काठमाडौं । अमेरिकाको नर्थ क्यारोलिना राज्यको र्यालीमा शान्ता उपन्यासमाथि विमर्श भएको छ । मदन पुरस्कार विजेता प्रख्यात साहित्यकार नीलम हारिकाको संयोजन र नर्थ क्यारोलिना नेपाली साहित्य समाजको आयोजनमा सम्पन्न सो कार्यक्रममा सो क्षेत्रका नेपाली समुदायका लेखक साहित्यकारहरूको भव्य उपस्थिति रहेको थियो । अनेसास अमेरिकास्थित सदस्यहरू समेतको सहभागिता रहेको थियो ।
शान्ता उपन्यासको सूक्ष्म समीक्षा गर्दै साहित्यकार तथा लेखक ईश्वर देवकोटाले आफूले एकपटक होइन धेरै पटक भाव विभोर भएर अश्रुधाराका बीचमा पढेको उपन्यास शान्ता रहेको विचार प्रकट गर्नुभएको थियो । साहित्यकार तथा वरिष्ठ इन्जिनियर देवकोटाको विचारमा ः शान्ता उपन्यासले नारी भावनाको कोमलता, समुदायको यथार्थता, मानवता, करुणामात्रै होइन नारी मनोविज्ञान, पारिवारिक मनोविज्ञान र सामाजिक मनोविज्ञानलाई समेत प्रकट गरेको छ ।
नेपाली भाषामा तेस्रो संस्करण प्रकाशनमा आएको र अंग्रेजीमा समेत दोस्रो संस्करण प्रकाशन भएको सन्दर्भमा कृतिले आमपाठकहरूको मनलाई तानेको विचार वक्ताहरूले प्रस्तुत गर्नु भएको थियो । संयोजनकर्ता साहित्यकार नीलमले शान्ता उपन्यासकी नायिका शान्ताको प्रशंसा गर्दै नारी जन्म दिनेमात्रै होइन पुनर्जन्म प्रदान गर्ने सामथ्र्य राख्छन् भन्ने उदाहरण शान्ताले दिएको टिप्पणी गर्नुभएको थियो ।
ईश्वरचन्द्र देवकोटा उत्सर्ग प्रेमका लेखक मदन पुरस्कार विजयी राजेश्वर देवकोटाका छोरा हुनुहुन्छ र विगत चारदशकदेखि अमेरिकामा नै बसोवास गरे पनि नेपाली साहित्यको प्रबद्र्धनमा निरन्तर लागि पर्नुभएको छ । कार्यक्रममा नेपाली साहित्यका कवि प्राडा.मोहनप्रसाद तिमल्सिना र हिमालय टाइम्सका प्रधान सम्पादक वरिष्ठ पत्रकार प्रा.पुरुषोत्तम दाहाल, लेखक सानुबाबु सिल्वालसहित उपन्यासकी मूल पात्र शान्ता पोख्रेल दाहाललाई सम्मानित गरिएको थियो ।
कार्यक्रममा प्राडा.मोहन तिमल्सिनाले जहाँ रहे पनि नेपाली समुदायले भाषा साहित्यको अनवरत सेवा गरेको र आफ्नो पहिचान स्थापित गरेको भन्दै प्रशंसा गर्नुभएको थियो । कार्यक्रमका वक्ता प्रा.पुरुषोत्तम दाहालले जहाँ जुनरूपमा बसे पनि समुदायको परिचय महत्वपूर्ण हुन्छ भन्दै आजको जटिल समयमा म मेसिन भएर होइन मान्छे भएर नै परिचय स्थापित गर्नुपर्ने विचार प्रकट गर्नुभएको थियो । उहाँले भन्नुभयो, ‘भूगोललाई राजनीतिले बाँधेको हुन्छ तर संसारमा छरिए पनि साहित्य, कला, संस्कृतिले, सिर्जनाले मानिसहरूलाई गोलबद्ध गराउने हुनाले भूगोलभन्दा ठूलो सिर्जना र संस्कृति हुनेछ ।’
मन्तव्य क्रममा शान्ता उपन्यासका लेखक दाहालले नर्थ क्यारोलनाको र्याली क्षेत्रमा बसोवास गर्ने नेपाली साहित्यिक मनहरूप्रति यसरी कार्यक्रम संयोजन गरी शान्ता उपन्यासको विमर्शसमेत हुन पाएकोमा आभार प्रकट गर्नु हुँदै अहिले शान्ता उपन्यासको अंग्रेजी संस्करणलाई अमाजोन डक कमले बिक्री गर्ने भएको जानकारीसमेत दिनुभएको थियो ।
कार्यक्रममा शान्ता पोख्रेल दाहालले आफूले कलेजो दान गर्दाको अवस्था र दिनुपर्ने कारण बताउँदा उपस्थितहरू निकै भावुक भएका थिए । शिखर दुलालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अमेरिका सपना र यथार्थका लेखक, पुराना पत्रकार तथा व्यवसायी सानुबाबु सिल्वालले आफू अमेरिका आउँदाको अवस्था र वर्तमानका विषयमा जानकारी दिनुभएको थियो । शिक्षाविद् तथा लेखक सुरेश भट्टले यस सम्वाददातासँगको कुुराकानीमा यस क्षेत्रमा हुने साहित्यिक गतिविधिले नेपाली समुदायलाई अझ आत्मीय बनाएको चर्चा गर्नु भएको थियो । साहित्यकार प्रभा पोख्रेलको कुशल सञ्चालनमा सम्पन्न कार्यक्रममा अनिमेष दाहालको पैसा कविता र स्वयं प्रभाको बुद्ध आउ शीर्षक कविताले श्रोतालाई निकै आकर्षित गरेको थियो ।
कार्यक्रममा संस्थापक सभापति नगेन्द्र न्यौपाने, डा.भाष्कर कुँवर, डा.ऋषि वस्ताकोटी, रवीन्द्र कार्की, अनिता सुवेदी, पत्रकार तथा सामाजिक अभियन्ता पदम न्यौपाने, साहित्यकारहरू नम्रता गुरागाईं, अश्विन अधिकारी, राजेश्वरी दुलाल, कल्पना घिमिरे, धर्मराज पन्त, रोशनी पौडेल, बालकृष्ण चौलागाईं, विनोद ढकाल, जगदीश पराजुली, अनन्त पौडेल, पारू तिमल्सिना, कमला शर्मासहितको सहभागिता रहेको थियो ।
साहित्यकार नीलम कार्की निहारिकाले आगामी कार्यक्रमबारे जानकारी दिनुभएको थियो भने सभापति शिखर दुलालले संस्थाका गतिविधिमाथि प्रकाश पार्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच