नेकपा एकीकृत समाजवादीको घोषणापत्र :

ओलीको आलोचना र भ्रष्टाचारमुक्त सरकार, आर्थिक सम्पन्नताको आधार

हिमालय टाइम्स
Read Time = 14 mins

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले पूर्व–पश्चिम मेगा नहर, विदेशबाट फर्केकालाई १० लाख ऋणको योजनासहित चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । आसन्न मंसिरमा हुने निर्वाचनका लागि सोमबार सार्वजनिक गरेको चुनावी घोषणापत्रमा नेकपा एकीकृत समाजवादी (नेकपा एस)ले आर्थिक क्षेत्रमा उल्लेख्य प्रगति गर्न नसक्नुको एउटा प्रमुख कारण भ्रष्टाचार भएको ठहर गर्दै मुलुकमा मौलाएको भ्रष्टाचार समग्र अर्थतन्त्रको गम्भीर रोग बनेको निष्कर्ष निकालेको छ । ‘भ्रष्टाचारका कारण लक्षित वर्ग, समुदायसम्म विनियोजित रकम नपुग्ने, विकास निर्माणका काम गुणस्तरहीन हुने वा अनावश्यक लागत बढाउने जस्ता समस्याहरूले जरो गाडेका छन् । हाम्रो पार्टी समग्र नेपाली समाजबाट भ्रष्टाचारलाई निर्मूल गर्ने अभियान सञ्चालन गर्नका लागि दृढ संकल्पित छ ।’ घोषणापत्रमा उल्लेख छ । यसको सुरुवात सबै क्षेत्रबाट गरिनुपर्ने बताउँदै नेकपा एसले घोषणापत्रमा भनेको छ, ‘भड्किलो जीवनशैली भ्रष्टाचारको एक प्रमुख कारक रहेको कुरालाई मनन गर्दै हाम्रा जनप्रतिनिधिले उदाहरणयोग्य सादा जीवन बिताउने कुरामा विशेष ध्यान दिनेछन् । हाम्रा जनप्रतिनिधिले आफ्नो घरमा हुने विभिन्न पारिवारिक वा सांस्कृतिक कार्यक्रमको आयोजना गर्दा वा चाडपर्वहरू मनाउँदा सकेसम्म कम खर्चमा सादा ढंगले सम्पन्न गर्ने कुरामा विशेष ध्यान दिनेछन् ।’

‘भ्रष्टाचारमुक्त सरकार : भ्रष्टाचाररहित समाज’ को नारासहित भ्रष्टाचार, घुसखोरी, कमिसनखोरी, अनियमितता, सरकारी काममा ढिलासुस्ती आदिमा कडा निगरानी राख्ने प्रतिबद्धता जनाएको नेकपा एसले आफ्ना जनप्रतिनिधिहरूको आर्थिक आचरण शुद्ध हुने दाबी गर्दै भनेको छ, ‘कुनै पनि खाले भ्रष्टाचारीलाई कडा कारबाही गरिनेछ । यसअघि केन्द्रदेखि स्थानीय तहसम्म भएका भ्रष्टाचारका घटनाहरू, विभिन्न घोटाला काण्डहरूको तत्काल छानविन गरी दोषीहरूलाई कडाभन्दा कडा कारबाही गर्न÷गराउन पहल गरिनेछ । भ्रष्टाचारीलाई उन्मुक्ति हुने अवस्थाको अन्त गरी राज्यका कानुन र संयन्त्रहरूलाई सुदृढ र व्यवस्थित गरिने छ ।’ भ्रष्टाचार र अनियमित कार्यलाई कडाइका साथ नियन्त्रण गर्नुका साथै भ्रष्टाचारविरुद्ध जनचेतना अभियान सञ्चालन गर्ने नेकपा एसले जनाएको छ ।

एमाले अध्यक्ष ओलीको कडा आलोचना

घोषणापत्रमा नेकपा एकीकृत समाजवादीले एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेको छ । सोमबार सार्वजनिक चुनावी घोषणापत्रमा नेकपा एसले ओलीको कारण जनतामा राजनीतिप्रति वितृष्णा उत्पन्न भएको आरोप लगाएको छ । केपी शर्मा ओलीले दक्षिणपन्थी अवसरवादको कारण यस्तो भएको उल्लेख गर्दै घोषणापत्रमा ओली सरकारले जनअपेक्षा र निर्वाचनको बेला जनतासमक्ष गरेको प्रतिबद्धताअनुसार काम नगरेको जनाउँदै भनेको छ, ‘२०७४ मा हामी तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेर चुनावी गठबन्धन बनाई यहाँहरूबीच आएका थियौँ र झण्डै दुईतिहाइ संसदीय स्थानमा विजय प्राप्त गरी केपी ओलीको नेतृत्वमा संघीय सरकार निर्माण गरिएको थियो । त्यस सरकारले जनअपेक्षा र निर्वाचनका बेला जनतासमक्ष गरिएका प्रतिबद्धताअनुरूप काम नगरेको मात्र होइन, भ्रष्टाचार र कुशासनलाई प्रश्रय दिएकाले जनताको अपेक्षामाथि गम्भीर रूपमा कुठाराघात भएपछि आम जनताका मनमा केपी ओलीको दक्षिणपन्थी अवसरवादका बारेमा मात्रै होइन, समग्र राजनीतिप्रति नै वितृष्णा उत्पन्न हुन गयो । ओली र एमालेलाई सुधार्न नसकेपछि विद्रोह गर्नुपरेको हो ।’

