दाङमा बिकेन मह, माहुरीपालक किसान निराश

हिमालय टाइम्स
Read Time = 4 mins

देउखुरी । घोराही उपमहानगरपालिका-१३ कलमघारीका रेशमबहादुर राणासँग १५० माहुरीका घार छन् । उहाँले ८३ घारबाट माहुरीपालन सुरुआत गर्नुभएको हो । पहिला माहुरीपालनबाट मेहनतअनुसार कमाई ठिकै थियो । त्यही अवस्थाबाट उत्साहित हुँदै राणाले माहुरीका घार थप्नुभयो ।

“घार थपेसँगै मह उत्पादन बढेको छ, तर मह बिक्री हुन सकेको छैन”, राणाले भन्नुभयो । जिल्लामै विगत वर्षभन्दा यस पटक मह उत्पादन बढेको छ । मह नबिकेपछि किसान निराश छन् । स्थानीय बजारको मागभन्दा बढी उत्पादन भएपछि किसानले मह घरमै भण्डारण गरी बजार खोज्न थालेका छन् ।

“बजारमा मह खपत हुन सकेको छैन, घरमा यत्तिकै राख्नु परेको छ,” राणाले भन्नुभयो, “फेरि मह उत्पादन हुने याम सुरु भएको छ, बिक्रीको चिन्ता हुन थालेको छ ।” उत्पादन राम्रो भए पनि महले बजार नपाएपछि निराश बनेको तुलसीपुरका मौरीपालक किसान उमेश थापा बताउनुहुन्छ ।

खपत हुन नसक्दा घरमै मह राख्नुपर्ने अवस्था आएको घोराही-१८ अम्बापुरका मोहन खत्रीको भनाइ छ । किसानले सेरेना र मेलिफेरा जातका माहुरीपालन गर्दै आएका छन् । जिल्लामा हाल पाँच सयभन्दा बढी व्यावसायिक रुपमा मौरीपालक किसान रहेको नेपाल मौरीपालक महासङ्घका वरिष्ठ उपाध्यक्ष दीपक श्रेष्ठले बताउनुभयो । “मह नबिक्दा मौरीपालक किसान के गर्ने भन्ने अन्यौलमा छन्”, उहाँले भन्नुभयो । जिल्लामा हाल १५० टन मह बिक्री नभएर थन्किएको तथ्याङ्क महासङ्घसित छ ।

“मह बिक्री नहुँदा लागत खर्च उठाउन समस्या भएको छ”, श्रेष्ठले भन्नुभयो । आयातीत महले पनि स्थानीय महको बजार प्रतिस्थापन गरेको छ । महको स्थानीय ब्रान्डलाई स्तरीय बनाउन जरुरी रहेको उहाँको भनाइ छ । दाङको मह पोखरा, काठमाडौँलगायत सहरमा बिक्री हुने गरेको छ । भारतीय बजारबाट आउने सस्तो मूल्यको महका कारण उपभोक्ताले स्थानीय महमा चासो दिएका छैनन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत मौरीजोनकी प्राविधिक सहायक नारायणी घर्ती मौरीपालक कृषकलाई मौरीको नस्ल सुधारदेखि व्यावसायिक रुपमा मह उत्पादनमा अनुदानलगायत सहयोग गर्दै आएको बताउनुहुन्छ । “बजारीकरणको काम कृषक आफैँले गर्ने गरेका छन्”, उहाँले भन्नुभयो । यस पटक औसतमा प्रतिघार १२ दशमलव ८३ किलो मह उत्पादन भएको घर्तीले बताउनुभयो । मौरीजोनमा घोराहीका १०१, तुलसीपुरका ४५ र बङ्गलाचुलीका ११ फार्म सूचीकृत छन् ।

उत्पादित मह सहकारीमार्फत बेच्ने तयारी छ । बजारीकरणमा समस्या भएपछि यहाँका किसान सङ्गठित रुपमा एकद्वार प्रणालीमार्फत मह बिक्री गर्ने तयारीमा जुटेका छन् । मह उत्पादक किसानलाई सहकारी संस्थामा आबद्ध गराउँदै एकीकृत रुपमा मह बिक्री गर्ने तयारी छ । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?