काठमाडौं-७ : मानुषीलाई गठबन्धन र विरासतको आस, घिमिरेलाई बलियो संगठनको साथ

दलगतभन्दा स्वतन्त्र उम्मेदवार बढी

अनिल क्षेत्री
Read Time = 10 mins

काठमाडौं । मुलुकको संघीय राजधानी रहेको काठमाडौं जिल्लाका अधिकांश निर्वाचन क्षेत्रमा आसन्न निर्वाचनमा पुरानै उम्मेदवार दोहोरिएका भए पनि काठमाडौं प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर-७ मा भने धेरैजसो नयाँ उम्मेदवार चुनावी मैदानमा छन् । निर्वाचन क्षेत्र नम्बर ७ चर्चामा रहनुको अर्को कारण यहाँ दलीयभन्दा स्वतन्त्र उम्मेदवार बढी छन् । एमालेले टिकट नदिएपछि स्वतन्त्र उठ्नुभएका निवर्तमान सांसद रामवीर मानन्धरलगायत १६ जना स्वतन्त्र उम्मेदवार छन् भने १३ जना दलीय उम्मेदवार गरी २९ जना उम्मेदवार काठमाडौं ७ बाट चुनावी मैदानमा छन् । सत्ता गठबन्धनबाट मानुषी यमी भट्टराई चुनावी प्रतिस्पर्धामा रहँदा नेकपा एमालेबाट श्यामकुमार घिमिरे चुनावी मैदानमा उत्रिनुभएको छ । यस्तै, जनता समाजवादी पार्टी (जसपा)बाट राजेन्द्रकुमार श्रेष्ठ चुनावी मैदानमा रहनुभएको छ ।

उम्मेदवारहरू चुनावी प्रचारप्रचार अभियानअन्तर्गत घरदैलो, चुनावी सभामा प्रत्यक्ष खटेका छन् । उनीहरूलाई भेटघाट, बैठक र भेला गर्न भ्याइनभ्याई छ । यो क्षेत्रमा चार पक्षीय प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । ७ मा सत्तारूढ पाँच दलीय गठबन्धनकी उम्मेदवार भट्टराई, एमालेका घिमिरे, जसपाका श्रेष्ठ र स्वतन्त्र उम्मेदवार मानन्धरबीच मुख्य प्रतिस्पर्धा हुने विश्लेषण गरिएको छ । तर, यो क्षेत्रमा अन्य उम्मेदवार पनि उत्तिकै सशक्त देखिएका छन् ।

लगातार अघिल्लो दुई संसदीय चुनाव जित्नुभएका एमालेका पूर्वसांसद रामवीर मानन्धरको स्वतन्त्र उम्मेदवारीले आसन्न निर्वाचनको परिणाम कसको पक्षमा जान्छ भन्ने अनुमानसमेत गर्न नसकिने अवस्था छ । मानन्धरको उम्मेदवारीले एमालेका उम्मेदवार घिमिरे संकटमा पर्नुभएको छ । अर्कोतिर, जसपाका श्रेष्ठको उम्मेदवारीले गठबन्धनका उम्मेदवार भट्टराईलाई असहज देखिएको स्थानीय राजनीतिक विश्लेषकको जिकिर छ । मतदाता अन्योलमा देखिए पनि घरदैलोमा व्यस्त उम्मेदवार परिणाम आफ्नो पक्षमा आउनेमा ढुक्क देखिएका छन् ।

नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभाका उम्मेद्वार श्याम घिमिरेले एमालेको संगठित भोट, संगठन र यस क्षेत्रका जनताको मायाले आफ्नो जित सुनिश्चित रहेको दाबी गर्दै भन्नुभयो, ‘सर्वसाधारणको माया मलाई छ । मुलुकलाई माया गर्नेले एमालेलाई माया गर्नेछ । यही मायाले हामीलाई विजयी बनाउनेछ ।’

आफू क्षेत्र नम्बर ७ मा उपलब्ध उम्मेदवारमध्ये सबैभन्दा योग्य रहेको दाबी गर्दै सत्ता गठबन्धनको तर्फबाट साँझा उम्मेदवार मानुषी यमी भट्टराईले भन्नुभयो, ‘हामी भएका र उपलब्ध विकल्पहरूमध्ये योग्य छौँ । जहाँ चमक छ, जहाँ ज्ञान छ, जहाँ क्षमता छ, त्यो खालको उम्मेदवारको पंक्तिमा हामी हौँ । म, सविन तामाङ र वसन्त मानन्धर सबै युवा र योग्य उम्मेदवार भएका कारण प्रतिनिधिसभा र प्रदेशसभामा उपलब्धहरू मध्ये हामी नै योग्य हौँ त्यसैले जनताले हामीलाई जिताउनु हुनेछ ।’

गठबन्धनका उम्मेद्वार भट्टराईलाई टिकट दिन बुवा पूर्व-प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अथक मिहिनेत गर्नुभएको थियो । छोरीलाई चुनाव जिताउनका लागि आफ्नो क्षेत्र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सुम्पिएको आरोप पनि डा. बाबुराम माथि लाग्दै आएको छ । हुन त बाबुराम-हिसिलाको छोरी हुनुको अतिरिक्त मानुषीले आफ्नै बलबुतामा राजनीतिक पहिचान बनाउनुभएको छ ।

