा बढाउने गरी नै काम गर्छु ।’
लिखित सहमति नदिए भोट हालिरहनुपर्छ भन्ने छैन : नेकपा एस
सत्तारूढ दलको एक घटक नेकपा एकीकृत समाजवादी (नेकपा एस)ले प्रधानमन्त्री प्रचण्डले आफ्नो पार्टीले अघि सारेका मागहरूमा लिखित सहमति जनाए मात्रै प्रधानमन्त्रीलाई विश्वासको मत दिने बताएको छ । सोमबार सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकले सो निर्णय गरेको पार्टीका प्रमुख सचेतक मेटमणि चौधरीले जानकारी दिनुभयो । प्रमुख सचेतक चौधरीले राष्ट्रियसभा अध्यक्षमा पनि आफ्नो पार्टीले भनेका कुराहरूमा लिखित सहमति जनाए मात्रै सहयोग गर्ने स्पष्ट पार्दै भन्नुभयो, ‘राष्ट्रियसभा अध्यक्षको निर्वाचन र पर्सि प्रधानमन्त्रीज्यूले लिने विश्वासको मत बारेमा निर्णय गरेका छैनौँ । हामीले भनेको केही कुरामा उहाँले सहमति जनाउनुभयो भने त्यो पनि लिखित सहमति गर्नुभयो भने राष्ट्रिय सभामा भोट दिन सक्छौँ । र प्रतिनिधि सभामा उहाँले लिने विश्वासको मतमा पोजिटिभ हुन सक्छौँ । तर, उहाँले हाम्रा कुरा सुनुवाइ नगर्ने र हामीले भोट हाल्दिरहनुपर्ने जरुरी ठानेका छैनौँ, ठान्दैनौँ ।’ प्रधानमन्त्री प्रचण्डको सरकार टिक्ने वा ढल्ने भन्नेबारे प्रचण्ड स्वयंमा निर्भर हुने जिकिर गर्दै प्रमुख सचेतक चौधरीले भन्नुभयो, ‘उहाँमै भर पर्छ । सरकार ढल्ने वा रहने कुरा प्रचण्डमै भर पर्छ । सहमत हुनुभयो भने मत पाउनुहुन्छ, हुनुभएन भने मत पाउनुहुन्न ।’
प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भेटवार्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा सोमबार बिहान प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो । भेटमा राष्ट्रियसभा अध्यक्ष निर्वाचन, विश्वासको मत, सरकारका साझा न्यूनतम कार्यक्रम लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । राष्ट्रियसभा अध्यक्षको निर्वाचन मंगलबार हुँदै छ भने समीकरण फेरिएपछि प्रधानमन्त्री प्रचण्डले बुधबार संसद्बाट विश्वासको मत लिँदै हुनुहुन्छ । त्यसैगरी, सत्ता गठबन्धनले गठन गरेको राजनीतिक संयन्त्रको सुझावका आधारमा सरकारका साझा न्यूनतम कार्यक्रम तय गर्ने तयारी छ । त्यसका लागि सरकारमा सहभागी पाँच दलका दुई–दुईजना नेता सम्मिलित कार्यदल गठन भइसकेको छ ।
प्रधानमन्त्रीको विपक्षमा मतदान गर्न कांग्रेसको हृवीप
प्रधानमन्त्री प्रचण्डको विश्वासको प्रस्तावको विपक्षमा मतदान गर्न नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्यहरूका लागि हृवीप जारी गरेको छ । कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सोमबार सांसदहरूका लागि हृवीप जारी गर्नुभएको हो । प्रधानमन्त्री प्रचण्डले बुधबार बस्ने प्रतिनिधि सभामा विश्वासको प्रस्ताव पेस गर्ने तय भएको छ । उक्त विश्वासको प्रस्तावमाथि मतदान हुने दिन अनिवार्य उपस्थित भएर विपक्षमा मतदान गर्न कांग्रेसले हृवीप जारी गरेको हो । प्रमुख सचेतक लेखकले हृवीपमा लेख्नुभएको छ, ‘फागुन ३० गते बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा अनिवार्य उपस्थित हुन, प्रधानमन्त्री पुष्पकमल दाहालले आफूमाथि प्रतिनिधि सभाको विश्वास छ भन्ने प्रस्तावको विपक्षमा मतदान गर्न यो निर्देशन (हृवीप) जारी गरिन्छ ।’ कांग्रेससँग गठबन्धन तोडेर एमालेसँग प्रधानमन्त्रीले सत्ता गठबन्धन सुरु गरेपछि प्रधानमन्त्रीले विश्वासको मत लिन लाग्नुभएको हो । नेपाली कांग्रेसले फागुन २२ मा प्रचण्ड नेतृत्वको सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच