प्रजातन्त्र र गठतन्त्रको भिन्नता

प्रा. डा. कुलप्रसाद कोइराला
Read Time = 18 mins

प्रजातन्त्रवादी प्राध्यापक संघको पाँचौं महाधिवेशनमा आएर प्राध्यापकको धैर्यको बाँध टुँटेको प्रत्यक्ष देखियो । माउ पार्टीले पनि अनियमितता र विभेदको अन्त्य गर्ने छाँट र मनसाय नदेखेपछि प्राध्यापक जो सरस्वतीका उपासक मानिन्छन् तिनका विवेकका बंगारा कट्कटाउन लागेको देखियो । अन्याय र विभेद अनि बेनियमका क्रियाकलापको पहाड जब उभिन्छ अनि ज्ञानका पुजारीहरू गम्भीर बन्दारहेछन् भन्ने यो तेस्रो उदाहरण हो । पहिले पञ्चायतका लहैलहैमा लागेर खेलेन्द्रराज पाण्डेले नेपाल प्राध्यापक संघलाई खल्तीका भुटेका मकै बनाउँदा यिनका बंगारा कट्कटाएका थिए ।

दोस्रोपटक प्रा.डा.चन्द्रप्रसाद गोरखाली र हेमन्तशमशेर राणका टिमले चुनाव जितेर प्राध्यापकलाई पञ्चायती व्यवस्थाका सम्पोषक र राजाका रैती बनाउने दुश्चेष्टा गरेका बेला प्राध्यापकको एउटा भेलाले तिनलाई अपदस्थ गरेर नेपाल प्राध्यापक संघको प्रा.डा.कमलकृष्ण जोशी र नरहरि आचार्यका नेतृत्वमा तदर्थ समिति बनाएर काम गरेका थिए । अहिले फेरि लगातार जगत् तिमल्सिनाले नेपाली कांग्रेसका सभापति शेरबहादुरका नाममा पार्टीभित्रका केही दिमागशून्य बाहुबली केन्द्रीय सदस्यहरूका आडमा जगतजीले गरेको विवेकहीन क्रियाकलापले वाक्क भएर प्राध्यापक छातीमा मुड्की बजार्दै र दाँत कट्कटाउँदै अदालतका ढोकामा न्याय माग्न पुग्नुपरेको देखियो ।
यो अवस्था भनेको नेपाली कांग्रेस र प्रजातन्त्रवादी प्राध्यापकहरूका बिचमा हुर्किएको चरम विवेकहीनता र मनपरितन्त्रको पराकाष्ठा हो । प्राध्यापकका काम, कर्तव्य र हक, हितका सम्बन्धमा काम गरी पार्टीलाई वैचारिक राय सल्लाह परामर्श दिनका लागि स्थापना गरिएको संस्था केही व्यक्तिलाई राज्यका विभिन्न निकायमा सिफारिश गर्ने र उत्कोच असुल गरी संघको केन्द्रीय समितिमा रहेका केही टाठाबाठाको कमाई खाने भाँडो बनाउन पल्केका हुनाले पद्मकन्या क्याम्पस परिसरमा भएको महाधिवेशन, नेपालगन्जमा भएको महाधिवेशन र कीर्तिपुरमा भएको महाधिवेशनमा मनपरी गर्दा पनि प्राध्यापकहरू खासै बोलेका थिएनन् ।

शास्त्रले भनेको राजहठले अहिले नेपाल आक्रान्त बनेको देखिएको छ । निकम्मा राजनेताले देखाउने हठ नै राजहठ हो । यसरी मूल्यहीन राजनीतिक विचारविहीन गठजोड या गठबन्धनका कारणले नेपाली वैचारिक मतदाता नराम्रोसँग भड्किएका छन् ।

