‘एक्सन’मा बालेन, अवैध संरचनामा महानगरको डोजर

डिबी शर्मा
Read Time = 8 mins

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन) ‘एक्सन’मा उत्रिनुभएको छ । महानगरभित्र नक्सा पासबिनै अवैध रूपमा निर्माण गरिएका संरचना भत्काउन मेयर साह आफैँ फिल्डमा उत्रिनुभएको हो । बुधबार मेयर साहकै उपस्थितिमा सुन्धारा, न्युरोड क्षेत्रमा अनधिकृत रूपमा बनाइएका संरचनामा डोजर चलाइएको छ । सुन्धारास्थित काठमाडौं मलअगाडि नक्सा पासबिनै बनाइएका अवैध संरचनामा महानगरले डोजर चलाएको हो । काठमाडौं मलअगाडि रहेका अवैध संरचना भत्काएपछि मेयर साह खिचापोखरी नजिकैको आरबी कम्प्लेक्स पुग्नुभएको थियो ।

त्यहाँ पुगेर पार्किङका लागि भनेर नक्सा पास गरिएको स्थानमा चलाइएको आरबी क्याफे तत्काल हटाउन साहले निर्देशन दिनुभएको छ । पार्किङका लागि नक्सा पास भएको स्थानमा बनाइएको क्याफे खाली नगरिए भत्काउने चेतावनीसमेत उहाँले दिनुभएको छ । मेयर साहको निर्देशनसँगै त्यहाँ बनाइएका अन्य संरचना पनि महानगरको टोलीले भत्काएको छ । नक्सा पासबिना बनाइएका अन्य टहरा र संरचना महानगरको डोजरले भत्काएर खाली गरेको हो । महानगरले यसैसाता नयाँ बानेश्वरमा पार्किङका लागि बनाइएको अण्डरग्राउण्डमा राखिएका पसल भत्काएको थियो । अण्डरग्राउण्ड पार्किङका लागि भनेर बनाइएका घर तथा सपिङ मल व्यावसायिक रूपमा भाडामा लगाएको पाइएपछि महानगरले भत्काउन सुरु गरेको हो ।

अवैध संरचना हटाउन चेतावनी
मेयर साहले नक्सा पासबिनै बनाइएका अवैध संरचना हटाउन चेतावनी दिनुभएको छ । दरबारमार्ग र बबरमहल क्षेत्रमा अनधिकृत रूपमा बनाइएका संरचना हटाउन उहाँले चेतावनी दिनुभएको हो । बबरमहलमा रहेको जिल्ला अदालत काठमाडौंलाई नक्सा पास भएको विवरण पठाउन पत्राचार गरेको महानगरले जनाएको छ । अदालतको भवनको नक्सा पास नभेटिएको भन्दै प्रमाण पठाउन पत्राचार गरेको हो । नक्सा पास नभएको पाइए कानुनी रूपमा अगाडि बढ्ने महानगरले जनाएको छ । त्यस्तै, मेयर साहले नविल बैंकको न्युरोड शाखा हटाउन निर्देशन दिनुभएको छ । अनुगमनका क्रममा अण्डरग्राउण्डमा कार्यालय रहेकाले तत्काल हटाई खाली गर्न निर्देशन दिएको मेयर बालेनका स्वकीय सचिव भुपदेश साहले जानकारी दिनुभयो । मेयर साहले बुधबार नै कोटेश्वर क्षेत्रको फुटपाथ र पार्किङको अनुगमनसमेत गर्नुभएको छ । नक्सा पासविपरीत तथा अनधिकृत रूपमा बनाइएको संरचना हटाउन मेयर बालेन महानगरको टोली र प्रहरीसहित कोटेश्वर पुग्नुभएको थियो ।

