अब फेरि प्रि-मनसुन भन्न मिल्ने वर्षात्को सुरुवात भएको छ । एक प्रकारले यो सुखद् पक्ष हो । अर्को प्रकारले हेर्दा यो दुःखद् पनि छ । हिउँदको चरम सुख्खापन र खडेरीका कारण जताततै आगलागीका घटना भइरहेका थिए । वनमा डढेलो लागेर धनजनको क्षति भएका अनेकौं घटना देशव्यापी रूपमा फैलिरहेका थिए । यस अवस्थामा पानी परिदिए हुन्थ्यो भन्ने कामना सर्वत्र थियो, यस्तो चाहना गरिएकै बेला पानी पनि पर्यो । धेरै ठूलो पानी परेन तर दुई दिनसम्म देशव्यापी रूपमा परेको सामान्य वर्षाले मानिसहरूमा केही राहत अनुभव भएको छ ।
जमिन ओसिलो बनाएका कारण सागसब्जी र खेतीबालीलाई सहयोग पुगेको छ तर पर्याप्त मात्रामा जमिन भिजेको छैन । जमिन चिसो पारिदिएका कारण देशव्यापी रूपमा फैलिएको डढेलो नियन्त्रणमा आएको छ । मानिसको अज्ञानता, लापरबाही र भवितव्यकै कारण व्याप्त डढेलोबाट मानिसहरूको मृत्युसमेत भयो भने भौतिक सम्पत्तिको क्षति व्यापक मात्रामा हुन पुग्यो । गत मंगलबार र बुधबारको वर्षाले डढेलो नियन्त्रण भयो, बालीनालीमा सिञ्चन भयो । यो आवश्यकता पनि थियो र प्रकृतिको ऋतुकालीन कार्य भएकाले ढिलोचाँडो पानी पर्नुपथ्र्यो, पर्यो । तर, वर्षाद् पनि प्राकृतिक प्रकोपका विभिन्न माध्यममध्ये एक भएको हुँदा सुरुवातमै यो त्यस्तै हानीकारक समेत बन्न पुगेको छ ।
विपद्को सुरुवात भइसकेको छ । कतिपय ठाउँका मानिसका लागि वर्षाद्को समय अभिशाप बन्ने गरेको छ । आकाशतिर हेरेर बस्दा जब पानी पर्न थाल्छ तब आफू बसिरहेको ठाउँ छोडेर भाग्नुपर्ने अवस्था सिर्जना हुन्छ । पहिरो, डुबान र बाढीले यस्तो परिस्थिति सिर्जना हुने गरेको छ । देशका विभिन्न स्थानको कुरा गर्दा यस्तो अवस्था व्यापकै बन्ने गरेको पाइन्छ । राजधानी काठमाडौं उपत्यकामै यस प्रकारका समस्या आइरहन्छन् । यसका लागि संघीय र स्थानीय सरकारले समाधानका केही उपाय गर्ने गर्छन् तर ती दीर्घकालीन समाधान बन्न सकेका छैनन् । काठमाडौं महानगरपालिकाले मिचिएका खोला, खोल्साहरूलाई उधिन्ने र बाटाहरूलाई चौडा बनाउने काम गरिरहेको छ ।
यसको परिणाम सबै ठाउँमा सकारात्मक देखिएको भने छैन । बुढानीलकण्ठ नगरपालिका, सामाखुसीलगायत ठाउँहरूमा पहिले छोपिएका खोलाहरू खुला गरेर छोडिदिनाले ती ठाउँहरू हाल सानो पानी पर्नासाथ बाढी आएर अस्तव्यस्त बन्ने गरेका छन् । खुला छोडिनाले ती जोखिमपूर्ण बनेका छन् । खोलाका वरिपरिका घरहरूमा दुर्गन्ध फैलिने गरेको छ । यी त केही दृष्टान्तमात्र हुन्, यस्ता ठाउँ अन्यत्र हुन सक्छन् । साना