नयाँ स्टक एक्सचेन्ज कम्पनी आउँदै, नियमावली संशोधनका लागि अर्थ मन्त्रालयमा

Read Time = 5 mins

काठमाडौं । धितोपत्र बजार सञ्चालन नियमावली २०६४ संशोधन हुने भएको छ । नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्ज कम्पनी ल्याउन नियमावली संशोधन गरी अर्थ मन्त्रालय पठाएको छ । बोर्डको हालै सम्पन्न सञ्चालक समिति बैठकको निर्णयअनुसार नयाँ आउने स्टक एक्सचेन्जको चुक्ता पुँजी तीन अर्ब हुुनुपर्नेछ ।

हाल पाँच करोड रहेको चुक्ता पुँजीलाई ६० गुणाले बढाउने गरी संशोधन गर्न लागिएको छ । बोर्ड अध्यक्ष रमेश हमालले नयाँ स्टक सञ्चालनका लागि प्रक्रिया अघि बढेको बताउनुभएको छ । बोर्डले अर्थमा पठाएको नियमावली संशोधन मन्त्रिपरिषद् बैठकबाट पारित भएमा नयाँ स्टक सञ्चालन गर्न प्रक्रिया अघि बढ्नेछ ।

स्टक एक्सचेन्जको सेयर स्वामित्व लिन सक्नेमा बैंक, वित्तीय संस्था, सूचीकृत कम्पनी, ब्रोकर रहेकोमा अबदेखि पब्लिक तथा प्राइभेट लिमिटेड कम्पनीले पनि सेयर स्वामित्व लिन सक्ने व्यवस्था थप गरिएको छ । त्यस्तै कुनै पनि संगठित संस्थाले स्टक एक्सचेन्जको सेयर स्वामित्व १० प्रतिशतमात्र लिन सक्ने व्यवस्थासमेत संशोधन गरी १५ कायम गरिएको बोर्ड अध्यक्ष हमालले जानकारी दिनुभएको छ ।

हमालका अनुुसार नयाँ स्टकमा सरकारी संस्थाको लगानी हुँदैन, पब्लिक र निजी कम्पनीको मात्रै सेयर हुन्छ । नयाँ स्टक एक्सचेन्ज कम्पनी आएपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) नेप्सेले प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । अध्यक्ष हमालले बोर्ड र नेप्सेलाई स्वायत्त निकायका रूपमा काम गर्न नदिएसम्म पुँजी बजारले गति लिन नसक्ने बताउँदै आउनुभएको छ । हाल दुवै निकाय अर्थ मन्त्रालयका विभागजस्तो रहेको उहाँको भनाइ छ ।

हमालका अनुुसार नयाँ स्टकमा सरकारी संस्थाको लगानी हुँदैन, पब्लिक र निजी कम्पनीको मात्रै सेयर हुन्छ । नयाँ स्टक एक्सचेन्ज कम्पनी आएपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) नेप्सेले प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ ।

धितोपत्र बजार सञ्चालन नियमावली २०६४ संशोधनको तयारीको असर सेयर बजारमा पनि परेको छ । विगत केही सातादेखि निरन्तररूपमा घटेको सेयर बजार आइतबार भने बढेको छ । आइतबार नेप्से ६.६८ अंकले बढेर १९७७.३० अंकमा पुगेको छ । तर, कारोबार रकम भने बढेको छैन । यस दिन एक अर्ब सात करोड १६ लाख १५ हजार नौ सय २२ रुपैयाँको सेयर कारोबार भएको छ भने दुई सय २७ कम्पनीका २८ लाख ७६ हजार दुई सय ८८ कित्ता सेयर कारोबार भएका छन् । कारोबार रकममा अग्रस्थानमा रहेको रिडी हाइड्रोपावरको आठ अर्ब ९१ करोडको कारोबार भएको छ भने नेपाल टेलिकमको छ करोड ५३ लाख र नबिल बैंकको छ करोड ३० लाखको कारोबार भएको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्स, हिमालयन डिष्टिलरी, नेष्डो समृद्ध लघुवित्त, एचआइडिसिएल संस्थापक, अरुण काबेली पावर, अपर हेवाखोला र आइएमई जनरल इन्स्योरेन्स शीर्ष १० कम्पनीभित्र समेटिएका छन् । १०औं ठूलो कारोबार भएको आइएमई जनरल इन्स्योरेन्सको एक करोड ६९ लाखको कारोबार भएको छ ।

रुरु जलविद्युत् कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ भने हिमालयन एभरेष्टको सेयर मूल्य ८.४२, जोशी हाइड्रोपावर ८.१२, युनाइटेड इन्स्योरेन्स ६.३३, अपर हेवाखोला ५.७५, श्वेतगंगा हाइड्रोपावर ५.७० प्रतिशत र हिमालयन एभरेष्ट इन्स्योरेन्सको सेयरमूल्य ५.४३ प्रतिशतले बढेको छ । आइएमई जनरल इन्स्योरेन्स, जाल्पा लघुवित्त र रिडी पावरको सेयरमूल्य चार प्रतिशतभन्दा बढीले बढेको छ । सपोर्ट लघुवित्तको २.८६ प्रतिशत, सोल्टी होटेल १.९१, नेपाल दूरसञ्चार कम्पनीको १.९०, माहुली लघुवित्त १.८३ र राधी विद्युत् कम्पनी १.७९ प्रतिशतले घटेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?