एक हप्तामा गण्डकीका दुई मन्त्री बर्खास्त

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 3 mins

पोखरा । गण्डकी प्रदेशमा एक हप्तामा दुई मन्त्रीलाई बर्खास्त गरिएको छ । आफ्नै पार्टीका उम्मेदवारलाई असहयोग गरेको कारण देखाउँदै एक हप्तामा दुई मन्त्रीलाई बर्खास्त गरिएको हो । कात्तिक २२ गते पनि मुख्यमन्त्री पोखरेलले प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यलाई बर्खास्त गर्नुभएको थियो भने मंगलबार भौतिक, पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्कालाई बर्खास्त गर्नुभएको छ । खड्का र आचार्यले सम्हाल्दै आएको मन्त्रालय मुख्यमन्त्री पोखरेलले आफू मातहत नै राख्नुभएको छ ।

मुख्यमन्त्री पोखरेलले शीर्ष नेताहरूको सहमति लिएर आचार्यलाई बर्खास्त गरेको ठिक एक हप्तामा नै अर्का मन्त्री खड्कालाई पदच्युत गर्नुभएको हो । कांग्रेसबाट समानुपातिक सांसद बनेर मन्त्री बन्नुभएका खड्कालाई प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको परामर्शमा मुख्यमन्त्रीले हटाउनुभएको थियो । स्रोतका अनुसार मुख्यमन्त्री र कांग्रेस पार्टी तथा उम्मेदवारलाई असहयोग गरेपछि उहाँलाई हटाइएको हो । यसअघि बर्खास्तीमा पर्नुभएका हरिशरण आचार्यलाई प्रचण्डलाई असहयोग गरेको भन्दै हटाइएको थियो ।

कुमार खड्का कास्की २(ख) बाट टिकटका आकांक्षी हुनुहुन्थ्यो । तर, उहाँको सट्टामा कानुनमन्त्री विन्दुकुमार थापाले टिकट पाउनुभयो । त्यसयता चुनावी अभियानमा असहयोग गरेको बताइँदै आएको थियो । प्रदेशमा कांग्रेस नेतृत्वको सरकार बनाउन खड्काको भूमिका थियो । तर, अहिले चुनावको टिकट नपाएपछि उहाँ असन्तुष्ट हुनुहुन्थ्यो ।

गण्डकी प्रदेशमा अब मुख्यमन्त्रीसहित १० जना मन्त्रीहरू कायम छन् । अहिले अर्थमा रामजी बराल, युवा तथा खेलकुदमा राजीव गुरुङ, पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमा मणिभद्र शर्मा, शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिकमा मेखलाल श्रेष्ठ, स्वास्थ्य तथा जनसंख्यामा मधु अधिकारी गुरुङ, भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारणमा चन्द्रबहादुर बुढा, कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामा विन्दुकुमार थापा, वन, वातावरण तथा भूसंरक्षणमा दीपक थापा र आन्तरिक मामिलामा डोबाटे विश्वकर्मा मन्त्री हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?