नेपालमा सालिकको राजनीतिः हिजो र आज

Read Time = 24 mins

✍️ प्रा.डा. तीर्थप्रसाद मिश्र

विश्वमा इतिहासलाई हेर्ने हो भने शासक, अन्वेषक तथा साहित्यकारजस्ता इतिहासप्रसिद्ध विशिष्ट व्यक्तित्वको सालिक बनाई सार्वजनिक स्थलमा प्रतिष्ठापन गर्ने प्रचलन रहेको पाइन्छ । प्राचीनकालमा चाहिँ विभिन्न देवीदेवता, जनावर तथा पशुपंक्षीका आकृतिका प्रतिमूर्ति बनाउने परिपाटी थियो । यही परिपाटी विकास हुँदै जाँदा मूलतः देश, जनता, साहित्य, अनुसन्धान तथा आविष्कारजस्ता क्षेत्रमा प्रशंसनीय एवं अनुकरणीय भूमिका निर्वाह गरेका वीर, त्यागी तथा मुलुकको हितमा आफ्नो जीवन उत्सर्ग गर्ने व्यक्तिहरूको सालिक बनाई सार्वजनिक स्थलमा राख्ने गरिएको पाइन्छ ।

यस कार्यबाट उनीहरूको सत्कार्यको भावी पुस्तालाई स्मरण गराउने तथा प्रेरणा दिलाउने पुनित उद्देश्य राखिएको हुन्छ । यसै पृष्ठभूमिमा सालिक निर्माण कलाको विकास हुँदै जाँदा शासकहरूमा पनि सालिक मोह बढ्दै गयो । अतः सालिक निर्माण भक्तिप्रदर्शन गर्ने माध्यम बन्न गयो । सालिक वा सालिग जे भने पनि यो अरबी भाषाबाट आएको आगन्तुक शब्द हो (बद्रीप्रसाद दाहाल, भ्युटावर र सालिक आन्दोलनका मालिकहरू, हिमालय टाइम्स, १ श्रावण २०७९) । विभिन्न धातु, ढुंगा, काठ आदिबाट निर्मित कुनै व्यक्तिको प्रतिकृति हो, सालिक । यो कालान्तरमा इतिहासको महत्वपूर्ण दस्तावेज सिद्ध भएको छ । सालिकले तत्कालीन समयको पहिरन, केशविन्यास, कला र सीपको विशिष्टता तथा राजनीतिजस्ता विषयमा अध्ययन गर्न सकिन्छ र भइरहेको दृष्टान्त पनि पाइन्छ ।

प्राचीन रोम, इजिप्ट तथा चीनजस्ता कुनै समयमा सभ्यताको चुलीमा पुगेका देशहरूमा विभिन्न कालखण्डमा बनेका सालिकहरू सार्वजनिक स्थल र संग्रहालयमा हाल पनि देख्न सकिन्छ । सन् १७८९ को फ्रान्सेली राज्यक्रान्तिदेखि सन् १९१४ सम्म विश्वमा सालिक बनाउने होड नै चल्यो । यसै क्रममा पेरिसमा ७८, बर्लिनमा ५९, लण्डनमा ६१ (स-साना सालिक गणना नभएको) वटा सालिक खडा भए । यसैकारण १९ औं शताब्दीलाई सालिक निर्माणको युग पनि भन्ने गरियो (साइमन जोन, स्ट्याचु, पोलिटिक्स एण्ड पास्ट, हिस्ट्री टुडे, भोलुम ६९, संख्या ९, सेप्टेम्बर २०१९) ।

नेपाल पनि कलाकृति, वास्तुकला, मूर्तिकला तथा चित्रकलाका क्षेत्रमा विश्वप्रसिद्ध छ । नेपालले ढुंगाका मूर्ति, ढलौटका मूर्ति, काष्ठकला, चित्रकला, वास्तु एवं स्थापत्यकलाका क्षेत्रमा विशेषज्ञता हासिल गरेको भए तापनि सालिक निर्माण कलामा भने अलि पछाडि नै छ ।