स्थानीय व्यापारीहरूमा खैलाबैला
काठमाडौं महानगरले अवैध संरचना भत्काउन थालेसँगै स्थानीय व्यापारीहरूमा खैलाबैला मच्चिएको छ । अवैध संरचना भत्काउने काम स्वागतयोग्य भए पनि मानवताको हिसाबले केही समय दिनुपर्ने धारणा स्थानीय व्यापारीहरूले राखेका छन्् । सबै व्यापारीलाई एकैठाउँ राखेर महानगरले एकपटक कुरा गरेको भए व्यापारीलाई धेरै मर्का नपर्ने उनीहरूको भनाइ छ । काठमाडौं मलमा भेटिएका एक व्यापारीले आफूहरूले सम्झौताअनुरूप भाडा तिरिरहेको र राज्यलाई कर पनि तिरिरहेको भन्दै संरचना भत्काउँदा लगानी अनुरूपको क्षतिपूर्ति दिनुपर्ने माग गर्नुभयो । व्यापारीलाई अन्य ठाउँमा व्यवस्थापन गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो । अर्का व्यापारीले आफूहरूले सञ्चयकोषको जग्गामा संरचना बनाएर व्यापार गर्न ठेकेदारमार्फत सम्झौता गरेको भन्दै सञ्चयकोष र महानगरबीचको सहमतिमा संरचना भत्काएको भए उपयुक्त हुने बताउनुभयो । उहाँले आफूहरूको सम्झौताअनुसार अझै साढे दुई वर्ष भोगचलन गर्न बाँकी रहेको बताउनुभयो ।

कानुन ठूलो-सानो सबैलाई लाग्छ, अवैध संरचना हटाएरै छाड्छौँ : मेयर साह
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले सबैखाले अवैध संरचना हटाएरै छाड्ने बताउनुभएको छ । बुधबार अवैध संरचना भत्काउन आफैँ फिल्डमा पुग्नुभएका मेयर साहले साना–ठूला कसैलाई पनि नछाड्ने चेतावनी दिनुभयो । उहाँले थापाथलीस्थित नर्भिक अस्पतालले सडक मिचेर बनाएको अवैध संरचना पनि हटाएर छाड्ने बताउनुभयो । ‘काठमाडौं जिल्ला अदालतको समेत खाली गराइँदै छ । हामीले जिल्ला अदालतलाई पनि समय दिएका छौँ, अवैध संरचना जसले बनाएको भए पनि त्यो कानुनको दायरामा ल्याइन्छ,’ उहाँले भन्नुभयो, ‘ठूलो–सानो सबैलाई कानुन लाग्छ । हामी नर्भिकको अवैध संरचना पनि हटाएरै छाड्छौँ ।’

शिक्षक र कर्मचारीलाई दलीय आबद्धता त्याग्न निर्देशन
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले महानगरका शिक्षक तथा कर्मचारीहरूलाई राजनीतिक दलमा भएको आबद्धता त्याग्न निर्देशन दिनुभएको छ । मेयर साहले बुधबार विज्ञप्ति जारी गर्दै महानगरपालिका अन्तर्गतका शिक्षक तथा कर्मचारीलाई दलीय आबद्धता त्याग्न निर्देशन दिनुभएको हो । ‘काठमाडौं महानगरपालिका अन्तर्गतका शिक्षक तथा कर्मचारीलाई दलीय आबद्धतासँग सम्बन्धित कुनै पनि प्रकारको सदस्यता नदिन वा सदस्यता दिएको भए रद्द गर्न सम्बन्धित राजनीतिक दल, भ्रातृ संस्था वा शुभेच्छुक संस्थालाई हार्दिक अपिल गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘साथै, राजनीतिक दल, भ्रातृ संस्था वा शुभेच्छुक संस्थाको सदस्यको रूपमा राजनीतिक आबद्धता कायम राखेको भएमा काठमाडौं महानगरपालिका अन्तर्गतको शिक्षक तथा कर्मचारीले त्यस्तो आबद्धता तत्काल त्याग गरी कानुनको परिपालना गर्न सूचित गरिन्छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?