हैदराबादको रोमाञ्चक जित

Read Time = 5 mins

मुम्बई । सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा मुम्बई इन्डियन्समाथि तीन रनको रोमाञ्चक जित हात पारेको छ । मंगरबार राती भएको खेलमा जितका लागि १९४ रनको विजयी लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९० रनमा समेटियो ।

१८औँ ओभरमा टिम डेविडले हैदराबादका बलर टि नटराजनलाई चार छक्का प्रहार गर्दै खेललाई रोमाञ्चक मोडमा पुर्‍याउनुभएको थियो । अन्तिम बलमा भने डेविड रन आउट भएपछि हैदराबाद खेलमा फर्कियो । अन्तिम १२ बलमा मुम्बईलाई १९ रन आवश्यक परेका बेला भुवनेश्वर कुमारले १९औँ ओभर मेडन राख्नुभएपछि हैदराबादले खेल जितेको हो ।

त्यसअघि मुम्बईलाई ओपनर रोहित शर्मा र इशान किशनले पहिलो विकेटका लागि १०.४ ओभरमा ९५ रनको साझेदारी गर्दै सानदार सुरुवात दिलाउनुभएको थियो । रोहित ३६ बलमा २ चौका र ४ छक्कासहित ४८ रनमा आउट हुनुभयो । किशनले ३४ बलमा ५ चौका र १ छक्कासहित ४३ रन जोड्नुभयो । यस्तै टिम डेविडले १८ बलमा ३ चौका र ४ छक्कासहित ४६ रन थप्नुभएको थियो ।

हैदराबादका उमरान मलिकले ३ ओभरमा २३ रन खर्चेर ३ तथा भुवनेश्वर कुमार र वासिन्टन सुन्दरले १-१ विकेट लिनुभयो । त्यसअघि वानखडे स्टेडियम मुम्बईमा टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९३ रन बनायो । हैदराबादका राहुल त्रिपाठीले ४४ बलमा ९ चौका र ३ छक्कासहित सर्वाधिक ७६ रन बनाउनुभएको थियो । निकोलस पुरनले २२ बलमा २ चौका र ३ छक्कासहित ३८ रन थप्नुभयो ।

तेस्रो विकेटका लागि पुरन र त्रिपाठीले ४२ बलमा ७६ रनको साझेदारी भएपछि हैदराबादको स्कोर अघि बढेको हो । त्यसअघि दोस्रो विकेटका लागि प्रियम गर्ग र राहुल त्रिपाठीले ४३ बलमा ७८ रनको साझेदारी गर्दै राम्रो सुरुवात गर्नुभएको थियो ।

गर्गले २६ बलमा ४ चौका र २ छक्कासहित ४२ रन जोड्नुभयो । त्यसबाहेक एडेन माक्ररम २, केन विलियम्सन ८ र वासिन्टन सुन्दरले ९ रन बनाउनुभयो ।

मुम्बईका रमनदीप सिंहले ३ ओभरमा २० रन खर्चेर ३ विकेट लिनुभयो । त्यसबाहेक ड्यानियल साम्स, राइली मेरिडिथ र जस्प्रित बुमराहले १–१ विकेट बाँड्नुभएको थियो । अब मुम्बईले अन्तिम खेल २१ मेमा दिल्ली क्यापिटल्ससँग खेल्नेछ ।

अंकतालिकामा गुजरात १३ खेलमा १० मा जित र तीनमा हारका साथ २० अंक जोड्दै शीर्षस्थानमा छ । राजस्थान रोयल्स १३ खेलमा आठमा जित र पाँचमा हारसहित १६ अंकका साथ दोस्रो स्थानमा छ । लखनऊ १३ खेलमा आठमा जित र पाँचमा हारसहित १६ अंकका साथ तेस्रो स्थानमा छ । दिल्ली १३ खेलमा सातमा जित र ६ मा हारसहित १४ अंक जोड्दै चौथो स्थानमा उक्लिएको छ ।

बैंग्लोर १३ खेलमा सातमा जित र ६ मा हारसहित १४ अंकका साथ पाँचौँ स्थानमा छ । कोलकाता नाइट राइडर्स १३ खेलमा ६ मा जित र सात खेलमा हारसहित छैटौँ स्थानमा छ ।

पन्जाब १३ खेलमा सातमा जित र ६ मा हार बेहोर्दै १२ अंक जोड्दै सातौँ स्थानमा छ । हैदराबाद १३ खेलमा ६ मा जित र सातमा हारसहित आठौँ स्थानमा छ । चेन्नाई १३ खेलमा चारमा जित र नौमा हारसहित नवौँ स्थानमा छ । मुम्बई १३ खेलमा तीनमा जित र १० मा हारसहित पुछारमा छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?