चिनियाँ जनकंग्रेसका अध्यक्ष ली काठमाडौंमा, आज प्रधानमन्त्री देउवासँग भेटवार्ता गर्दै

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको औपचारिक निमन्त्रणामा चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समिति अध्यक्ष ली चान्सु नेपाल आइपुग्नु भएको छ । उहाँ सोमबार ३ बजे ६७ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै काठमाडौं आइपुग्नु भएको हो । उहाँलाई स्वागत गर्न सभामुख अग्निप्रसाद सापकोटा लगायतको टोली विमानस्थलमा पुगेको थियो ।

उहाँ काठमाडौं आइपुग्दा कडा सुरक्षा व्यवस्था गरिएको थियो । सडक खाली गरेर उहाँलाई होटलसम्म पुर्‍याइएको थियो । प्रहरीले उहाँको सवारीका क्रममा सडकका दायाँबायाँ सर्वसाधारणलाई आवतजावतमा समेत रोक लगाएको थियो ।

चान्सु र सभामुख अग्निप्रसाद सापकोटाबीच संघीय संसद् भवन नयाँ बानेश्वरस्थित सभामुखको कार्यकक्षमा सोमबार भेटवार्ता भएको छ । संघीय संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा नेपाल र चीनको संसद्का नेतृत्वसहित प्रतिनिधि मण्डलबीच द्विपक्षीय भेटवार्ता भएको हो । भेटवार्तामा दुई देशको आपसी हित र सम्बन्धमा विषयमा छलफल भएको संसद् सचिवालयले जानकारी दिएको छ ।

भेटमा संसद्मा रहेका दलका प्रमुख सचेतक, सचेतक र नेपाल-चीनमैत्री संसदीय समूहको टोलीका सदस्यसमेत रहेको सभामुखको सचिवालयले जनाएको छ । भेटका क्रममा नेपालको संघीय संसद् र चीनको राष्ट्रिय जनकंग्रेसका बीचमा द्विपक्षीय सहकार्य गर्ने तथा भ्रमण आदान-प्रदानलगायत सम्झौतामा भएको जनाइएको छ । अध्यक्ष लीको सम्मानमा सभामुख सापकोटाले सोमबार साँझ रात्रिभोजको आयोजना गर्नुभएको थियो ।

नेपाल भ्रमणका क्रममा लीले सभामुख सापकोटासहित राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्का, नेकपा एमालेका अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

नेपालमा रहँदा उहाँले चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणमा भएको सहमतिअनुसार अघि बढेका कार्यक्रमको प्रगतिको अनुभव आदानप्रदान गर्नुका साथै बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) परियोजना तथा अन्य विकास साझेदारीका बारेमा छलफल गर्नुहुने छ ।
यो भ्रमणलाई नियमित र दुई देशको सम्बन्ध तथा सहकार्य विस्तारका लागि रहेको बताइए पनि यसको भित्री उद्देश्य नेपालमा चीनको भू-राजनीतिक चासो रहेको परराष्ट्रविद्हरू बताउँछन् ।

पछिल्लो ६ महिनामा चीनबाट यो तेस्रो उच्चस्तरीय भ्रमण भएको हो । यसअघि गत चैतमा चीनका स्टेट काउन्सिलरसमेत रहनुभएका चिनियाँ विदेशमन्त्री वाङ यीले काठमाडौंको भ्रमण गरी उच्च राजनीतिक नेतृत्वसँग द्विपक्षीय विषयमा विस्तृत छलफल गर्नुभएको थियो । नेपाल भ्रमणका आउनुभएका अध्यक्ष ली तेस्रो वरीयताका चिनियाँ नेता हुनुहुन्छ । २०७६ असोजमा राष्ट्रपति सी चिनफिङको भ्रमणपछि नेपाल भ्रमण गर्ने ली उच्च चिनियाँ अधिकारी हुनुहुन्छ ।

अध्यक्ष ली रुस, मंगोलिया हुँदै नेपाल आउनुभएको हो । नेपाल भ्रमणपछि उहाँ दक्षिण कोरिया हुँदै चीन फर्कने कार्यक्रम रहेको चिनियाँ सञ्चार माध्यमले जनाएका छन् ।

प्रतिनिधिसभा र चिनियाँ जनकंग्रेसबीच ६ बुँदे समझदारी
नेपालको प्रतिनिधिसभा र चीनको राष्ट्रिय जनकंग्रेसबीच ६ बुँदे समझदारी भएको छ । नेपाल र चीनबीच ६ बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको हो । नेपालका सभामुख अग्निप्रसाद सापकोटा र चीनको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुबीच उक्त समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

समझदारी पत्रमा सन् २०१९ को अक्टोबरमा चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रणका क्रममा नेपाल सरकार र चीनबीच भएको विकास र समृद्धिको लागि चिरकालसम्म मैत्रीपूर्ण द्विपक्षीय सम्बन्धनलाई अभिवृद्धि गर्ने निर्णयलाई आधार मान्दै दुई देशका संसद्बीच सहयोग र सद्भाव कायम रहने उल्लेख छ ।

पत्रमा आपसी विश्वास सुदृढ र विकास गर्ने, एकअर्काको स्वतन्त्रता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गर्ने, एक अर्काको स्वतन्त्र रुपमा छनोट गरिएको सामाजिक प्रणाली र विकास पथको सम्मान गर्ने उल्लेख छ ।
यस्तै समझदारी पत्रमा दुई संसदबीच भ्रमणको आदानप्रदान बढाउने, संसदका मैत्री समूहरूलाई सक्रिय बनाउने जस्ता कुरा पनि उल्लेख गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?