सहकारी प्रकरणमा संसदीय छानविन समितिको प्रतिवेदनले राजनीतिको मैदान तताउन समर्थ रवि लामिछानेको नैतिकता धरापमा परेको छ । चर्चित मानिसकै चर्चा हुन्छ । बाँकी अरूको चर्चा पूरै ओझेलमा पुग्छ । नैतिकता गुमेको राजनीतिमा नैतिकहीनहरूको समर्थन व्यापक हुन्छ । तर, हिजोका दिनमा रवि लामिछानेको राजनीतिलाई, सफल, रहस्यमय, लोकप्रिय, अराजक र उत्तेजक बनाउने ती मतदाताको शीर पनि सायद यो प्रकरणले नुहेको हुनुपर्छ । चम्किलो सञ्चारकर्मी राजनीतिको आगोमा पुगेर सबैलाई पोल्ने प्रयासमा लागेपछि रविका पूर्वपत्रहरू एकपछि अर्को गरी खुल्दै गएका थिए । सुरुमै पासपोर्ट विवाद, नागरिकता प्रकरण, अमेरिकी नागरिकता प्राप्तिको भाषा, परित्यागको अन्यौल, दुई नागरिकतामार्फत पासपोर्ट र भिसाप्राप्ति अनगिन्ती पत्रहरूको भारी छ रविको पिठ्यूँमा । अहिले आएर सहकारीको रकम अपचलन गरेको आरोपलाई समेत संसदीय छानविन समितिको प्रतिवेदनले सत्यापित गरेको छ ।
यद्यपि नेपालको वर्तमान राजनीति र संसद्मा अनेक चरित्रपात्रहरूको प्रविष्टि छ । ज्यानमाराहरूको, अर्काको सम्पत्ति लुटपाट गर्नेहरूको, अकूत सम्पत्तिका मालिकहरूको बोलवाला नभएको होइन । तर, त्यस प्रवृत्तिविरुद्ध वैकल्पिक लोकतान्त्रिक शक्तिको सपना बाँडेर शक्तिमा पुगेको मानिस कुनै पनि अर्थमा स्वच्छ हुनुपर्ने आममान्यता छ । थोरै पनि दाग लाग्यो भने वैकल्पिकका नारा पुरानै जस्ता फोस्रा सिद्ध हुनेछन् । अहिले राष्ट्रिय स्वतन्त्र पार्टी र यसको नेतृत्वको हालतमा पनि त्यही फोस्रानारा संवाहक हुन पुगेको छ । प्रथम ग्रासे मक्षिका पातः जस्तो हुनपुगेको छ रविको सभापति पद र यस पार्टीको । रविको मात्रै होइन पार्टीका सांसद ढाकबहादुर प्रकरणले धेरैको ढक्कन खुलाएको थियो । त्यसलगत्तै अत्यन्त विद्ववान र प्रतिभाशाली मानिएका डा.स्वर्णिम वाग्लेको मुनरो डक्ट्रिनको महिमामण्डनले त यो पार्टीलाई विवादबाट उठ्नै नसक्ने भाषमा पु¥याएको अवस्था छ । अब रवि लामिछानेका विषयमा संसदीय समितिको निष्कर्षले त विकल्पको सपना शिव शर्माको सातुमा परिणत गरिदिएको छ । शिव शर्माको सातु सपना वास्तवमा नै नेपाली राजनीतिका प्रत्येक चमत्कारको खोजिमा रहनेहरूका लागि मीठो उदाहरण बनेको छ ।
रविले हर समय गृहमन्त्रालय नै दाबी गर्नुको रहस्य कारण पनि उनका अनेक पृष्ट पत्रहरूको पोल अनन्तकालसम्म नखुलोस् भन्नकै लागि रहेछ भनेर बुझ्न सजिलो भएको छ । दोहोरो नागरिकता र पासपोर्ट विवादमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको असीम अनुकम्पा र महान्यायाधिवक्ताको कानुनप्रतिको अडानभन्दा पनि निर्देशनप्रतिको समर्पणले जोगिएको कथा धेरैलाई थाहा छ । त्यो कथा कुनै दिन स्वयं दाहाल वा तत्कालीन महान्याधिवक्ता आफैंले भन्नुहोला । तर, मानिस एकपटक वा केही पटक जोगिन सक्छ । केही समय अरूलाई ढाँट्न, छल्न सफल होला । निरन्तर त्यस्तो ढाँट र छलको प्रयास सफल हुँदैन ।
