कालीगण्डकीको जलचक्र प्रणाली प्रभावित : शालिग्रामको अस्तित्व संकटमा

Read Time = 8 mins

-ध्रुवसागर शर्मा
म्याग्दी । हिन्दू धर्मावलम्वीहरुले भगवानको अंश मानेर पूजा गर्दै आएको शालिग्राम शिला पाइने विश्वकै एकमात्र नदी कालीगण्डकीको जलचक्र प्रणाली प्रभावित हुँदै गएपछि शालिग्रामको अस्तित्व नै संकटमा परेको छ ।

वातावरणीय तथा मानवजन्य प्रदूषणका कारण पानीमा अक्सिजनको मात्रा कमी हुन गई कालीगण्डकी नदीको जलचक्र प्रणाली प्रभावित हुनुका साथै पवित्र मानिएको कालीगण्डकी र यहाँ पाइने शालिग्राम शिलाको अस्तित्व नै संकटमा पर्दै गएको हो । तापक्रम वृद्धिसँगै हिमालमा हिमस्खलन हुने क्रम बढ्दै जाँदा हिमनदी कालीगण्डकीको वहाबमा आएको परिवर्तनले नदी क्षेत्र वरपरको जमीन कमजोर बन्दै गएको छ ।

उद्योग तथा कलकारखानाबाट निस्कने फोहरमैला, रसायनयुक्त पानी र अनियन्त्रित रूपमा ढल मिसाउनेजस्ता गलत मानवीय कारणले गर्दा कालीगण्डकी नदीको पानी अत्यधिक प्रदूषित बन्न गई पर्यावरणीय दृष्टिकोणले यो नदीको अस्तित्व खतरामा पर्दै जान थालेको हो ।
दामोदरकुण्डदेखि मुस्ताङको जोमसोम, म्याग्दीको बेनी, बागलुङ, पर्वतको कुश्मा र गुल्मीको रिडी बजारसम्म पुग्दा कालीगण्डकी नदीमा प्रशस्तै जैविक तथा औधोगिक फोहरमैला थुप्रिने गर्दछ । हिन्दू धर्मावलम्बीहरुका लागि पूजापाठ गर्ने थलो तथा धार्मिक आस्था र विश्वास बोकेको यो नदीलाई शालीग्राम पाइने विश्वकै एकमात्र नदीको रूपमा लिने गरिन्छ ।

धार्मिक, सामाजिक र सांस्कृतिक दृष्टिकोणले महत्वपूर्ण एवं वातावरणीय हिसाबले संवेदनशील नदी हेर्दाहर्दै कुरुप एवं मित्र जीवको सट्टा हानीकारक शत्रु जीवको उर्वर बासस्थानका साथै प्रदूषणको स्रोत बन्न पुगेको वातावरण संरक्षणका अभियन्ता चन्द्रमणि सापकोटाले बताउनुभयो ।

हिन्दू धर्मावलम्बीले भगवान विष्णुको अङ्शका रूपमा पूजा आराधना गर्ने र विश्वमै दुर्लभ शालिग्राम शिला पाइने विश्वको एकमात्र नदी कालीगण्डकीलाई प्रदूषणको चपेटाबाट मुक्त गर्न ‘कालीगण्डकी बचाउ’ अभियानमा सबै सक्रिय हुनुपर्ने धारणा वातावरणविद्को छ ।

हिमालयबाट हिउँ पग्लेर मुक्तिनाथको स्पर्श गर्दै विभिन्न खोला समेटेर बग्दै आएको कालीगण्डकी बढ्दो शहरीकरण र जलवायु परिवर्तनका कारण मानवीय र प्राकृतिक दुवैतर्फवाट प्रदूषित बन्दै गएको छ ।

प्रकृतिमा देखिएका असामयिक परिवर्तन र मानवजन्य प्रदूषणका कारण पानीमा अक्सिजनको मात्रा कमी हुन गई कालीगण्डकी नदीको जलचक्र प्रणाली प्रभावित बनेको सरोकारवालाले बताएका छन् । यसले गर्दा नदीको अस्तित्वसमेत खतरामा परेको वातावरणविद्को भनाइ छ ।
कालीगण्डकीको अवैध दोहन हराए शालिग्राम

हिन्दूधर्मावलम्बीले भगवान् विष्णुको अंश मानेर पुज्ने शालिग्राम शिला पाइने विश्वकै एकमात्र नदी कालीगण्डकीमा लामो समयदेखि अवैधरुपमा दोहन हुँदै आए पनि सम्बन्धित निकाय भने मौन छन् ।
अवैधरुपमा नदीको उत्खनन गरी नदीजन्य वस्तुको चोरी निकासी हुने क्रम बढ्दै गएपछि कालीगण्डकीबाट बहुमूल्य शिला शालिग्राम लोप हुँदै गएको छ भने कालीगण्डकीको अस्तित्वसमेत सङ्कटमा परेको छ ।

नदीजन्य पदार्थको अवैध उत्खननले कालीगण्डकी सभ्यतामै समस्या र सङ्कट पर्न थालेको र बहुमूल्य शिला शालिग्रामसमेत लोप हुँदै गएको गलेश्वर क्षेत्र विकास कोषका उपाध्यक्ष पं भीमनाथ पौडेलले बताउनु भयाे । प्रदेश सरकारले नदीजन्य वस्तु निकाल्नका लागि मापदण्ड बनाए पनि त्यसको कार्यान्वयन हुन सकेको छैन । व्यवसायीले आफू खुसी ढुङ्गा, गिट्टी बालुवा निकाली रहेका छन् । हेभी इक्वीपमेन्ट (डोजर, स्काभेटर) प्रयोग गरेर नदीमा वर्षौँदेखि रहेका ठुला ढुङ्गा निकाल्दा नदीले धार परिवर्तन गरी नदी किनारका बस्तीमा जोखिम बढेको छ । यसले गर्दा सबैभन्दा बढी असर म्याग्दीको सदरमुकाम बेनी र कालीगण्डकी कोरिडोरअन्तर्गतको बेनी जोमसोम सडकलाई परेको छ ।

नदीजन्य पदार्थ उत्खनन तथा निकासीका लागि सरकारले मापदण्ड बनाएर सोही अनुसार निर्देशित गरे पनि व्यवसायीले दिउँसोको समयमै ठुला मेशिन लगाएर दोहन गरिरहेका पर्वत बगरका इन्द्रबहादुर बरुवालले बताउनुभयो ।

जमिनमा एकपटक बसिसकेको ढुङ्गालाई बगिरहेको नदीको बिचबाट निकालेर भारी मेशिन (स्काभेटर)को प्रयोग गरी छियाछिया पारिएको छ । नदी कटान तीव्ररुपमा भइरहेको अवस्थामा नदी उत्खनन र नदीजन्य वस्तुको चोरी निकासी गर्न सजिलो हुने गरी स्काभेटर र टिपर पु¥याउन सडकसमेत बनाइएको छ ।

कुनै निकायसँग सम्झौता पनि नगरी र नदी उत्खननको मापदण्ड विपरीत नदीको दोहन भइरहेको छ भने सदरमुकामको कालीपुल क्षेत्र थप जोखिममा परेको स्थानीय बासिन्दाले बताएका छन् ।

उच्च जोखिमयुक्त सदरमुकामको सूचीमा राखिएको म्याग्दीको सदरमुकाम बेनी बजारको शिरमा नदी नियन्त्रणको बहानामा नदीको तीव्र बेगलाई रोक्न सक्ने ढुङ्गा निकाल्दासमेत जनप्रतिनिधि र सरोकारवाला निकाय मौन बसेपछि हरेक वर्ष नदीको अस्तित्व सङ्कटमा पर्नुको साथै सौन्दर्यसमेत गुम्दै गएको छ । व्यवसायीले रातको समयमा समेत नदी उत्खनन गर्दै आएका छन् ।

म्याग्दी, बागलुङ र पर्वत जिल्लाको विभिन्न स्थानमा अहिले दोहन भइरहेको छ । अवैधरुपमा भएको दोहनले नदीको धार परिवर्तन गरेर बस्तीतिर जाने सम्भावना देखिन्छ । मापदण्ड मिचेर नदी दोहन गर्दा म्याग्दीको धार्मिकस्थल गलेश्वर धामदेखि सदरमुकाम बेनी बजार र बागलुङको माझी बस्ती, मालढुङ्गा तथा कालाखोला बगर क्षेत्रका घरसमेत उच्च जोखिममा पर्न थालेका छन् ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?