यही निर्वाचन क्षेत्रबाट २०६४ सालको संविधानसभा निर्वाचनमा मानुषीकी आमा हिसिला यमीले चुनाव जित्नुभएको थियो । तत्कालीन नेकपा माओवादीबाट उम्मेदवार बन्नुभएकी हिसिलाले १२ हजार २७६ मत पाउँदा दास्रोमा एमालेका राजेन्द्र श्रेष्ठले आठ हजार ८१५ र तेस्रोमा कांग्रेसकी प्रमिला सिंह डंगोलले सात हजार ७०७ मत प्राप्त गर्नुभएको थियो । २०७० सालको संविधानसभा निर्वाचनमा भने हिसिला एमालेका रामवीर मानन्धरसँग पराजित हुनुभएको थियो । मानुषीको चुनावी प्रचारमा गठबन्धनको पूरै शक्ति लागेको छ । उम्मेदवार मानुषीका बाबुआमा बाबुराम भट्टराई-हिसिला यमी, आफन्त र छरछिमेकी पनि निकै खटिनुभएको छ ।

गठबन्धनको एकताबद्ध अभियान, भट्टराई दम्पतीको दौडधुप र घरदैलोमा मतदाताको सकारात्मक प्रतिक्रिया पाएर मानुषी अन्य उम्मेदवारभन्दा अगाडि रहेको यस क्षेत्रका राजनीतिक जानकारहरूको भनाइ छ ।

झट्ट हेर्दा सत्तागठबन्धन र एमालेबीच प्रतिस्पर्धा देखिए पनि जसपाका उम्मेदवार राजेन्द्र श्रेष्ठले पाउने मत पनि उत्तिकै चासोका साथ हेरिएको छ । लामो सयमसम्म वामपन्थी आन्दोलनमा सक्रिय रहनुभएका श्रेष्ठ समाजवादी पार्टीमा लागे पनि ‘लोकल वामपन्थी’ भोट तान्ने कतिपयको बुझाइ छ । अहिलेसम्म क्षेत्र नम्बर ७ मा पर्ने १७ र १८ नम्बर वडामा आफू बलियो रहेको, नागार्जुन नगरपालिकाका तीन वटै वडामा आफ्नो पक्षमा माहोल बनेको र जित्ने आधार बनेको दाबी गर्दै उम्मेदवार श्रेष्ठले भन्नुभयो, ‘यसपटक मलाई जिताउन मेरो पर्सनालिटीले काम गर्छ । मेरो लागि गठबन्धन हुँदैमा असर गर्दैन, एमाले सांगठनिक रूपमा बलियो भए पनि यसपटक मैले मत पाउँछु ।’

दलप्रतिको वितृष्णाले यो क्षेत्रमा स्वतन्त्र उम्मेदवार पनि मजबुत देखिएका हुन् । स्वतन्त्र उम्मेदवारमध्ये पनि आकर्षण पोखरेलको अवस्था भने केही मजबुत देखिएको स्थानीय भनाइ छ । लामो समयदेखि पर्यटन क्षेत्रमा आबद्ध रहनुभएका इञ्जिनियर पोखरेल दललाई गाली गर्नुभन्दा चुनावमा उठेर मुलुकमा विकास गर्नु राम्रो भएको बताउनुहुन्छ । राज्यले चाहे पर्यटनमार्फत मुलुकलाई समृद्धिको बाटोमा डो¥याउन सक्ने बताउँदै पोखरेलले भन्नुभयो, ‘कृषिलाई आधुनिकीकरण गरेर व्यापार घाटा कम गर्न सकिन्छ । किसानलाई मल बिउ दिएर उत्पादन गरेको किन्ने जिम्मा राज्यले लिनुप¥यो । राज्य जिम्मेवार भए किसानका खेत बाँझो रहँदैन ।’

यस्तो छ स्थानीय तहको अंकगणित
काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ मा काठमाडौं महानगरपालिकाको वडा नम्बर १६, १७, १८ र २५, नागार्जुन नगरपालिकाको वडा नम्बर १, २ र ३ तथा तारकेश्वर नगरपालिकाको वडा नम्बर, ३, ४ र ५ पर्छ । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरको १६, १७ र २५ तथा नागार्जुन नगरपालिकाको १ र तारकेश्वर नगरपालिकाको ३ र ५ वडा कांग्रेसले जितेको छ । काठमाडौं महागरको १८, नागार्जुन नगरपालिकाको २ र ३, तारकेश्वरको ४ वडा एमालेले जितेको छ । स्थानीय तहको निर्वाचनमा कांग्रेसले १४ हजार १६७ मत पाएको छ । एमालेले १२ हजार २०२, नेकपा एकीकृत समाजवादीले तीन हजार ८०२, राप्रपाले तीन हजार २७ मत तथा माओवादी केन्द्रले ५७६ मत पाएको छ । यो क्षेत्रमा पुुरुष २९ हजार ६२७ र महिला ३१ हजार ६६४ सहित कुल ६१ हजार २९१ मतदाता छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?