यिनै सालिकका कारण विश्वका कतिपय स्थान पर्यटकका लागि चर्चित गन्तव्यस्थल बनेका थिए । अमेरिकाको साउथ डाकोटा राज्यको रसमोर पहाडमा खोपेर बनाइएको अमेरिकी पूर्वराष्ट्रपति जर्ज वासिंटन, थोमस जेफरसन, थियोडोर रुजबेल्ट, अब्राहम लिंकनका प्रतिमूर्ति÷सालिक संसारकै एक प्रमुख पर्यटकीय स्थल बनेको छ । यसैगरी फ्रान्सले अमेरिकालाई दिएको स्वतन्त्रताको सालिक (क्तबतगभ या ीष्दभचतथ) नामक सालिक मानवनिर्मित सप्त आश्चर्यमध्येको एक मानिएको छ ।

युरोपका प्रायः सबै सहरहरूमा सालिकहरू गहनाका रूपमा सार्वजनिक स्थलमा राखिएका छन् । पेरिसको संसारकै सबैभन्दा ठूलो संग्रहालय पनि पुराना सालिक तथा मूर्तिकै कारण पनि विश्वप्रसिद्ध भएको हो । भारतमा सबैभन्दा बढी महात्मा गान्धीका सालिक निर्माण भएका छन् । संसारकै सबैभन्दा अग्लो सरदार बल्लभ भाइ पटेलको सालिक भारतमा नै छ । यसैगरी संसारकै विशालकाय सालिकका रूपमा ब्राजिलको रियो दि जेनेरियोमा रहेको सालिकलाई मानिन्छ । यी सबै सालिकहरूले सम्बन्धित मुलुकको पूर्वइतिहास संस्मरण गराइरहेका छन् । सालिकले सम्बन्धित व्यक्तिको सकारात्मक मात्र नभएर नकारात्मक सूचना पनि प्रवाह गरेका छन् । सालिकले रोम, कायरो, लण्डन तथा पेरिसजस्ता सहरको सुन्दरता बढाएको टिप्पणी गर्ने गरिन्छ ।

नेपाल पनि कलाकृति, वास्तुकला, मूर्तिकला तथा चित्रकलाका क्षेत्रमा विश्वप्रसिद्ध छ । नेपालले ढुंगाका मूर्ति, ढलौटका मूर्ति, काष्ठकला, चित्रकला, वास्तु एवं स्थापत्यकलाका क्षेत्रमा विशेषज्ञता हासिल गरेको भए तापनि सालिक निर्माण कलामा भने अलि पछाडि नै छ । लिच्छविकालमा राजपरिवारबाहेक अन्य व्यक्तिले सालिक निर्माण गर्दा राजाबाट स्वीकृति लिनुपर्दथ्यो । राजा मानदेवको पालामा निरपेक्ष भन्ने एक व्यक्तिले आफ्ना आमाबुवाको सालिक बनाउँदा सरकारबाट स्वीकृति लिएको उल्लेख खाइन्छ (तीर्थप्रसाद मिश्र, के लिच्छवि काल स्वर्णयुग हो ?, हिमालय टाइम्स, २०७८ कात्तिक ७) ।

खगनाथ अधिकारीले अंशुवर्माको सालिक/चित्रको चर्चा गरेका छन् (मिथ एण्ड रियालिटी, काठमाडौं : सन् १९७७ पृ ७८) तर लिच्छविकालमा निर्माण भएका सालिकहरूका विषयमा जानकारी पाउन सकिएको छैन । पाटनमा रहेको योगनरेन्द्र मल्ल र भक्तपुरमा रहेको भूपतीन्द्र मल्लको धातुका सालिक उल्लेख्य मानिन्छन् भने रानीपोखरीस्थित प्रताप मल्लसहित उनका छोराको सालिक पनि मनमोहक नै छन् । वास्तवमा वास्तुकला र चित्रकलाको क्षेत्रमा भने कलाकार अरनिकोले नेपालको प्रसिद्धिभोट, चीन, मंगोलिया र इण्डोनेसियासम्म पुर्‍याएका थिए ।