खालका खोला खोल्साहरूलाई ठूलाठूला हृयुम पाइपमा छोपेर त्यसमाथिका भागमा सामान्य नागरिकहरूले सानातिना व्यापार व्यवसाय गरेर जीविका गर्दै आएकोमा महानगरपालिकाले तिनलाई पूर्ववत् रूपमा उदांगो बनाइदिएको र त्यत्तिकै अलपत्र पारेर छोडिदिएकाले नागरिकहरूले गरिखाने ठाउँ पाएका छन् न त त्यस्ता ठाउँहरू व्यवस्थित हुन नै सकेका छन् ।
बुढानीलकण्ठ नगरपालिका अन्तर्गतका १०, ११ र १२ नं. वडा प्रभावित हुनेगरी बग्ने साना खोल्साहरूलाई छोपेर ती ठाउँहरू तरकारीलगायतका व्यापार व्यवसाय गरी मानिसहरूले जीविका गर्दै आएकोमा महानगरपालिकाको सिमानासमेत जोडिने भएका कारण महानगरले ती खोलाहरूलाई खुला गरेर छोडिदिएको छ । यसरी खोलेर छोडिएका खोलाहरूलाई अन्य तरिकाले व्यवस्थित गरिएको छैन न त त्यहाँ सफा पानी बग्न नै सकेको छ । त्यहाँ व्यवसाय गर्नेहरू आफ्नो रोजीरोटी गुमाएर अन्यत्र लाखापाखा लागेका छन् भने त्यस आसपासका बासिन्दाले सस्तो तरकारी बजारको सुविधा पनि गुमाएका छन् । यी क्षेत्रहरू सानो पानी पर्दा पनि जलमग्न बन्छन् । यो समस्या पटकपटक दोहोरिइरहने गरेको छ ।
बुनपाका यी वडाहरूका जनप्रतिनिधिको चाहना र महानगरको चाहना नमिलेका कारण पहिले पनि खोला खोल्ने विषयमा मतमतान्तर भएको थियो । अहिले पनि त्यहाँका जनप्रतिनिधिहरू महानगरप्रति लक्षित गरेर कटाक्ष गरिरहेका छन् । यो प्रतिनिधिमूलक समस्यामात्र हो । यस्ता समस्याहरू उपत्यकाका विभिन्न स्थानमा देखिँदै आएका छन् । बागमती, विष्णुमती, धोबीखोला कोरिडोरदेखि अन्य सानातिना खोलाखोल्सा आसपासमा यस्ता समस्या आइरहेका छन् र आगामी दिनमा पनि आउने निश्चित छ । अब बर्खा सुरु हुनलागेको छ र यस्ता समस्या हुने र पटकपटक दोहोरिने निश्चित छ । त्यसकारण संबद्ध पक्ष यसका लागि सचेत बन्नु आवश्यक छ ।
नागरिकहरूमा उच्च सतर्कता रहनुपर्छ भने संबद्ध नगरपालिकाहरूले भत्काउने मात्र होइन त्यसलाई व्यवस्थित गर्ने तथा नागरिकहरूको जिउधनको सुरक्षाका कार्यहरू पनि तदारुकताका साथ गर्नुपर्ने हुन्छ । स्थानीय निकायहरूले आफ्नो बलबुताले यस्तो कार्य गर्न नसकेका खण्डमा प्रदेश सरकार र संघीय सरकारको सहयोगसमेत लिनुपर्छ । सरकारका विपद् व्यवस्थापनका लागि स्थापना भएका निकाय, नेपाल प्रहरी, नेपाली सेना, स्थानीय तथा त्यसमाथिका सरकारलगायतका निकायहरू यस्ता समस्या समाधानका लागि सक्रियतापूर्वक लाग्नुपर्ने हुन्छ भने नागरिकहरूमा पनि उच्चसतर्कता र सचेतता रहनुपर्दछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच