काठमाडौं महानगरले फोहोर उठाउन थालेकै दिन स्थानीयको अवरोध, फोहोरका गाडी सिसडोल र बञ्चरेडाँडाका बीचमा रोकिए

डिबी शर्मा
Read Time = 6 mins

काठमाडौं । काठमाडौं उपत्यकाबाट फोहोर बोकेका गाडीलाई बञ्चरेडाँडाका स्थानीयवासीले पुनः अवरोध गरेका छन् । सडक मर्मतको काम पूरा नगरी फोहोर लान थालिएको भन्दै बिहीबार स्थानीयले फोहोर बोकेका गाडी रोकेका हुन् । यसअघि फोहोर व्यवस्थापन गर्दै आएको स्थान सिसडोलबाट बञ्चरेडाँडासम्म जाने सडक मर्मतको काम गर्नुपर्ने भएकाले एक हप्तादेखि रोकिएको उपत्यकाको फोहोर बिहीबार उठाउन थालिएको थियो । काठमाडौं महानगरको फोहोर एक सातादेखि उठेको थिएन । फोहोर उठाउन थालिएकै दिन स्थानीयले अवरोध गरेका हुन् ।

कामपाका वातावरण विभागका प्रमुख सरिता राईका अनुसार स्थानीयवासीको अवरोधका कारण फोहोरका गाडी सिसडोल र बञ्चरेडाँडाका बीचमा लामबद्ध बनेका हुन् । आठ दिनपछि बिहीबार उपत्यकाबाट करिब ६० वटा गाडी फोहोर बोकेर गए पनि स्थानीयवासीको अवरोधका कारण फोहोरको व्यवस्थापन हुन नसकेको हो । एक महिनाअघि कामपा र स्थानीयबीच लिचडको व्यवस्थापन हुनुपर्ने, सडक मर्मतको काम पूरा गर्नुपर्ने, दुर्गन्ध हटाउनेजस्ता सहमति भएको थियो । बाटो मर्मतकै कारण उपत्यकाका १८ स्थानीय तहको फोहोर व्यवस्थापनको काम रोकिएको थियो । हरेक दिन उपत्यकाबाट एक हजार २०० मेट्रिक टन फोहोर सिसडोलमा व्यवस्थापन हुँदै आएको थियो । यसमध्ये सबैभन्दा बढी कामपामा ५०० मेट्रिक टन फोहोर निस्कने गर्दछ । उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहोरमध्ये करिब ७५ प्रतिशत उक्त स्थानमा व्यवस्थापन गरिँदै आएको छ ।

भदौ १ गतेदेखि फोहोर फाल्न नदिने चेतावनी
स्थानीयको प्रश्न- काठमाडौंमा यमबुद्धको शालिक बनाउने मेयरले फोहोर फाल्ने ठाउँका लागि किन बजेट तर्जुमा नगरेको ?

बञ्चरेडाँडा ल्यान्डफिल प्रभावित क्षेत्रका सरोकारवालाले भदौ १ गतेदेखि काठमाडौं उपत्यकाको फोहोर विसर्जन गर्न नदिने चेतावनी दिएका छन् । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सरोकारवालाले भदौ १ गतेदेखि फोहोर विसर्जन गर्न नदिने चेतावनी दिएका हुन् । काठमाडौं उपत्यकाको फोहोर उपत्यकाभित्रै व्यवस्थापन गर्ने काठमाडौंका मेयर बालेन्द्र साहले प्रतिबद्धता गरेको भन्दै समिति भदौदेखि बञ्चरेमा फोहोर विसर्जन गर्न नदिएर प्रतिबद्धता कार्यान्वयनमा सहयोग गर्ने सरोकार समितिका संयोजक श्रीराम ढुंगानाले बताउनुभयो । फोहोरमैला व्यवस्थापन गर्दा प्रभावित हुने विशेष संवेदनशील क्षेत्रबाट मानव बस्तीहरू अलग गर्नेलगायत यसअघि महानगरपालिका र सरकारले स्थानीयवासीसँग गरेका सम्झौता कार्यान्वयन गर्न पनि उहाँले आग्रह गर्नुभयो । सम्झौता कार्यान्वयन नगरे आगामी भदौ १ गतेबाट फोहोरका गाडीहरू ल्याण्डफिल साइटमा लैजान सधैँका लागि बन्द गरिने उहाँको भनाइ थियो ।
‘मेयर बालेन्द्र साहले भदौदेखि काठमाडौंभित्र फोहोर व्यवस्थापन गर्छु भनेर भन्नुभएको छ,’ उहाँले भन्नुभयो, ‘उहाँको त्यही योजनालाई साकार बनाउनका लागि हामीले भदौ १ गतेदेखि बञ्चरेमा फोहोर विसर्जन गर्न नदिने निर्णय गर्दै उहाँको योजनालाई सघाउने घोषणा गरेका हौँ । फोहोर विसर्जन रोकिने भएपछि अहिलेदेखि नै वैकल्पिक व्यवस्थापन गर्ने उपाय खोज्नका हामीले पत्रकार सम्मेलन गरेका हौँ ।’ बञ्चरेडाँडामा फोहोर विसर्जन नगरेर फुटबल ग्राउन्ड बनाउन उहाँले आग्रह गर्नुभयो ।

उहाँले नागरिकहरूको सम्पत्तिमा पौडी खेलेर ओखरपौवाका जनताको हक, अधिकारलाई काठमाडौं महानगरपालिका लगायतका सम्बन्धित निकायले चासो नदिएको गुनासो गर्नुभयो । आउँदो दिनमा यो वा त्यो बहानामा फोहोरका लागि छुट नदिने उहाँको भनाइ छ । पत्रकार सम्मेलनमा स्थानीय राजन न्यौपानेले काठमाडौंमा यमबुद्धको शालिक बनाउने मेयरले फोहोर फाल्ने ठाउँका लागि किन बजेट तथा कार्यक्रम तर्जुमा नगरेको ? भन्दै प्रश्न गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?