बेल्जियम युरो च्याम्पियनसिपको क्वाटरफाइनलमा

हिमालय टाइम्स
Read Time = 2 mins

लन्डन । बेल्जियम महिला युरो च्याम्पियनसिप २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा शीर्षस्थानमा रहेको फ्रान्स बराबरीमा रोकिएपछि बेल्जियमले क्वाटरफाइनलमा स्थान बनाएको हो । फ्रान्स आइसल्यान्डसँग अन्तिम समयमा गोल बेहोर्दै १-१ गोलको बराबरीमा रोकिएको हो । बराबरीमा रोकिए पनि फ्रान्स समूह ‘डी’ मा शीर्षस्थानमा रहँदै क्वाटरफाइनलमा पुग्न सफल भयो ।

फ्रान्सले खेलको पहिलो मिनेटमा नै मेल्भिन मालार्डको गोलबाट अग्रता लिएको थियो । उहाँले क्लारा माटियोको पासमा गोल गर्नुभएको थियो । इन्जुरी समयको थप गरिएको दोस्रो मिनेटमा डाग्नीले पेनाल्टीमा गोल गर्दै टोलीलाई हारबाट जोगाउनुभयो ।

यही समूहको अर्काे खेलमा बेल्जियमले इटालीलाई १-० ले पराजित गरेपछि समूह उपविजेताका रूपमा क्वाटरफाइनलमा पुग्न सफल भएको हो । बेल्जियमको जितमा टिन डि केइगनीले ४९औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

समूह ‘डी’ का अन्तिम दुई खेलसँगै क्वाटरफाइनल समीकरण पूरा भएको छ । अब क्वाटरफाइनलमा फ्रान्सले नेदरल्यान्ड्स तथा बेल्जियमले स्वीडेनसँग प्रतिस्पर्धा गर्नेछन् । अर्काे क्वाटरफाइनलमा इंग्ल्यान्ड र स्पेन तथा जर्मनी र अस्ट्रियाबीच प्रतिस्पर्धा हुनेछ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?