किन चाउरिस् मरिच आफ्नै रागले भनेर विवेकशील प्राध्यापक चुप्प लागे तर अति गर्नु अतिचार नगर्नु भनेजस्तो भएपछि भने प्राध्यापकहरू संस्था जीवन्त राख्नका निमित्त आत्मनराग पचाएर पहिले पार्टीकै नेताका शरणमा र पछि तिनले पनि बौद्धिक गरिमा रक्षाभन्दा आफ्नै अगुवापछुवाका कुरा सुनेको देखेपछि यता वार्ता र उता न्यायालयको ढोका ढक्ढक्याउने काम गर्न विवश बनेका देखिए । विवेकहीन पार्टीका नेताले आफ्ना चाकडीदारको विरोधभन्दा पनि आफ्नै विरोधका अर्थमा समेत लिएको पनि धेरै बौद्धिक समुदायले महसुस गरेको बुझियो ।
विचार प्रवाह गर्ने भनेको सजिलो काम होइन; देशभरिका साथीहरूसँग सम्पर्क गरेर कहाँ के छ कस्ता साथीहरू छन् पत्ता लाएर साथी जम्मा गरी छलफल गरी गराई कार्यपत्र लेख्न लाएर निष्कर्ष निकालेर पार्टीलाई उपलब्ध गराउने र पार्टी विचारको घेरा नाघेर जथाभावी अप्राकृतिक गठबन्धनमा गएका बेला बौद्धिक जमातबाट उपय उपयुक्त किसिमको निकालेर आवाज उठ्न सकेको भए निश्चय नै अहिलेको जस्तो गरी आफ्नो आदर्शमा नै आँच आउने गरेर पार्टी गठबन्धनमा जाने थिएन होला भन्ने पनि बौद्धिक समुदायको मनसाय देखिन्छ ।

यदाकदा हुने विवाद र बहसले वादेवादे जायते तत्वबोध भन्ने कुरालाई वर्तमान प्रजातन्त्रवादी प्राध्यापक संघले भसक्कै बिर्सेर आफन्त, आफ्ना रंगरूपभित्रका पोषणकारी काम मात्रै गरेको र लगातार दश वर्ष संस्था ओगटेर बस्दा पनि चित्त नबुझी फेरि पनि आफैँ दोहोरिने मनसायका कारणले हिजोअस्ति उहाँलाई मद्दत गर्न लागिपरेका साथीहरू पनि उहाँले समेट्न सक्नुभएको देखिएन । प्राध्यापक भनेको विचार गम्भीर, बहुश्रुत र शास्त्रीय वादविवादमा रमाउने प्रकृतिका हुन्छन् नै । प्राध्यापकले आफ्ना दिमागलाई अद्यावधिक राख्नै पर्ने हुन्छ । सत्ता, वासना र धनलालसाबाट मान्छे कहिल्यै पनि नअघाउने रहेछ ।

नेपालको समग्र आयस्रोतमा डुँडुलो डुबाएर पनि कहिल्यै नअघाएर नाम नखुलेको कालो पदार्थ सेवन गर्ने र नेपाली गायक नेपाली युवतीलाई समेत सहज प्रकारले बाँच्नसम्म नदिएर ज्यादती बढाउँदै लगेपछि जनता वाक्क भएर लामो समयदेखि नेपालीको कल्याण गर्ने नाममा काला कर्तुत ढाकेर बसेको संस्थालाई पनि स्वाहा पारे । यससँगै राजा महेन्द्रले २०१७ साल पुस १ गतेदेखि लागू गरेको पञ्चायती व्यवस्था र त्यसमा रमाएर बसी खाने पञ्च पनि किनारा लागेका थिए । अहिले आएर केपीले त्यसै संस्थाको सिको गरेर संविधानलाई नै संकटापन्न अवस्थामा पुर्‍याएपछि एउटा विचित्रको दृश्य नेपाली राजनीतिका मैदानमा प्रत्यक्षीभूत भएको छ जसलाई धेरै बौद्धिक समुदायले पचाउन सकेको देखिएन ।

यस प्रकारका प्रयोगका कारणले हिजो क्रान्तिका बेला नाम कमाएका देशकै ठूला र इमान्दार ठानिएका नेतासमेत बद्नाम भए । पदलोलुप र सत्ताका निमित्त हिरिकहत्ते हाल्ने प्रवृत्ति देखाएर चुनाव जित्नकै निमित्त विवेक विचार खोपामा राखेर अप्राकृतिक गठबन्धन (जो वस्तुतः जनता ठगबन्धन हो) गरेको देखियो । प्रजातान्त्रिक मूल्यमान्यता मासेर प्रजातन्त्रिक मूल्य जोगाएर संविधानको रक्षा गर्छौं भन्ने यिनका बोलीलाई काट्न ठीक्क पारेका बोकाका टाउकामा पानी हाल्दा उसले पानी फाल्न टाउको हल्लाएको अवस्थालाई काट्न मानेको या देवीदेवताले मानेको अर्थ लगाएर बोको काट्ने सिजनल बगरेको बोली भनेर उदाहरण दिए नेपाली बौद्धिक समुदायले ।

शास्त्रले भनेको राजहठले अहिले नेपाल आक्रान्त बनेको देखिएको छ । निकम्मा राजनेताले देखाउने हठ नै राजहठ हो । यसरी मूल्यहीन राजनीतिक विचारविहीन गठजोड या गठबन्धनका कारणले नेपाली वैचारिक मतदाता नराम्रोसँग भड्किएका छन् । अतः आगामी मंसिर ४ का निर्वाचनमा पुराना पुस्ताका सबै नेता पराजित भए भने दुनियाँले आश्चर्य मान्ने छैन कि भन्ने लाग्छ ।