नेपालमा सहकारी सिद्धान्तलाई समाजवादी अर्थतन्त्रको मेरुदण्ड मानिएको छ । केही ठूला वचत तथा ऋण सहकारीहरूमा देखिएको समस्याका कारण यतिखेर सिंगो यो क्षेत्रलाई शंकाका आँखाले हेर्ने गरिन्छ । करिब ३५ हजार सहकारीमध्ये केही सहकारीहरू चाँडै धनकुवेर हुने सपना देख्ने सञ्चालकहरूको महत्वाकांक्षाको सिकार भएका छन्, केही जानीजानी निजी कमाइको खेतीको मारमा परेका छन्, केही इमानदारीपूर्वक काम गर्दागर्दै असफल भएका छन् र केही सञ्चालन विधि राम्ररी थाहा नपाएर नै अप्ठ्येरोमा परेका छन् । यसरी अज्ञानताबस दुर्घटनामा परेकाहरू निकै थोरै होलान् ।
नेपाली अर्थतन्त्रको मेरुदण्ड नै हो सहकारी । अहिले अत्यधिक अविश्वसनीय अपारदर्शी जस्तो हुन पुगेको छ । तीनखम्बे नीतिअन्तर्गत रहेको सहकारी सञ्चालनको दोष दिएर र कारबाहीको डण्डा चलाएरमात्रै सरकारी संयन्त्रले धर पाउने अवस्था छैन् । बैंक हुन् वा सहकारी वा अन्य वित्तीय संस्थाहरू ऋण दिएर, लगानी गरेर आयोजनाको सफलताका लागि सहयोग गर्दैनन्, उल्टै ऋणी कतिखेर डुब्छ, कतिखेर असफल हुन्छ र धितो लिलिम गर्न पाइयोस्, कारबाही गर्ने बाटो खुलोस् भन्नेमा केन्द्रित देखिन्छन् । केही व्यवसायीहरू पनि ऋण पाउनासाथ अपचलन गर्ने, निर्धारित योजनामा लगानी नगर्ने, हृवात्तै धन आर्जन कताबाट हुन्छ भन्ने सोचमा व्यस्त देखिने गरेका अनेक दृष्टान्त छन् ।
सहकारीको मूल समस्या विगतमा जग्गाको मूल्य पनि हो । उद्योग व्यवसायमा भन्दा अधिकांश वचतकर्ताको रकमले जग्गा खरिद बिक्रीको खेल भयो । जग्गाको मूल्य घट्नासाथ वचतकर्ताको रकम फिर्ता गर्ने सामथ्र्य सहकारीमा भएन । यही कारणले कतिपय सहकारी सञ्चालकहरूले आत्महत्यासमेत गरेका छन् भने केही इमानदार ऋणीहरू पनि आत्महत्या गर्न विवश देखिएका छन् । तर, सिधा ठग्ने नियतकासाथ सहकारीको पैसा दुरुपयोग गर्नेहरूलाई कुनै पनि अर्थमा कानुनी उन्मुक्ति हुनुहुँदैन । रवि, जिवी र छवि जोडिएको सहकारी काण्ड नियतबस गलत आसयले गरिएको स्पष्ट छ । यो काण्ड ठगहरूले कुन रूपमा आफूलाई महान् सिद्ध गर्न आर्थिक अपचलन, कानुनी दाउपेचका आधरमा गरिरहेका हुन्छन् भन्ने यो काण्डले देखाएको छ ।
दुई वर्ष पहिले ज्वारभाटा जस्तो नेपाली राजनीतिमा आएको रास्वपा र रविको अबको संभावनालाई यो काण्डले पानी फेरिदिएको देखिन्छ । राष्ट्रिय स्वतन्त्र पार्टी करिब नेपाली युवाहरू माझ आसाको दीयो जगाउने गरी उदाएको थियो । देशविदेशबाट रविको समर्थनमा हजारौं युवाहरू जुरुक्क उठेका थिए । पुराना दलहरूका नेताहरूको कामकारबाहीसँग दिक्क भएका, नयाँ सपनाको खोजी गर्न तम्तयार युवायुवतीहरूको ठूलो समर्थन यसमा थियो । नाम आकर्षक छ । स्वतन्त्रताका पक्षधर हरेकले नामका कारणले पनि समर्थन गरे होलान् । तर, अब हिजोको त्यो मानक शक्ति रास्वपामा रहेन ।
अब त यो पार्टीको भविष्यमाथि समेत प्रश्न उठेको छ । कानुनी लडाइँ रविले लडेर जित्न पनि सक्लान् । तर, सेतो कमिजमा लागेको दुर्नामीको दाग हत्तपत्त मेटिँदैन । छानविन समितिमा बसेका एमाले नेता सूर्यबहादुर थापासहित सबै सदस्यहरूले अत्यन्त पश्रिमपूर्वक प्रतिवेदन तयार पारेका छन् । अरू यस्तै समस्यालाई समेत दृष्टिगत गरी प्रतिवेदनले सिद्धान्तसमेत प्रतिपादन गरेको देखिन्छ । यद्यपि यसको कानुनी हैसियत के होला त्यो काननचीहरूले गर्ने व्याख्यामा निर्भर होला । तर, पनि यो प्रतिवेदनले अहिले रवि लामिछाने र रास्वपालाई भने नैतिकताको अग्निपरीक्षा दिनुपर्ने बनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच