नेकपा (एकीकृत समाजवादी) काठमाडौँको अध्यक्षमा श्रेष्ठ

Read Time = 3 mins

नेकपा (एकीकृत समाजवादी) काठमाडौँ जिल्ला कमिटीको अध्यक्षमा एलपी श्रेष्ठ चयन हुनुभएको छ ।

यहाँ आज आयोजित पूर्ण बैठकले अध्यक्ष श्रेष्ठको नेतृत्वमा दुई सय ७१ सदस्यीय कमिटी चयन गरेको हो ।

बैठकको उद्घाटन गर्दै पार्टीका अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा पाँच दलीय गठबन्धनले देशैभर साझा उम्मेदवार उठाउने बताउनुभयो । गठबन्धनको सहयोगबाट स्थानीय तहको निर्वाचनमा सबै पार्टी लाभान्वित भएको बताउँदै उहाँले मुलुकको समृद्धिका साथै राजनीतिक स्थिरताका लागि गठबन्धनको खाँचो औँल्याउनुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले न्यायपूर्ण समाज तथा समानता र सहअस्तित्वको समाज कायम गर्ने समाजवादको उद्देश्य रहेको प्रष्ट पार्नुभयो । मुलुकमा युवा वेरोजगारी अन्त्य गर्न सीपयुक्त जनशक्तिको विकास गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष नेपालले त्यसले जनताको सामाजिक तथा आर्थिक रुपान्तरण गर्ने विश्वास व्यक्त गर्नुभयो । मुलुकमा भित्रिएको विप्रेषणलाई राष्ट्रिय पूँजी निर्माणमा उपयोग गरी देशलाई औद्योगिकरण गर्न आवश्यक रहेको बताउनुभयो ।

उहाँले समान विचार भएका पार्टीसँग एकताको सम्भावना रहेको भए पनि नेकपा ९एमाले० सँग तत्काल एकता नहुने बताउनुभयो । अध्यक्ष नेपालले देशभर जनतालाई राजनीतिक रुपमा सङ्गठित गर्न अहिले सात सय ५३ पालिकामा पार्टीको सङ्गठन विस्तार भइरहेको जानकारी दिँदै जनताको चेतना भर्न र उनीहरुलाई जागृत गर्न कम्युनिष्ट पार्टीको भूमिका उल्लेखनीय रहेको विचार व्यक्त गर्नुभयो ।

उक्त कार्यक्रममा जिल्ला कमिटीका निवर्तमान अध्यक्ष कुसुमकुमार कार्कीले स्थानीय तहको निर्वाचनको समीक्षा ः आगामी निर्वाचनको कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । नवनिर्वाचित अध्यक्ष श्रेष्ठले कमिटीलाई सशक्त रुपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्दै आगामी निर्वाचन लक्षित कार्ययोजना तयार गरी प्रचारप्रसारमा कमिटी क्रियाशील हुने बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?