लगातारको वर्षाले ठाउँठाउँमा बाढी र पहिरो, सडकमा सास्ती, जोखिममा गाउँबस्ती

हिमालय टाइम्स
Read Time = 12 mins

काठमाडौं । देशका विभिन्न ठाउँमा बाढीपहिरोले जनधनको क्षति गरेको छ । पछिल्लो समय निरन्तरको वर्षाका कारण आएको बाढीपहिरोले देशका विभिन्न ठाउँमा जनधनको क्षति गरेको हो । बाढीपहिरोका कारण मंगलबार एकैदिन आधा दर्जन बढीको ज्यान गएको छ भने केही बेपत्ता भएका छन् । विभिन्न ठाउँमा बाढीपहिरोले दर्जनौँ घर भत्काएको छ भने केही ठाउँ डुबानमा परेका छन् । ठाउँठाउँका सडक पहिरोले अवरुद्ध भएका छन् । ठाउँठाउँमा सडक अवरुद्ध हुँदा लामो र छोटो दूरीको यात्रामा रहेका यात्रुहरूले कष्ट भोग्नु परेको छ । विभिन्न नदी र खोलामा आएको बाढीले किनारका बस्ती कटान गरेको भने केही ठाउँ डुबानमा परेका छन् । आइतबारदेखि देशका विभिन्न ठाउँमा निरन्तर वर्षा भइरहेको छ । हरेक वर्ष वर्षायाममा बाढी र पहिरोका कारण नेपालमा सयौँको ज्यान जाने गरेको छ ।

पहिरोले घर पुरिँदा म्याग्दीमा एकै परिवारका पाँचको मृत्यु
म्याग्दीमा पहिरोले घर पुरिँदा एक परिवार सखाप भएको छ । जिल्लाको मालिका गाउँपालिका-२ रुमको घाङ्लेपानीमा पहिरोमा पुरिएर एकै परिवारका पाँच जनाको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार मंगलबार बिहान साढे ६ बजेतिर खसेको पहिरोले पुर्दा घामबहादुर विकका परिवारका पाँचजनाको ज्यान गएको हो । ३७ वर्षीय घामबहादुर विककी श्रीमती, दुई छोरा र एक छोरीको पहिरोमा पुरिएर ज्यान गएको डिएसपी तिलक भारतीले जानकारी दिनुभयो । उहाँका अनुसार घामबहादुरकी श्रीमती ३२ वर्षीया राममाया विक र आठ वर्षीया छोरी रोजी, १३ वर्षका राजन र १५ वर्षका नविनको ज्यान गएको हो । दुई जनाको बिहानै र तीन जनाको दिउँसो शव भेटिएको वडा सदस्य भक्तबहादुर पुनले जानकारी दिनुभयो । उहाँका अनुसार मृतक सबै एकै परिवारका हुन् । बस्तीमाथिबाट पहिरो खसेको आवाज आएपछि भाग्दाभाग्दै सोही ठाउँका गोठे र गोरी विक घाइते भएका छन् । पहिरोस्थलबाटै गोरीको उद्धार गरिएको थियो भने गोठेनजिकै घाइते अवस्थामा भेटिनुभएको थियो । घटनास्थल तामिङ गाउँ रुमको फेदीमा पर्छ । निरन्तर वर्षाका कारण सडक अवरुद्ध भएकाले दरवाङबाट प्रहरी र उद्धारकर्ताको टोली घटनास्थल पुग्न समस्या भएको थियो । पहिरोले रुमका २ घर पुरेको छ भने चार घर उच्च जोखिममा छन् । आइतबारदेखि निरन्तर परिरहेको वर्षातले पहिरो खस्दा म्याग्दी मुस्ताङ बाटोसमेत बन्द भएको छ ।

गण्डक ब्यारेजका सबै ढोका खुला, ४० बढी गाउँ डुबानको जोखिममा
लगातारको वर्षासँगै नारायणी नदीमा पानीको सतह बढेपछि त्रिवेणीधामको गण्डक ब्यारेजका सबै ढोका खोलिएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का निमित्त प्रमुख जिल्ला अधिकारी खिमलाल भुसालले नारायणी नदीको बाढी सतर्कता तह नजिक पुगेपछि गण्डक ब्यारेजका सबै ढोका खोल्न लगाइएको बताउनुभयो । सामान्य अवस्थामा १८ वटा ढोका खुला हुने ब्यारेजमा नदीमा पानीको बहाब बढेसँगै सबै ढोका खोलिएको हो । त्रिवेणीस्थित नारायणी नदीको गण्डक ब्यारेजमा बाँध बाँधेर भारतले सिँचाइका लागि पानी लैजाने गरेको छ । नदीमा पानीको सतह बढ्दो देखिएका कारण आसपासको क्षेत्रमा डुबान र कटानबाट सुरक्षित रहन सर्वसाधारणलाई सूचना जारी गरिएको छ । नारायणी कटानको जोखिममा रहेका गैंडाकोटदेखि त्रिवेणी धामसम्मको क्षेत्र सतर्कता अपनाउन स्थानीय तहलाई सूचित गरिएको स्थानीय प्रसाशनले जनाएको छ । सबै ढोका नखोलिए त्रिवेणीधाम डुबाउने र बगाउने जोखिम हुन्छ । नेपाल भारत सिमानामा बनाइएको बाँध (गण्डक ब्यारेज)को ढोका खोल्ने बन्द गर्ने अधिकार भारतसँग मात्र छ । भारतले गण्डक बाँधको सबै ढोका खोलिदिँदा पूर्वी र पश्चिम नवलपरासीका ४० बढी गाउँ डुबानको जोखिममा परेका छन् ।

