निर्वाचन खर्च सार्वजनिक गर्न आयोगको निर्देशन

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाका उम्मेदवारलाई निर्वाचन खर्च विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ । आयोगका उपसचिव एवं सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार मंसिर ४ गते प्रतिनिधिसभातर्फ आयोगमा ३५ दिनभित्र निर्वाचन खर्च पेस गर्ने दुई हजार ३७३ र प्रदेशसभातर्फ तीन हजार १८८ गरी जम्मा पाँच हजार ५६१ जना उम्मेदवारलाई निर्वाचन कसुर तथा सजाय ऐन, २०७३ बमोजिम सात दिनभित्र निर्वाचन खर्च विवरण सार्वजनिक गरी सो जानकारी आफू उम्मेदवार भएको जिल्लाको प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमा पेस गर्न निर्देशन दिइएको छ ।

यसैगरी, ३५ दिनभित्र निर्वाचन खर्च विवरण नबुझाउने प्रतिनिधिसभातर्फ ३७ र प्रदेशसभातर्फ ३७ गरी जम्मा ७४ जना उम्मेदवारको नाम आयोगको वेबसाइटमा प्रकाशित गरेर स्पष्टीकरण सोध्ने आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । आयोगले ७४ जना उम्मेदवारलाई तोकिएको समयावधिभित्र के कुन कारणले निर्वाचन खर्चको विवरण नबुझाएको हो ? विवरण नबुझाएमा ऐनबमोजिम किन कारबाही हुनु नपर्ने हो ? भन्ने स्पष्टीकरण सोध्ने र सम्बन्धित उम्मेदवारले आफ्नो सफाइसहितको स्पष्टीकरण सात दिनभित्र जिल्ला निर्वाचन कार्यालय वा आयोगमा पेस गर्न निर्देशन दिएको छ ।

उपनिर्वाचनको प्रचारमा हेलिकप्टरको प्रयोग नगर्न सूचित
निर्वाचन आयोगले उपनिर्वाचनको प्रचारमा हेलिकप्टर प्रयोग नगर्न सूचित गरेको छ । आयोगका उपन्यायाधिवक्ता तथा सहायक प्रवक्ता गुरुप्रसाद वाग्लेले विज्ञप्ति जारी गर्दै यातायातमार्फत नै प्रचार गर्न सकिने भन्दै उम्मेदवार र दलका नेता कार्यकर्तालाई हेलिकप्टर प्रयोग नगर्न निर्देशन दिनुभएको हो । ‘निकट भविष्यमा उपनिर्वाचन हुन गइरहेका उल्लेखित जिल्लाहरूमा निर्वाचन आचारसंहिताबमोजिम हेलिकप्टर प्रयोग नगरी प्रचारप्रसार गर्न सकिने अवधि पर्याप्त रहेको साथै उक्त जिल्लाहरूमा यातायातको सहज पहुँच समेत रहेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘यसरी यातायातको सहज पहुँच रहेका स्थानमा राजनीतिक दलका नेता तथा उम्मेदवारहरूले निर्वाचन प्रचारप्रसारको लागि हेलिकप्टर प्रयोग गर्नु मितव्ययिताको सिद्धान्त समेतको प्रतिकूल हुन जाने भएकोले संवत् २०८० साल वैशाख १० गते हुने उपनिर्वाचनमा उम्मेदवार, दलका नेता तथा कुनै पनि प्रचारकले हेलिकप्टर सेवा प्रयोग नगर्नुहुन सूचित गरिन्छ ।’

साथै, आयोगले निर्वाचन आचारसंहिताको पूर्ण कार्यान्वयनका लागि सरकारी निकाय तथा निजी हेलिकप्टर सेवा प्रदायकलाई आयोगको सहमतिबिना सेवा उपलब्ध नगराउन जानकारी गराएको छ । वैशाख १० गते बारा-२, चितवन-२ र तनहुँ-१ मा उपनिर्वाचन हुँदै छ ।

परिचयपत्रबाट पाइन्छ भोट हाल्न
निर्वाचन आयोगले वैशाख १० गते हुने उपनिर्वाचनमा मतदाता परिचयपत्र नभए अन्य परिचयपत्रबाट मतदान गर्न पाउने निर्णय गरेको छ । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार मतदाताको अन्तिम नामावलीमा नाम भएकाले मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, जग्गाधनी प्रमाणपत्र पुर्जा, सवारी अनुमति पत्रबाट मतदान गर्न पाइन्छ । बारा क्षेत्र नम्बर २, चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ मा उपनिर्वाचन हुँदै छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?