प्रदीप र सलोनीलाई टेनिसको उपाधि

Read Time = 4 mins

काठमाडौं । प्रदीप खड्का र सलोनी तामाङले आठौँ सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको सिंगल्स उपाधि जित्नुभएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको पुरुष फाइनलमा प्रदीपले प्रणव खनाललाई ६–२ र ६–३ को सोझो सेटमा पराजित गर्नुभयो ।

सिटिजन्स बैंकको मुख्य प्रायोजनमा भएको प्रतियोगिताको महिला फाइनलमा सलोनीले अभिलाषा विष्टलाई ६–०, २–६ र ६–० को सेटमा पराजित गर्नुभयो । समग्र करियरमा प्रदीपको चौथो र सलोनीको पाँचौँ सिंगल्स उपाधि हो । प्रदीप र सलोनीको जोडीले मिक्स डबल्स पनि जितेको थियो ।

सो स्पर्धामा पनि प्रणव र अभिलाषा उपविजेतामै सीमित भएका थिए । पुरुष/महिला सिंगल्सका विजेताले ५० हजार, उपविजेताले २५ हजार र तेस्रोले १०/१० हजार नगद पुरस्कार हात पारे ।
काठमाडौं जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिताको भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा पूर्वराष्ट्रिय च्याम्पियन जितेन्द्र परियारले कमल भण्डारीलाई ६-२ र ६-२ को सिधा सेटमा फाइनलमा पाखा लगाउँदै पहिलो स्थान हात पार्नुभयो ।

३५ वर्षमाथि पुरुष डबल्समा दावा शेर्पा र जितेन्द्र परियारको जोडी शीर्षस्थानमा रहृयो । सो जोडीले फाइनलमा कमल भण्डारी र सुमित मैनालीको जोडीलाई ६-२ र ६-४ ले पन्छायो । ४५ वर्षमाथि पुरुष डबल्समा महेश श्रेष्ठ र कृष्णराज घलेको जोडी विजेता बन्यो । विजेता जोडीले फाइनलमा यज्ञबहादुर भण्डारी र रोहित सुनुवारको जोडीलाई ४-६, ६-४ र १०-७ ले निराश पार्‍यो ।

भेट्रान ६५ वर्षमाथि पुरुष सिंगल्समा कमल थापाले बाजी मार्नुभयो । दीपकमान श्रेष्ठविरुद्धको फाइनलमा थापाले पहिलो सेट ४-० ले आफ्नो पक्षमा पार्नुभयो । दोस्रो सेटमा थापा ३–० ले अघि रहेको अवस्थामा श्रेष्ठ ‘रिटायर्ड हर्ट’ भएपछि थापा विजेता बन्नुभयो । ५५ वर्षमाथि पुरुष सिंगल्समा विमल गुरुङले फाइनलमा निरञ्जनकुमार श्रेष्ठमाथि ६-२ र ६-० को सहज जित रच्नुभयो ।

विजेतालाई राखेपका सदस्य-सचिव टंकलाल घिसिङ, सिटिजन्स बैंकका अध्यक्ष राजनसिंह भण्डारी, आयोजक संघका अध्यक्षसमेत रहेका नेपाल टेनिस संघका महासचिव मनोहरदास मुललगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो । सदस्य-सचिव घिसिङले खेल क्षेत्रको विकासमा निजी क्षेत्रको पनि महत्वपूर्ण योगदान रहेको बताउँदै टेनिस प्रतियोगितालाई मुख्य प्रायोजन गरेकोमा सिटिजन्स बैंकप्रति आभार प्रकट गर्नुभयो ।

वैशाख ११ गतेदेखि सुरु प्रतियोगितामा १७८ खेलाडीले विभिन्न १० स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । दसै स्पर्धामा नगद पुरस्कार राखिएको थियो । कुल नगद पुरस्कार पाँच लाख १७ हजार पाँच सय रहेको थियो । खेल राखेपको कोर्टसहित आर्मी अफिसर्स क्लब, भद्रकालीको कोर्टमा पनि भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?