पूर्व–पश्चिम जोड्ने मेगा नहर बनाइने

नेकपा एकीकृत समाजवादीले घोषणापत्रमा ‘सिँचाइमा लगानीः कृषियोग्य जमिनमा पानी’को नारा दिँदै पूर्वदेखि पश्चिम सम्मका नदी जोड्ने महत्वाकांक्षी योजना सार्वजनिक गरेको छ । ‘नेपालको पानी, नेपालमै’ भन्ने अवधारणा अघि सार्दै नेकपा एसले सबै नदी एकअर्कासँग जोडेर पूर्व पश्चिम मेगा नहर राष्ट्रिय गौरवको आयोजना बनाउन पहल गरिने घोषणापत्रमा उल्लेख गरेको छ । सिँचाइ, खानेपानी तथा जलमार्गको विकास गर्ने दीर्घकालीन सोचका साथ यो योजना ल्याइएको जनाउँदै घोषणापत्रमा भनिएको छ, ‘मधेश र भित्री तराईको कृषिभूमि सिँचाइ गर्न तमोर–मोरब, सुनकोसी–कमला र सुनकोसी–मरिण–बागमती, कालीगण्डकी–तिनाउ, राप्ती–सुराई, भेरी–बबई, पश्चिम सेती–कैलाली–पाण्डुन, शारदा नदी लगायतका डाइभर्सन योजना अगाडि बढाइनेछ ।’ भूमिगत सिँचाइको सम्भावना भएका तराई–मधेश र अन्य स्थानमा स्यालो तथा डिप ट्युबवेल र पहाडी भूभागमा अवस्थित समथर भूभाग, बेंसी तथा टारमा सौर्य ऊर्जा एवम् अन्य प्रविधिमा आधारित लिफ्ट सिँचाइ कार्यक्रम लागू गरिने घोषणापत्रमा उल्लेख छ ।

सीमा क्षेत्रबाट बाहिरिने र भित्रिनेको रेकर्ड राखिने

नेकपा एकीकृत समाजवादी पार्टीले राष्ट्रिय सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै दशगजा क्षेत्रलाई व्यवस्थित गर्नुपर्ने बताएको छ । घोषणापत्रमा देशबाट बाहिरिने र देशमा भित्रिने मानिसहरूको व्यवस्थित रेकर्ड राखिने उल्लेख गर्दै भनिएको छ, ‘नेपालको अन्तर्राष्ट्रिय सिमानालाई अन्तर्राष्ट्रिय कानुन र स्थापित मूल्य मान्यताअनुरूप नियमित गर्ने, देशका सिमाना दशगजा क्षेत्रलाई व्यवस्थित गरी राष्ट्रिय सुरक्षा संवेदनशीलतालाई ध्यान दिँदै देशबाट बाहिरिने र देशमा भित्रिने मानिसहरूको व्यवस्थित रेकर्ड राखिनेछ । मित्र राष्ट्रसँगको सीमा समस्या समाधान गर्न र अतिक्रमित नेपाली भूभाग फिर्ता लिन उच्च प्राथमिकतासहित कूटनीतिक पहल गर्न दबाब दिइनेछ ।’