नेपालमा २०४६ साल फागुन ७ गतेदेखि शान्तिपूर्ण जनआन्दोलन भएको थियो नेपाली कांग्रेसका सर्वोच्च नेता श्रीगणेशमान सिंहको सर्वोच्च नेतृत्वमा । यस आन्दोलनको पृष्ठभूमि पनि गणेशमानकै चाक्सीबारी निजीआवासका प्रांगणमा विश्वका धेरै प्रजातान्त्रिक व्यवस्था भएका देशका नेता राजनेता आएको सम्मेलनबाट आगामी फागुन ७ गतेबाट गर्ने भनेर नेपाली कांग्रेले निर्णय गरेको थियो । यस आन्दोलनमा नेपाली कांग्रेसका सर्वोच्चनेता सिंहले मलाई घरलौरी दुई जना मान्छे दिनोहोस् म देश र जनतालाई प्रजातन्त्र दिन्छु भनेका थिए । यसरी आरम्भ भएको यस आन्दोलनले राजकीय व्यवस्थालाई अन्त्य गरी नेपालमा संवैधानिक राजतन्त्रात्मक बहुदलीय संंसदीय प्रजातान्त्रिक व्यवस्थाको आरम्भ गराएको थियो ।

यस आन्दोलनमा नेपाली जीवनका समग्र पक्ष र तप्का सहभागी भएका थिए । ५७ दिन चलेको यस आन्दोलनले नेपाललाई २००७ पछिको सर्वाधिक शक्तिशाली स्वतन्त्र मुलुकका रूपमा रूपान्तरण गराएको सर्वत्र महसुस गरिएको थियो । प्रजातज्त्रको अनुभव नभएका नेता जसले यस पद्धतिका निमित्त विश्वको साहित्य दर्शन पढेका थिए, नियम कानुन र विधि तथा पद्धतिको ज्ञान आर्जन गरेका थिए ती सबै मरिसकेका हुनाले एक प्रकारको अन्योलतामै बहुदलीय प्रजातान्त्रिक राजतन्त्रात्मक व्यवस्था चलाउनु परेको हुनाले अनेकौंं विकृतिले प्रवेश पायो, एकातिर भने आर्कातिर शताब्दीयौंदेखि मुखमा पट्टी र हातमा हत्कडी अनि शिक्षामा समेत नियन्त्रण गरी कठोर संकीर्ण शासनका साङ्लाले बाँधिएका जनताका आकांक्षाको विशाल बाकस पनि एकैपटक खुलेको र देशको साधनस्रोतको सीमा निश्चित रहेको तथा व्यवस्था चलाउने मान्छे पनि अनुभवहीन थिए । व्यवस्थाको दर्शन सुनेका भए पनि त्यसको प्रायोगिक अवस्था चाल नपाएका अनि बेग्लाबेग्लै राजनीतिक दर्शन बोकेर आएका र वर्षौं वर्षका भोका जुकाजस्ता भएका हुनाले आर्थिक अपचलन र कानुनसँग आँखा मिचौली खेलको शृंखला नै चलेर आज पनि देशमा सुशासन स्थापित हुन सकेको देखिँदैन । अहिले दलका नेताको भन्दा विद्युतीय सञ्चारकर्मीका कुरा विश्वसनीय भएका छन् समाजमा । देशका साराका सारा पक्ष र तप्काका मान्छेहरू पहिलो पटक राजनीतिमा आकर्षित भएर नेताका झोले बनेका थिए ।
अहिले अनेकौं चटकीहरू स्वतन्त्र उम्मेदवार बनेर चटक देखाउन थालेका छन् । यसको प्रेरणा पनि दलका नेतामा पन्पिएको अतिलोभ, लालसा, परिवारवाद, धनवाद, डनवाद, अहं, लेनदेन र संगठनहीन अवस्था आदि नै हुन् भन्ने अत्यधिक विज्ञको विश्लेषण भेटिन्छ । नेताका यस प्रकारका विचलन र चारित्रिक ह्रासले समाजका सबै क्षेत्रमा व्याप्ति पायो किनभने हाम्रो समाज नेताका चरित्रबाट आकर्षित हुँदै आएको समाज थियो । त्याग, निष्ठा र संघर्षयुक्त जीवनका कारणले पहिलो पुस्ताका नेताको जीवन चरित्रको सबैले अनुकरण गर्थे । दशैंमा टीका लाउँदा पनि बीपी, गणेशमान, सुवर्णशमशेर, पुष्पलाल, मनमोहन अधिकारी मदन भण्डारी बन्नु भनेर आशीर्वाद दिन्थे । आजका नेता बन भनेर कसले भन्ने ?

आजका नेताको चरित्रको अनुकरण उनैका सन्तान पनि गर्न डराउँछन् लोकले के भन्ला भनेर । कुनै एउटा पक्ष पनि अनुकरणीयको कुरै छाडौं सैहृय पनि छैन । कुनै एउटा पक्ष त कम्तीमा जनताले खोज्ने सोच्ने खालको होओस् नेता भनाउँदाको यस्तो केही नभएका सत्ता, सुन, सुरा, सुन्दरी, नसनाताबाहेक कतै कसैलाई नगन्ने नसम्झने नेताका आचरण, दिल र दिमागका कारणले मुलुक संकटापन्न अवस्थाका दलदलबाट यो निर्वाचनपछि पनि निक्लेला भन्ने आस कम मान्छेले गरेको देखिन्छ । राजनीति भनेको आदर्शविहीन सत्ता र शक्तिमात्र होइन । न त सात पुस्तालाई बसी बसी खान पुग्ने गरी गरिने धनसंग्र्रह नै थियो ।

अहिलेका नेपालका सबै पार्टीका पहिलो लहरका नेताले धन, साथी नग्नरूप, नसनाता नै जनता र चरित्र ठानेको देखिन्छ । अतः नेपाली मतदातामा चेतना विकास भएको रहेछ भने निश्चय नै यी कुरामा विचार पुर्‍याएको देखिनेछ ।

अहिलेका नेपालका सबै पार्टीका पहिलो लहरका नेताले धन, साथी नग्नरूप, नसनाता नै जनता र चरित्र ठानेको देखिन्छ । अतः नेपाली मतदातामा चेतना विकास भएको रहेछ भने निश्चय नै यी कुरामा विचार पुर्‍याएको देखिने छ । दलको विकल्प गठबन्धनलाई बनाएर विश्वलाई चकित पारेका छन् यिनले । गठबन्धन आफ्नो जित र सत्तामा केन्द्रित रहन्छ । दलले सामाजिक रीति स्थिति, मूल्यमान्यताको जगेर्ना गर्दछ । दलले सामाजिक तथा सांस्कृतिक महिमालाई बढाउँछन् । मानवीय, सामाजिक, राष्ट्रिय र वैश्विक परिवेशको ख्याल राख्छ तर गठबन्धनको ध्यान यी कुरामा जाँदैन । युक्रेनका पक्षमा नेपालले मतदान गर्नु भारतजस्तो छिमेकी देश तटस्थ बसेका बेला चीनका पक्षमा नेपालले मतदान गर्नु, विआरआई चुपचाप अनुमोदन गर्नु र एमसिसीमा देशमात्रै होइन विश्व थर्काएका कुरा ज्वलन्त छँदैछ । अतः नेपाली जनताले सर्वथा नयाँ निर्णय गर्नैपर्ने अवस्था छ । यसो नगरे दलीय होइन, दलालीय चरित्रको विकास भएर पञ्चायतभन्दा तल्लो तहमा देश गिर्नेछ ।

गठबन्धनले एकैपटकमा देशका सबै राजनीतिक दलको विधि, पद्धति, संस्कार, विचार, दर्शन सबैको उन्मूलन गर्छ । एउटा दल बिग्रँदा अरू दलले देश थेग्लान् मुलुक बचाउलान् भन्ने आस गर्न सकिन्छ तर यस प्रकारका सत्तास्वार्थतल्लीन गठबन्धनले श्रीलंकाभन्दा तल्लो तहमा एकैपटकमा खसाल्छ । यसले व्यक्तिव्यक्तिलाई बरवादीका बाटामा हिँडाउँछ । अतः यो दुनियाँमा कहिल्यै नभएको संक्रामक रोगभन्दा भयावह हुन्छ । बहुदलीय व्यवस्थामा जनताले आफूलाई मन परेको व्यक्ति, दल छान्ने अधिकार पनि पार्टीले खोस्छ । यस दृष्टिले विचार गर्दा यो चीनियाँ कम्युनिष्ट पार्टीभन्दा पनि खराब कम्युनिष्ट व्यवस्था हो भन्न सकिन्छ ।

Subscribe
Notify of
guest
2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Shantikrishna Adhikaree
Shantikrishna Adhikaree
2022-11-03 8:13 am

एउटै लेखले सारालाई भ्याइदिनु भयो त दाजु

रिलेटेड न्युज

छुटाउनुभयो कि ?