सालिक निर्माणमा पश्चिमी शैलीको थालनी भने जंगबहादुरले गरेका थिए । उनले लण्डन तथा पेरिस भ्रमण गर्दा सार्वजनिक स्थलमा राखिएका सालिकहरू देखे । त्यसबाट प्रभावित भई उनले पनि आफ्नो सालिक बनाउन लगाएका थिए । जंगबहादुरको अनुसरण गर्दै रणोद्दीप सिंह, वीरशमशेर, चन्द्रशमशेर तथा मोहनशमशेरले समेत आफ्नै सालिक बनाउन लगाई काठमाडौंका विभिन्न स्थानमा राखेका थिए । हाल पनि टुँडिखेलको वरिपरि घोडामा सवार भएका राणा प्राइमिनिस्टरहरूका सालिक देख्न सकिन्छ । श्री ५ पृथ्वीवीरविक्रमको लुमडीमा र श्री ५ त्रिभुवनको त्रिपुरेश्वरमा रहेका सालिक पनि राणाकालमै बनेका हुन् ।

प्रथम विश्वयुद्धपश्चात् निर्माण भएको काठमाडौं महाँकालको त्रिभुवन चन्द्र मिलिटरी अस्पतालको माथिल्लो भागमा रहेको सेनाको सालिक (प्रतिमा) कलाकार रत्नबहादुर तुलाधरले बनाएका थिए । यसबाट प्रसन्न भएका श्री ३ चन्द्रशमशेरले उनलाई रु ५०० पुरस्कार दिएका थिए । यसैगरी चन्द्रशमशेरले सालिक बनाउने मुलुकको पहिलो कलाकार रत्नबहादुर हुन् भनी उपत्यकामा झ्याली पिटाएका थिए (सुजन नेपाली, मूर्तिमै चार पुस्ता, कान्तिपुर २५ श्रावण २०७९) । तर, मल्लकालमा नै सालिक बनाउने दक्ष कलाकार भएको तथ्यलाई बिर्सन सकिँदैन । कसैको प्रशंसा गर्दा पनि अतिशयोक्ति हुनु शोभनीय ठहरिँदैन ।

राणाकालमा श्री ५ र श्री ३ को परिवारबाहेक अरूले सालिक बनाउँदा सरकारबाट अनुमति लिनै पर्ने बाध्यता थियो । साथै त्यसबेला साधारण जनतामा सालिक बनाउने सोच पनि आएन र क्षमता पनि थिएन । सर्वसाधारणबाट चन्दा संकलन गरी पाटन मंगलबजारमा श्री ३ चन्द्रशमशेरकी रानीको सालिक स्थापना गरिएको थियो । सालिकको उद्घाटन श्री ५ पृथ्वीबाट धाराबाट पानी खोलेर भएको थियो । उक्त कार्य सम्पन्न गर्न चन्दा उठाउने साहुमहाजनलाई श्री ३ चन्द्रशमशेरले चन्दाको रकम फिर्ता गरिदिएका थिए । उक्त अवसरमा तीन दिन तीन रात जुवा फुकेको थियो (नेपाली सैनिक अभिलेखालय, किताब नं. १२५, १९६५) ।

यो कार्य पनि स्थानीयले श्री ३ लाई प्रसन्न गराउन नै गरेका थिए भन्न सकिन्छ । सम्बत् १९९० को भूकम्पपश्चात् निर्माण गरिएको नयाँ सडकको मूलबाटोमा नै श्री ३ जुद्धशमशेरको सालिक निर्माण भएको थियो । विसं २००७ सालदेखि २०१७ सालसम्म नेपालमा काठमाडौंको सहिदगेट निर्माण भयो । यसमा ४ जना सहिदसहित र श्री ५ त्रिभुवनको अर्धकदको सालिक निर्माण गरिएको छ । यसै क्रममा नेपालगञ्ज, बनेपालगायत विभिन्न स्थानमा राजा त्रिभुवनका सालिक पनि ठडिए । विसं २०१७ सालपछि भने विविध कारणबाट सालिक बनाउने कार्यमा तीव्रता नै आयो । यस क्रममा राजधानी काठमाडौंलगायत मोफसलमा राजा महेन्द्रका पूर्ण र अर्धकदका धेरै सालिकहरू बने ।

धेरैले राजालाई प्रशन्न गराई आफूलाई राजभक्त देखाउने मनसायले पनि राजाको शालिक बनाउन उत्साह, तत्परता एवं आर्थिक स्रोतसमेत जुटाएका थिए भन्ने यथार्थलाई पनि स्मरण गर्नुपर्ने हुन्छ । राजा वीरेन्द्रका सालिक पनि प्रायः नेपालका सबै प्रमुख नगरमा स्थापना भए । कतिपयले राजाको सालिक निर्माण गरेर आफ्नो हैसियत बनाउने, स्थानीय जनतामा आफ्नो प्रभुत्व कायम राख्न खोज्ने, असीम राजभक्तिको प्रदर्शन गर्ने तथा आफूलाई पञ्चायतका हिमायती देखाउने जस्ता उद्देश्य राखेको देखिन्छ ।

सबै कार्यमा साधारण जनताको इच्छा र चासो हुँदै नभएको पनि होइन । यस अवधिमा भानुभक्त आचार्य, लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौडेल जस्ता भाषा र साहित्यका मूर्धन्य व्यक्तित्वको शालिक पनि मुलुकभर निर्माण गरिए । यसमा भने साधारण जनताको प्रत्यक्ष सहभागिता र उत्साहपूर्ण भूमिका रहेको थियो । पञ्चायत कालमा राजा वीरेन्द्र, महेन्द्र, त्रिभुवन तथा पृथ्वीनारायणजस्ता शाह वंशीय राजाहरूको सालिक बनाउने अघोषित प्रतिस्पर्धा नै चलेको थियो । यो कार्य पनि एक किसिमले अति नै थियो ।

इतिहास हेर्ने हो भने संसारमा सालिक बनाउने कार्य मात्र भएन ठडिएका सालिक भत्काउने काम पनि भए । विभिन्न मुलुकमा आन्दोलनपश्चात् पूर्वशासक तथा शासन व्यवस्थामा परिवर्तन हुँदा विगतकाका शासक र प्रशासकका सालिक भत्काइए । इराकमा सद्दाम हुसेनको, बुढापेस्टमा स्टालिनको, जर्मनीमा नाजी हिटलरको लगायत प्रायः सबै सालिक ध्वस्त पारिए । सन् १९४७ मा भारत स्वतन्त्र भएपश्चात् ब्रिटिश बादसाहका सालिक सार्वजनिक स्थलबाट हटाइए भने कतिपय ध्वस्त बनाइए । अमेरिकाको न्यूयोर्कमा रहेको जर्ज तृतीयको सालिक भत्काइयो र उक्त स्थलमा ४० हजारभन्दा बढी पटक गोली हानियो ।

यसैगरी कतिपय उपनिवेश देशहरूले स्वतन्त्रतापश्चात् पूर्वशासकका सालिक हटाए, भत्काए र कतिपयले ती सालिक संग्रहालयमा राख्न लगाए । युक्रेनमा लेनिनको सालिक भत्काइएको कारणबाट ठूलै तनाव नै सिर्जना भयो । अमेरिकाबाट कोलम्बसको सालिक हटाउने अभियान नै चल्यो । दक्षिण अफ्रिकाको केपटाउनमा ब्रिटिश अधिकारीहरूको सालिक नष्ट भएको दृष्टान्त पाइन्छ । यी त केही उदाहरणमात्र हुन् । जनताको रिस तथा आक्रोश सालिकमाथि पोखिएका घटना विश्वमा छन् । क्रुर शासकहरू सत्तामा फेरि आउन नसकून् भनेर यस्ता सालिक हटाउनै पर्छ भन्ने तर्क पनि गर्ने गरिन्छ (साइमन जोन, उही) ।

नेपालमा २०४६ सालको आन्दोलनपछि सालिक बनाउने र भत्काउने लहर नै चल्यो । काठमाडौंलगायत विभिन्न मोफसलमा रहेका शाह राजाका सालिकहरू विशेषतः पृथ्वीनारायण शाह, त्रिभुवन, महेन्द्र तथा वीरेन्द्रका सालिक आक्रमणकारीका शिकार भए । विसं २०४६ सालको जनआन्दोलनमा दरबारमार्गमा रहेको महेन्द्रको सालिकउपर प्रदर्शनकारीहरूले धावा बोल्दा कतिको ज्यान नै गयो । सालिकको राजदण्ड त कता पुग्यो कता ? यसैगरी बनेपा, नेपालगञ्ज तथा भद्रपुरमा त्रिभुवनका सालिक तोडफोड भए ।

राजा वीरेन्द्र र महेन्द्रको त कति स्थानमा सालिक भत्काइए लेखाजोखा गरेर सम्भव नै भएन । पञ्चायती व्यवस्था विरुद्ध लागेका बिपी कोइराला, गणेशमान सिंह, टंकप्रसाद आचार्य, रामनारायण मिश्र जस्ता राजनीतिज्ञहरूको पनि धेरै स्थानमा सालिक बनाइए । पञ्चायत शासनकालमा हत्या गरिएका दुर्गानन्द झा, जगतप्रकाशजंग शाह, भीमनारायण श्रेष्ठ, क्याप्टेन यज्ञबहादुर थापाजस्ता सहिदहरूको पनि सालिक बनाइए ।

लेखनाथ पौड्याल, बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा, अरनिको तथा पासाङ ल्हामु शेर्पाजस्ता गैरराजनीतिक व्यक्तित्वका सालिक पनि मुलुकका विभिन्न भागमा बनाइए । विभिन्न राजनीतिक पार्टीहरूले त आफना शीर्ष नेताहरूको सालिक बनाउन युद्धस्तरमै कार्य गरे । यसै क्रममा हाल नेपालको जुनसुकै स्थानमा, चौबाटाहरूमा तथा सार्वजनिक स्थलहरूमा नेताका सालिक देख्न सकिन्छ । पार्कजस्ता मनोरञ्जक स्थलमा पनि नेताहरूका सालिकले स्थान पाए । सरकारले पनि सालिक निर्माणमा उदारतापूर्वक आर्थिक सहायता गर्दै रहृयो ।

विसं २०६२-०६३ को आन्दोलनमा शासकहरूका सालिक मात्र कोपभाजनमा परेनन् भूपालमानसिंह कार्की (सुनसरी), भानुभक्त आचार्य (जनकपुर) तथा स्वामी प्रपन्नाचार्य (धरान) का सालिक पनि ढालिए । यस क्रममा राजाहरूका सालिकहरूको नाम निसान नै नराख्ने प्रयास पनि भए तर पूर्णतया सफल हुन भने सकेनन् । सहिदगेटबाट राजा त्रिभुवनको सालिक हटाएर नारायणहिटी संग्रहालयमा राख्ने विषयको मुद्दा हालसम्म जीवितै छ । नेपालगञ्जमा राजा वीरेन्द्रको सालिक राख्ने र हटाउने पक्षबीच ठूलै संघर्ष भएको घटना हामीबीच ताजै छ ।
हेटौँडाको पार्कबाट सबै सालिक हटाउनुपर्छ भन्ने आवाज पनि बुलन्द हुँदैछ । विसं २०४६ र २०६२-०६३ को आन्दोलनमा भने टुँडिखेलमा रहेका राणा श्री ३ का सालिक भने कोपभाजनको सिकार भएनन्, किन होला ? भन्ने प्रश्नको उत्तर सार्थक रूपमा खोज्ने बेला आएको छ । अतः सालिकमा कसैको श्रद्धा र कसैको घृणा भएको दृष्टिगोचर हुन्छ ।

विसं २०६२–०६३ को आन्दोलनपछि देशभर सालिक निर्माण गर्ने दिशामा अभूतपूर्व उत्साह देखिएको छ । सालिक बनाउन चन्दा उठाउने कार्यमा पनि राजनीतिक पार्टीका कार्यकर्ताले उत्सुकता तथा तत्परता देखाए । यसरी चन्दा उठाएको रकममध्ये के-कति निर्दिष्ट उद्देश्यका लागि खर्च भयो लेखाजोखा गर्ने चासो कसैबाट भएन । स्थानीय, प्रदेश एवम् संघीय तीनै तहका सरकारले यस्ता कार्यमा बजेट विनियोजन गर्न भने कन्जुस्याइँ देखाएका छैनन् । सालिक तथा भ्युटावर निर्माणजस्ता कार्य मानौँ जनताका लागि आधारभूत आवश्यकता नै हुन् भन्ने भान पर्न गएको छ ।

नेपालमा सालिक बनाउने र भत्काउने दुवै कार्यमा राजनीतिक रंग मिसिएको देखिन्छ । त्यसैले सालिक निर्माण गर्ने विषयमा स्पष्ट मापदण्ड बनाई व्यवस्थित गर्न आवश्यक छ । अन्यथा सालिकको अवमूल्यन हुने देखिन्छ ।

सालिक बनाउने कार्यलाई सबै पार्टीले आफ्नो भोट बढाउने अस्त्रको रूपमा लिए । भ्युटावर र सालिकको वन नेपालको धन भन्ने बेला आएको टिप्पणी हुन थालेको छ (बद्रीप्रसाद दाहाल, पूर्ववत्) । स्थानीय, प्रदेश तथा संघीय तीनै तहका सरकारले आर्थिक वर्ष २०७९-०८० बजेटमा यस कार्यका लागि तुलनात्मक रूपमा अधिक रकमको विनियोजन गरेका छन् । मधेस सरकारले मात्र साढे सात करोड रूपैयाँ आगामी वर्षमा सालिक निर्माणका लागि छुट्याएको पाइन्छ । सालिक निर्माण कार्य आवश्यकता र औचित्यका आधारमा भन्दा पनि राजनीतिक स्वार्थकै कारणबाट अभिप्रेरित हुनु निश्चय पनि उत्साहप्रद कदम हुँदै होइन । यसको हेक्का सबैले राख्नै पर्दछ ।

सालिक कसैको श्रद्धा र कसैको घृणाको पात्र भएको कुरा सर्वविदितै तथ्य हो । सालिकलाई कतिले अतीतको पीडादायी क्षण स्मरण गराउने स्मारकका रूपमा लिने हुँदा भत्काएको र हटाएको ठीक हो भन्ने भनाइ राखेका छन् । सालिक इतिहासका स्रोत हुन्, त्यसैले जगेर्ना गर्नुपर्छ भन्ने भनाइ पनि छ । कतिले त जनताबीच सुपाच्य भएका तर सार्वजनिक स्थलमा राखिएका सालिकलाई संग्रहालयमा स्थानान्तरण गरिनु उचित हुने तर्क दिएका छन् । वास्तवमा सालिक इतिहास होइनन्, बरू ऐतिहासिक वस्तु हुन् भन्ने विचार पनि कसैकसैको छ । नेपालमा भने सालिक बनाउने र भत्काउने दुवै कार्यमा राजनीतिक रंग मिसिएको देखिन्छ ।

त्यसैले सालिक निर्माण गर्ने विषयमा पनि स्पष्ट मापदण्ड बनाई व्यवस्थित गर्न आवश्यक छ । अन्यथा सालिकको अवमूल्यन हुने देखिन्छ । भइरहेका सालिकको मर्मतसम्भार गरी व्यवस्थित गर्नुपर्ने उत्तिकै आवश्यकता छ । अन्यथा भविष्यमा सालिक बनाउने र भत्काउने कार्यको अन्त्यहीन संघर्षको शृंखला तयार हुनेछन् । सालिकबाट राम्रा नराम्रा दुवै पक्ष प्रदर्शित हुन्छन् भन्ने कुरा आत्मसात गर्ने बेला चाहिँ आएको छ ।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Bishnu
Bishnu
2022-09-18 3:51 pm

यो लेखले सालिक निर्माणको विषयमा सरकारलाई समेत सकारात्मक सन्देश दिएको छ।साथै नेपाल सरकारले सालिक बनाउदा त्यसको ऐतिहासिक महत्त्वलाइ समेत ख्याल गर्नु पर्नेछ भन्ने सन्देश यो लेख ले दिएको छ।

रिलेटेड न्युज

छुटाउनुभयो कि ?