आर्थिक संकटबीच श्रीलंकामा जनविद्रोह

हिमालय टाइम्स
Read Time = 8 mins

काठमाडौं । जबरजस्त आर्थिक संकट भोगिरहेको श्रीलंकमा जनविद्रोह भएको छ । शनिबार हजारौँ मानिस राष्ट्रपति भवनमा घुसे भने प्रधानमन्त्रीको निजी घरमा आगो लगाए । प्रदर्शन बढ्दै जाँदा राष्ट्रपति गोटाबाया राजापक्षे र प्रधानमन्त्री रानिल विक्रमासिंघेले राजीनामा दिने बताउनुभएको छ भने सभामुख महिन्दा यापा अबेभेर्डानेलाई कार्यवाहक राष्ट्रपति बनाउने र सर्वदलीय सरकार गठन गरी चाँडै चुनावमा जाने प्रस्ताव अघि सारिएको छ ।

आर्थिक अव्यवस्थाको विरोधमा श्रीलंकामा महिनौँदेखि प्रदर्शनहरू जारी छन् । शनिबार ठूलो संख्यामा राजधानी कोलम्बोमा जम्मा भएका प्रदर्शनकारीहरूले राजापाक्षको राजीनामाको माग दोहोर्‍याएका थिए । राष्ट्रपति राजापाक्षले आगामी बुधबार राजीनामा दिने जानकारी गराउनुभएको छ भने प्रधानमन्त्री रनिल विक्रमासिंघे यसअघि नै राजीनामा दिन सहमत हुनुभएको छ । घोषणापछि सहरमा खुसियाली मनाउँदै आतसबाजी गरिएको छ ।

श्रीलंकाले खाद्यान्न, इन्धन र औषधिको चरम अभावको सामना गरिरहेको छ । दक्षिण एसियाली टापु देशले भोगिरहेको यो संकट विगत ७० वर्षयताकै सबैभन्दा खराब हो । विदेशी मुद्राको सञ्चिति रित्तिएपछि यहाँ निजी सवारी साधनका लागि पेट्रोल र डिजल बेच्न प्रतिबन्ध लगाइएको छ । मानिसहरू इन्धनका लागि कैयौँ दिनसम्म लाइन लाग्न बाध्य भएका छन् ।

आइतबार आन्दोलनको नयाँ रूप
श्रीलंकाका राष्ट्रपति र प्रधानमन्त्रीको निवासमा हिंसा फैलाउने प्रदर्शनकारीले भोलिपल्ट आइतबार नयाँ रूप देखाएका छन् । आइतबार प्रदर्शनकारीहरूले राष्ट्रपति गोटाबाया राजापाक्षे र प्रधानमन्त्री रनिल विक्रमासिंघेको घर सफा गरेका छन् ।

शनिबार प्रदर्शनकारीहरूले राष्ट्रपति भवन कब्जा गरेका थिए । उनीहरू राष्ट्रपति भवनको स्विमिङ पुलमा पौडी खेले, राष्ट्रपतिको बेडरुममा सेल्फी खिचे, राष्ट्रपतिको किचनमा खाना खाए र राष्ट्रपतिको पियानोसमेत बजाए । राष्ट्रपति भवनको पुस्तकालयमा किताब हेर्नेको पनि भिड लागेको थियो ।

एक दिनअघि कोलम्बोस्थित राष्ट्रपति भवनमा कब्जा जमाउने प्रदर्शनकारीले इमानदारीको अर्को उदाहरण पनि देखाएका छन् । प्रदर्शनकारीहरूले राष्ट्रपति भवनमा १५ मिलियनभन्दा बढी श्रीलंकाली मुद्रा नगद प्राप्त गरेको र सुरक्षाकर्मीलाई पैसाको बण्डल हस्तान्तरण गरेको दृश्य सामाजिक सञ्जालमा भाइरल छन् । आन्दोलनकारीले राष्ट्रपति भवन कब्जा गर्नु ठिक अघि भागेका राष्ट्रपति कहाँ छन् भन्ने कसैलाई थाहा छैन । यद्यपि, सिएनएनले सुरक्षा अधिकारीहरूलाई उद्धृत गर्दै प्रदर्शनकारीहरू राष्ट्रपति भवनमा प्रवेश गर्दा गोटाबाया राजापाक्षे उपस्थित नभएको बताएको छ ।

