मकवानपुर र पूर्वी रुकुममा बस दुर्घटनामा परी १२ जनाको मृत्यु, घाइतेमध्ये केहीकोे अवस्था गम्भीर

हिमालय टाइम्स
Read Time = 5 mins

विवेक खड्का/हिटा
रुकुम, हेटौंडा । मकवानपुर र पूर्वी रुकुममा भएका छुट्टाछुट्टै बस दुर्घटनामा १२ जनाको मृत्यु भएको छ । बिहीबार मकवानपुरको जुरीखेतमा भएको यात्रुबाहक मिनी बस दुर्घटनामा सातजना र पूर्वी रुकुमको क्याङ्सीबगरमा भएको बस दुर्घटनामा पाँचजना गरी १२ जनाको मृत्यु भएको हो । काठमाडौंबाट हेटौँडा आउँदै गरेको बा३ख ७८५८ नम्बरको बस मकवानपुरका अनुसार मकवानपुरको भीमफेदी गाउँपालिका-६, जुरीखेतको एघार घुम्तीको ओरालोमा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय भएकोे दुर्घटनामा तीन जना गम्भीर घाइते भएका छन् । उनीहरूको हेटौँडा अस्पतालमा उपचारपश्चात् थप उपचारका लागि भरतपुर रिफर गरिएको छ । मृतकहरूको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । घाइते २३ जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । बसमा ३३ जना सवार रहेको प्रहरीले जनाएको छ । घुम्तीमा मोड्ने क्रममा ब्रेक नलागेर करिब ५० मिटर तलको मोडमा बस खसेको थियो । बस दुर्घटनाले छोटो मार्ग अवरुद्ध भएको थियो । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख उपरीक्षक वामदेव गौतमको नेतृत्वमा प्रहरी टोली पुगेर घाइतेको उद्धार गरेको थियो । प्रहरी उपरीक्षक गौतमका अनुसार घाइते भीमफेदीस्थित स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार गरी थप उपचारका लागि हेटौँडा ल्याइएको थियो ।

यस्तै, रुकुम पूर्वमा भएको बस दुर्घटनामा परी पाँचजनाको मृत्यु भएको छ । काठमाडौंबाट रुकुमकोटतर्फ आइरहेको ग१ख ९१०९ नम्बरको बस भूमे गाउँपालिका-३ को क्याङ्सीबगरमा दुर्घटना भएको हो । उक्त दुर्घटनामा पाँचजनाको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले जानकारी दिनुभयो । उहाँका अनुसार तीनजनाको घटनास्थलमै र दुईजनाको जिल्ला अस्पताल रुकुमकोटमा मृत्यु भएको हो ।

मृत्यु हुनेमा रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका-८ चारगाउँका ३६ वर्षीय पूर्णबहादुर बुढा, भूमे गाउँपालिका–५ डालिबाङका २३ वर्षीय बुद्धिमान बुढा, सिस्ने गाउँपालिका–६ का दुई वर्षीय बालक सिजन खड्का र बालककी आमा ४० वर्षीया लक्ष्मी खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण खत्रीले जानकारी दिनुभयो ।

खत्रीका अनुसार दुर्घटनामा परी बस चालक रामेछाप जिल्लाका २६ वर्षीय लिलाभक्त श्रेष्ठको पनि मृत्यु भएको छ । दुई वर्षीय बालक सिजन र बुद्धिमानको जिल्ला अस्पताल रुकुमकोटमा मृत्यु भएको हो भने बाँकी तीनजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै, दुर्घटनामा परी गम्भीर घाइते चारजनालाई उपचारका लागि बाँकेको कोहलपुर लगिएको छ ।

सुर्खेतबाट आएको नेपाली सेनाको हेलिकोप्टरले सिस्ने गाउँपालिका-६ का ३६ वर्षीय लालबहादुर खड्का, सोही ठाउँका ६ वर्षीय साइमान खड्का र १९ वर्षीया निरुता थापा तथा रुकुम पश्चिम आठबीसकोट नगरपालिका-१३ का ३५ बर्षीय डम्बर नेपालीलाई कोहलपुर पठाइएको प्रहरी निरीक्षक खत्रीले बताउनुभयो । दुर्घटनामा परी अन्य आठजना घाइते भएका छन् । उनीहरूको जिल्ला अस्पताल रुकुमकोटमा उपचार भइरहेको छ । बस सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । बसको पछाडिको चक्का खाल्डोमा परेको देखिएको र अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने अनुमान गरिए पनि दुर्घटनाको कारण नखुलेको प्रहरीले जानकारी दिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?