वैज्ञानिक अनुसन्धानमा एक प्रतिशत बजेट विनियोजन

नेकपा एकीकृत समाजवादी पार्टीले बजेट निर्माण गर्दा वैज्ञानिक अनुसन्धान र विकासमा हरेक तहका सरकारले कुल बजेटको एक प्रतिशत रकम छुट्याउने आफ्नो घोषणापत्रमार्फत प्रतिबद्धता व्यक्त गरेको छ । सोमबार सार्वजनिक घोषणापत्रमा कुल बजेटको कम्तीमा एक प्रतिशत अनुसन्धान र विकासमा छुट्याउने नेकपा एसले प्रतिबद्धता व्यक्त गरेको हो । यस्तै, सबै खाले वित्तीय र व्यावसायिक निकायहरूको कर्पोरेट सामाजिक उत्तरदायित्वमा वैज्ञानिक अनुसन्धानलाई अनिवार्य गरिने घोषणापत्रमा उल्लेख छ । नेकपा एसले राष्ट्रिय अनुसन्धान कोषको स्थापना गर्नेसमेत प्रतिबद्धता व्यक्त गरेको छ । विभिन्न स्रोतबाट रकम जुटाएर कोषको स्थापना गरिने उल्लेख छ । अनुसन्धानमा खर्च गरिने सम्पूर्ण बजेट पनि प्रतिस्पर्धात्मक विधि तथा एकद्वार प्रणालीबाट मात्र हुने व्यवस्था मिलाइने प्रतिबद्धता पत्रमा उल्लेख छ । नेकपा एसले घोषणापत्रमा भनेको छ, ‘विज्ञान, प्रविधि र आविष्कारः आर्थिक सामाजिक रूपान्तरण मूल आधार’ कार्यक्रमको स्पष्ट मार्गचित्र निर्माण गरेर कार्य गरिनेछ । विदेशमा काम गरेर स्वदेश फर्कन चाहने वैज्ञानिक तथा अनुसन्धानकर्ताहरूलाई लक्षित गरेर विशेष कार्यक्रम सञ्चालन गरिनेछ । युवा वैज्ञानिकहरूका सपनाको प्रवद्र्धन गरी देश निर्माणमा लगाउनका लागि ‘हजार कोपिला प्रस्फुटन कार्यक्रम’ सञ्चालन गरिने, विज्ञान तथा प्रविधिसम्बन्धी नीति तय गर्दा ‘राष्ट्रिय विज्ञान प्रविधि तथा नवप्रवर्तन नीति २०७६’ र ’शिक्षा नीति, २०७६ लाई समेत ध्यानमा दिइनेछ ।’

निर्वाचन प्रणाली सुधारमा जोड

घोषणापत्रमा नेकपा एसले नीतिगत प्रतिबद्धतामा संविधान र व्यवस्थाको रक्षा तथा हालको निर्वाचन प्रणाली परिवर्तनमा जोड दिएको छ । अहिलेको निर्वाचन प्रणाली अत्यन्त खर्चिलो र विकासका निम्ति बाधक भएकाले यसको विकल्प खोज्नुपर्ने नेकपा एसले उल्लेख गरेको छ । घोषणापत्रमा भनिएको छ, ‘निर्वाचन प्रणालीमा सुधार अहिलेको निर्वाचन प्रणाली अत्यन्त खर्चिलो र भड्किलोसमेत छ । यो मूलतः धेरै पेसा खर्च गर्नेले मात्र जित्न सक्ने खालको छ । यो जटिल पनि छ र कुने पार्टीले बहुमत ल्याउन नसक्ने खालको छ । कुनै पनि पार्टीको एकल बहुमत नआएपछि गठबन्धनको सरकार बन्ने र त्यो अस्थिर भई विकास निर्माणका काम गर्न नसक्ने अवस्था देखिएको छ ।’ पार्टीले घोषणापत्रमा विदेशबाट फर्केका युवालाई कृषि पेसामा आकर्षित गर्न १० लाखसम्म निब्र्याजी ऋण दिने व्यवस्था गर्न अभियान नै सञ्चालन गर्न घोषणा गरेको छ ।

मनमोहन अधिकारीको नौ ‘स’ ब्युँत्याउने

घोषणापत्रमा नेकपा एकीकृत समाजवादीले २०५१ सालमा तत्कालीन प्रधानमन्त्री तथा एमाले नेताले निर्वाचन क्षेत्रको समान विकासका लागि अघि सारेको नौ ‘स’ को अवधारणालाई ब्युँत्याउने उल्लेख छ । सोमबार सार्वजनिक घोषणापत्रमा नेकपा एसले निर्वाचन क्षेत्रको वैज्ञानिक विकासका लागि त्यस अवधारणालाई परिमार्जनसहित निरन्तरता दिने उल्लेख छ । नौ ‘स’ नेपाली अर्थतन्त्रमा समाजवाद उन्मुख नीति रहेको समाजवादीको घोषणापत्रमा लेखिएको छ । ‘नौ ‘स’ अन्तर्गत स्वास्थ्य, शिक्षा, स्वच्छ खानेपानी, स्थानीय सडक, साना सिँचाइ, सघन वन, सामुदायिक विद्युतीकरण, साना तथा लघु उद्योग, सीपमूलक तालिम जस्ता पूर्वाधार र रोजगारमूलक कार्यक्रमहरू अघि सारिएका थिए । त्यो कार्यक्रम नेपाली अर्थतन्त्रमा विजारोपण गरिएको पहिलो समाजवाद उन्मुख कार्यक्रम थियो’ घोषणापत्रमा भनिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?