प्रदर्शनकारी त्यहाँ पुग्नुअघि नै राष्ट्रपतिलाई अन्यत्र लगिएको समाचारमा जनाइएको छ । जहाजमा सवार सबै राष्ट्रपति भवनका कर्मचारी रहेको दाबी गरिएको छ भने गोटाबाया राजापाक्षे कोलम्बोबाट भागेको दाबी पनि गरिएको छ ।

श्रीलंकाका सांसद हर्ष डा. सिल्भाले संसद्का सभामुखले बढीमा ३० दिनसम्म राष्ट्रपति पदमा रहेर काम गर्ने र राष्ट्रपति र प्रधानमन्त्रीले राजीनामा दिने विषयमा पार्टीका अधिकांश नेताहरूले सहमति जनाएको बताउनुभएको छ । प्रदर्शन चर्किएपछि मे महिनामा राष्ट्रपति गोटाबाया राजापाक्षेका दाइ तथा प्रधानमन्त्री महिन्दा राजापाक्षेले राजीनामा दिनुभएको थियो ।

प्रदर्शनकारीहरूले राष्ट्रपति र प्रधानमन्त्रीले आधिकारिक रूपमा राजीनामा नदिएसम्म उनीहरूको आधिकारिक निवास, कार्यालय र सरकारी निवास परिसरमा नै बस्ने बताएका छन् । सुरक्षा प्रमुख शभेन्द्र सिल्वाले जनताको समर्थनको आह्वान गर्दै कानुन र व्यवस्था कायम राख्न सहर वरिपरि सैनिकहरू तैनाथ गर्नुभएको छ ।

समस्याको कारण आर्थिक संकट
श्रीलंकामा विदेशी मुद्रा सञ्चितिको तीव्र ह्रासका कारण देशमा आर्थिक संकट उत्पन्न भएको हो । सरकारको आर्थिक कुव्यवस्थापन र कोरोना महामारीको प्रभावका कारण यस्तो अवस्था आएको धेरैले आरोप लगाएका छन् । वैदेशिक विनिमय सञ्चितिको अभावका कारण श्रीलंकाले तेल, खाद्यवस्तु र औषधिलगायत अत्यावश्यक वस्तु आयात गर्न नसकेपछि यस वर्षको मे महिनामा इतिहासमै पहिलोपटक ऋणको किस्ता तिर्न असफल भएको हो । श्रीलंकाले हाल अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) बाट करिब ३.५ अर्ब डलरको अनुदान रकम खोजिरहेको छ । जसको लागि कोष र श्रीलंकाली सरकारबीच वार्ता चलिरहेको छ ।

श्रीलंका सरकारले यस वर्ष आइएमएफलगायत अन्तर्राष्ट्रिय समुदायबाट पाँच अर्ब डलरको सहायता आवश्यक रहेको बताएको छ । बिहीबार श्रीलंकाको केन्द्रीय बैंकले आधारभूत ब्याजदर एक प्रतिशतले वृद्धि गरिदिएको छ । बैंकले दिने ऋणको ब्याजदर १५.५ प्रतिशत पुगेको छ भने निक्षेपका लागि १४.५ प्रतिशत ब्याज तोकिएको छ । यो २१ वर्षकै सर्वाधिक ब्याजदर हो । वार्षिक मुद्रास्फीति अहिलेसम्मकै उच्च देखिएको छ । खाद्यपदार्थको मूल्य ८० प्रतिशतले बढ्दा मुद्रास्फीति ५४.६ प्रतिशत पुगेको छ । करिब ७० वर्षयता विभिन्न देशबाट लिएका ऋण र विदेशी सटही कमजोर बनेपछि श्रीलंका धराशायी बनेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?