कोइली खोलाले बगाउँदा श्रीमतीको मृत्यु, श्रीमान् बेपत्ता
कपिलवस्तुको कोइली खोलाले एक दम्पतीलाई बगाएको छ । बाढीले बगाउँदा बेपत्ता भएका दम्पतीमध्ये श्रीमतीको शव फेला परेको छ । श्रीमान्को अवस्था मंगलबार अबेरसम्म अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । वाणगंगा नगरपालिका-७ बस्ने ३६ वर्षीय दिलकुमार सुनार र उहाँकी ३१ वर्षीया श्रीमती राममाया सुनारलाई खोला तर्ने क्रममा बगाएको थियो । उनीहरूसँगै बगेका १३ वर्षीय छोरा नीरज सुनारलाई भने स्थानीयवासीले उद्धार गरेका थिए । बेपत्ता राममायाको शव एक किलोमिटर तल फेला परेको प्रहरीले जनाएको छ । बेपत्ता सुनारको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

मुग्लिन काट्न ‘महाभारत’
लगातारको वर्षाले ठाउँठाउँमा पहिरो गएपछि नारायणगढ-मुग्लिन सडक खण्ड मंगलबार दिनभरजसो अवरुद्ध भयो । एकठाउँमा पहिरो सफा गरेर सडक नखुल्दै अर्को ठाउँमा पहिरो जाँदा नारायणगढ-मुग्लिन सडक खण्डमा दिनभर नियमित यातायात सञ्चालन हुन सकेन । कतिपय ठाउँमा सोमबार रातिदेखिकै पहिरो पन्छाउन दिनभर लागेको थियो भने मंगलबार दिउँसो पनि ठाउँठाउँमा पहिरो गएको थियो । भरतपुर महानगरपालिका-२९ मौरी खोलामा गएको पहिरोका कारण मंगलबार दिनभर यातायात ठप्प रह्यो । नारायणगढ-मुग्लिन सडक ठाउँठाउँमा अवरुद्ध भएपछि काठमाडौं भित्रिने र बाहिरिने यात्रुहरूले दिनभर सास्ती खेप्नुपर्‍यो । यो सडक काठमाडौंलाई देशको पूर्व र पश्चिम भेगसँग जोड्ने मुख्यमार्ग हो । दैनिक १० हजारभन्दा बढी गाडी ओहोरदोहोर गर्ने यो सडकमा वर्षायाममा हरेक वर्ष पहिरोले सताउने गर्छ ।

त्रिभुवन राजपथबाट रात्रि सेवाको बस सञ्चालनमा रोक
त्रिभुवन राजपथबाट काठमाडौंतर्फ रात्रिबस चल्न रोक लगाइएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले त्रिभुवन राजपथको मोड साँघुरो भएका कारण यात्रुको सुरक्षालाई मध्यनजर गर्दै मुग्लिन सडक सञ्चालनमा नआएसम्म त्रिभुवन राजपथबाट काठमाडौंतर्फ रात्रिबस चल्न रोक लगाएको हो । रात्रिबस चल्न रोक लगाएसँगै हेटौँडामा नै प्रतीक्षा लाममा राख्ने व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार लगातार परेको वर्षासँगै आएको पहिराका कारण चितवन-मुग्लिन सडकखण्ड अवरुद्ध भएपछि पूर्वबाट काठमाडौंतर्फ जाने रात्रि सेवाले त्रिभुवन राजपथ प्रयोग गर्ने गरेका छन् ।

विपद् प्रभावितको उद्धार र राहतमा जुट्न गृहमन्त्रीको निर्देशन
गृहमन्त्री बालकृष्ण खाँणले मुलुकका विभिन्न स्थानमा गएको बाढीपहिरोले पु¥याएको क्षतिबारे जानकारी लिई राहत, उद्धार र व्यवस्थापनमा जुट्न निर्देशन दिनुभएको छ । गृहमन्त्री खाँणले म्याग्दीको मालिका गाउँपालिका–२ रुममा गएको पहिरो, चितवनको भरतपुर महानगरपालिका-२९ केराबारीमा गएको पहिरोले पुर्‍याएको सडक अवरोध र चितवनकै इच्छाकामना गाउँपालिकामा गएको पहिरोबाट भएको क्षति, उद्धार र राहत तथा सडक खुलाउन भइरहेको प्रयासबारे जानकारी लिनुभएको हो । उहाँले नेपाल प्रहरीका गण्डकी प्रदेश प्रमुख प्रहरी नायव महानिरीक्षक रामदत्त जोशी, म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी राना, चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, म्याग्दीका प्रहरी प्रमुख तिलक भारती लगायतलाई टेलिफोन गरेर घटनाबारे जानकारी लिई आवश्यक व्यवस्थापनका लागि निर्देशन दिनुभएको हो । उहाँले विपद् व्यवस्थापनमा समस्या परेमा मन्त्रालयमा खबर गर्नसमेत निर्देशन दिनुभएको छ ।

आजदेखि मौसममा सुधार आउने
आज (बुधबार)देखि मौसम सुधार हुने भएको छ । आजदेखि मनसुनको न्यून चापीय रेखामाथि अर्थात् भारततिर सर्ने सम्भावना रहेकाले मनसुन केही कमजोर भई मौसम सुधार हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका मौसमविद् मञ्जुवसीका अनुसार पछिल्लो केही दिनयता देशको अधिकांश स्थानमा निरन्तर वर्षा भइरहेको छ । यो क्रम बधुबारदेखि रोकिने उहाँको भनाइ छ । अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतिर अवस्थित रहेको विभागले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?